१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

समुदायलाई सचेत गर्न भन्दै दुई नेपालीले सार्वजनिक गरे संक्रमण

न्युयोर्क — कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट संक्रमित दुई नेपालीले ‘समुदायको हित’ लाई मध्यनजर भन्दै आफनो स्थिति सार्वजनिक गरेका छन् ।

क्वीन्सको ज्याक्सन हाइट क्षेत्रका व्यबसायीद्वय जीबन बम र शम्भु मोक्तानले संक्रमित भएर स्थिति सार्वजनिक गर्दा समुदाय सचेत हुने बताए ।


दुवैको अहिले न्युयोर्कस्थित दुई भिन्दाभिन्दै हस्पिटलमा उपचार भईरहेको छ । केही बर्षदेखि रेस्टुरेन्ट ब्यवसायमा सक्रिय बम १२ दिनदेखि ज्वरो आएपछि लङ्ग आईल्याण्डस्थित माउन्ट साईनाई हस्पिटलमा भर्ना भएका थिए । पटक–पटकको परीक्षणपछि उनी संक्रमित भएको पुष्टि भएको थियो । बमले शनिबार कान्तिपुरसँग छोटो फोन संवाद गर्दै भने, ‘अहिले ज्वरो घटेको छ । पूर्णरुपमा स्वस्थ्य हुन केही समय लाग्ला ।’


त्यसैगरि भिडियोग्राफी व्यबसाय गरिरहेका शम्भु मोक्तानले शनिबार नै आफू कोराना भाइरसबाट संक्रमित भएको जानकारी फेसबुक मार्फत् दिएका थिए ।मोक्तानले हस्पिटलको बेडमा पल्टिरहेको तस्वीर पोष्ट गर्दै आफ्नो लागि प्रार्थना गरिदिन पनि आह्वान गरेका छन् । उनले सबैलाई घरमै रहन आग्रह गर्दै अन्य मानिससँग निश्चित दूरि राख्नसमेत फेसबुकमा अपिल गरेका छन् । उनी विगत ६ दिनदेखि लङ्ग आईल्याण्डको जुईच हस्पिटलमा आईसीयुमा उपचाररत छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको परिवारले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?