कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पास नहुँदा फार्मेसी खोल्न सकेनौं : व्यवसायी

बाटोमा नरोक्‍ने खालको पास बनाएर दिन्छौं : मन्त्रालय 
फातिमा बानु

काठमाडौँ — घर र फार्मेसी एकै ठाउँमा नभएका फर्मासिस्ट तथा औषधि व्यवसायीले लकडाउनका कारण औषधि बेच्‍न नपाएको गुनासो गरेका छन् । घरबाट फार्मेसी भएको स्थानसम्म जाँदा बाटोमा प्रहरीले जिल्ला प्रशासनको पास मागेपछि फर्किन बाध्य भएको उनीहरूले बताएका हुन् ।

पास नहुँदा फार्मेसी खोल्न सकेनौं : व्यवसायी

फार्मेसी सञ्चालन गर्न दिइएको अनुमतिपत्र (लाइसेन्स) लाई नै पास मानेर फार्मेसी खोल्न जान दिनुपर्ने औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले बताए । ‘औषधिजस्तो संवेदनशील वस्तुको सेवा दिन कडाइ गरिएको छ,’ उनले भने, ‘कतिको बाइक सिल गरिदिएका छन्, हामीलाई यथाशिघ्र पास उपलब्ध गराइदिनुपर्‍यो, कि लाइसेन्स देखाएर हिँड्न पाउनुपर्‍यो ।’


संघले सबै व्यवसायीलाई औषधि पसल खुला राख्‍न अनुरोध गरे पनि लकडाउन कडाइका कारण अधिकांश व्यवसायी घरमै बस्‍न बाध्य भएको उनले बताए । धेरै फार्मेसी भएका चोकमा एउटा मात्रै फार्मेसी भए पनि खुला राखेर सर्वसाधारणलाई औषधि सेवा सहज गराइएको उनले जानकारी दिए ।


नियमितझैं फार्मेसी खोल्न नसक्नेलाई अनुकूल समय मिलाएर बिहान–बेलुका खोल्न अनुरोध गरिएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । ‘पासका कारण फार्मेसीसम्म जान नसकेका व्यवसायीका लागि मन्त्रालयसँग समन्वय गरेर पासको व्यवस्था गर्ने तयारीमा छौं,’ उनले भने, ‘अस्पतालनजिकका फार्मेसी खुले पनि सबै फार्मेसी खोल्न अप्ठेरो भइरहेको छ ।’


भारतमा भएको लकडाउनका कारण औषधि आयात बन्द भएकाले आईसीयू र क्रिटिकल कियरमा प्रयोग हुने हेमारिन र पारासिटामोल इन्जेक्सनको अभाव हुँदै गएको उनले बताए ।


लकडाउन लम्बिँदै गयो भने औषधि अभाव बढ्ने उनको भनाइ छ । ‘अस्पतालहरू बन्द छन्, औषधिको माग कम छ,’ उनले भने, ‘त्यसैले औषधि सकिइहाल्ने स्थिति छैन ।’ लकडाउनका कारण औषधि ढुवानी गर्ने जनशक्ति अभाव भएकाले आयातकर्तालाई नाकाबाट औषधि ल्याउन भने मुस्किल हुनसक्ने उनले बताए । ‘औषधि लोड र अनलोड गर्नुपर्‍यो, सबै ठाउँमा वितरण गर्नुपर्‍यो, मान्छे काम छाडेर बसेपछि औषधि त रोकिने भयो नि ।’


लकडाउनका कारण औषधि पाउन मुस्किल भए हटलाइनमा फोन गरेर औषधिको सुविधा सहज बनाउन पहल भइरहेको नेपाल फार्मेसी संघका अध्यक्ष शशिकान्त चौधरीले बताए । सातै प्रदेश र स्थानीय तहका सरकारसँग सहकार्य गरी औषधि सहजकर्ता सम्पर्क व्यक्ति खटाइने उनले बताए । ‘औषधि पसल त जसोतसो खोलेका छन् व्यवसायीले,’ उनले भने, ‘धेरै माग भएका मास्क, सेनिटाइजर र पञ्जाचाहिँ हामीले बेच्न पाएका छैनौं ।’


जोखिम छ भन्दैमा फार्मेसी बन्द गरेर बस्न नपाइने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले बताए । औषधि व्यवसायीलाई बाटोमा नरोक्ने खालको पास बनाएर दिन तयार रहेको उनको भनाइ छ ।


सुरक्षित छैनन् फर्मासिस्ट

आजभोलि फार्मेसीमा औषधि खरिद गर्न आउने अधिकांश ग्राहक रुघाखोकी र ज्वरोको समस्या लिएर आउने भएकाले आफूहरू सुरक्षित नभएको फर्मासिस्ट चौधरी बताउँछन् । मास्क, पञ्जा र पीपीईजस्ता सुरक्षित सामग्री नहुँदा उनीहरूले फार्मेसी खोल्न हिच्किचाएको उनले बताए ।


‘औषधिको परामर्श गर्दा बिरामीसँग प्रत्यक्ष बसेर कुराकानी गर्नुपर्छ,’ उनले भने, ‘फार्मेसीमा पनि कोभिडका बिरामी आउने जोखिम छ, कतै पीपीई किन्न पाइएको छैन ।’ फर्मासिस्टलाई संक्रमण सर्ने र अरुलाई सार्ने उत्तिकै जोखिम भएकाले सरकारले किटाणु नछिर्ने खालको पातलो पीपीई भए पनि उपलब्ध गराउनुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र १६, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?