कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीमा अलपत्र परेकामध्ये अधिकांश पुगे नेपाल

२५ जना अझै अलपत्र
सुरेशराज न्यौपाने

नयाँदिल्ली — केही दिनदेखि दिल्लीमा अलपत्र परेका नेपालीहरुलाई नेपाली दूतावास र प्रवासी नेपाली संगठनको समन्वयमा नेपालतर्फ पठाइएको छ । 

दिल्लीमा अलपत्र परेकामध्ये अधिकांश पुगे नेपाल

भारतमा कोरोना भाइरसको बढ्दो त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका थिए । घर फर्कनका लागि उनीहरु भारतका शिमला, बैंग्लोर, पन्जाबबाट दिल्ली आइपुगेका थिए । तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुवाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि उनीहरु दिल्लीस्थित आनन्दबिहार बसपार्क र छतरपुरमा अलपत्र परेका हुन् । तीमध्ये २१४ जनालाई तीनवटा बस र ट्याक्सीमा नेपाल पठाइएको हो ।

भारतको दिल्लीलगायतका विभिन्न ठाउँमा ‘लकडाउन’ गरिएका कारण उनीहरुलाई नेपाल पठाउन दूतावासले भारतको विदेश मन्त्रालयसँग समन्वय गरेको थियो । उनीहरु मंगलबार बिहान गौरीफन्टा (धनगढी) पुगेको समेत बताइएको छ ।

दिल्लीमा अलपत्र नेपाली भन्छन्, ‘जहाँ गए पनि पुलिसले लखेट्छ, हामी कहाँ जाने ?’

दिल्लीमा अलपत्र परेकामध्ये केही दिल्लीमा रहेका आफन्त र साथीभाइ्कहाँ बसे भने बैंग्लोरबाट आएको २५ जनाको टोली भने अझै अलपत्र अवस्था रहेको छ । दक्षिण भारतको बैंग्लोरबाट आएका उनीहरु हाल दिल्लीको छतरपुरमा एक जना उत्तरप्रदेशका भारतीयको कोठामा बसेका छन् ।

‘एक जना साथीको डेरामा बसेका छौं, ऊ पनि घर जाने भनेको छ त्यसपछि त विजोग हुन्छ जस्तो छ,’ तीमध्येका एक प्रकाश टमाटाले भने । अरुलाई घर पठाएजस्तै आफूहरुलाई पनि दूतावासले उद्धार गरिदिने आशमा बसेको उनले बताए । ‘अरुलाई त दूतावासले घर पठायो हामीलाई पनि पठाएको हुन्थ्यो नत्र हामीहरु कहाँ जाने थाहा छैन,’ टमाटाले भने ।

प्रकाशित : चैत्र ११, २०७६ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?