१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिल्लीमा अलपत्र नेपाली भन्छन्, ‘जहाँ गएपनि पुलिसले लखेट्छ, हामी कहाँ जाने ?’

नेपाल जान हिँडेका चार सय दिल्लीमै अलपत्र
सुरेशराज न्यौपाने

नयाँदिल्ली — कोरोना भाइरसको त्रासका कारण नेपाल हिँडेका चार सयभन्दा बढी नेपालीहरु भारतको राजधानी नयाँदिल्लीमा अलपत्र परेका छन् । उनीहरु भारतका बैंग्लोर, चण्डीगढ, सिमलालगायतका ठाउँमा काम गर्दै आएका थिए । 

दिल्लीमा अलपत्र नेपाली भन्छन्, ‘जहाँ गएपनि पुलिसले लखेट्छ, हामी कहाँ जाने ?’

कोरोनाको त्रास बढेपछि घर फर्कनका लागि दिल्ली आइपुगेका हुन् । तर, भारतको केन्द्र सरकारले आइतबारदेखि यात्रुबाहक रेल र लामो दूरीमा चल्ने बस सेवा बन्द गरेपछि अहिले आइतबारदेखि उनीहरु दिल्लीकोस्थित आनन्द बिहार बसपार्कमा अलपत्र परेका हुन् ।

‘दिल्ली आएपछि मात्र बस बन्द छ भन्ने थाहा भयो, पुरै अलपत्र पर्‍यौ’ दार्चुला, दल्लेखका सन्तोष चुनाराले कान्तिपुरसँग भने । उनी बैंगलोरमा होटलमा काम गर्थे । कोरोनाको त्रासले काम गर्ने होटल बन्द भएपछि घर जान हिँडेको उनले बताए । ‘सबै काम ठप्प भयो, कोरोनाको डर पनि थियो, अनि घर जान आएको,’ चुनाराले भने ।

चुनारासहित चार सयभन्दा बढी नेपाली अहिले आनन्द बिहारमा बसपार्क क्षेत्रमा अलपत्र परेका हुन् । स्थानीय प्रहरीले एक ठाउँमा बस्न नदिएका कारण अहिले उनीहरुको अवस्था निकै टिठलाग्दो छ । बसपार्कभित्र छिर्न नपाएपछि आफूहरु त्यतिकै सडक छेउमा बसिरहेको चुनाराले कान्तिपुरसँग भने । ‘जता गए पनि प्रहरीले लखेट्छ, कहाँ जाने के गर्ने भएको छ ?’ उनले भने ।

त्यसैगरी थप पच्चीसजना दिल्लीकै छतरपुरमा अलपत्र परेका छन् । उनीहरु दक्षिण भारतीय सहर बैंग्लोरबाट नेपाल जानका लागि दिल्ली आइपुगेका हुन् । सार्वजनिक यातायात नचलेका कारण उनीहरु अलपत्र अवस्थामा छन् । उनीहरु न त साबिककै ठाउँमा फर्किन सक्छन् न त घर नै जान सक्छन् । त्यसमाथि दिल्ली सरकारले सोमबारदेखि लकडाउन गर्दै धारा १४४ लागू गरेपछि उनीहरुलाई खाना र बस्नको समेत समस्या परेको छ ।

अलपत्र परेका नेपालीहरुले सुरक्षित रुपमा घर पठाउन सरकारसमक्ष माग गरेका छन् । ‘अब यसरी सडकमा कति दिन बस्न सकिएला ? त्यसमाथि प्रहरीले सडकमै बस्न दिएको छैन । त्यसैले सरकारले चाँडो केही कदम चालोस्,’ चुनारले भने ।


दिल्ली प्रवासी नेपाली संगठनहरुले अलपत्र परेका नेपालीहरुको उद्धारका लागि पहल भइरहेको बताएका छन् । अखिल भारत नेपाल एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले उनीहरुलाई दिल्लीमै राख्ने वा नेपाल फर्काउने भन्ने बारे दिल्लीस्थित नेपाली दूतावाससँग छलफल भइरहेको बताए । ‘भारतका विभिन्न ठाउँबाट आएकाहरु छन् । अब दूतावाससँगको समन्वयमा उचित प्रबन्ध गर्ने प्रयास झइरहेको छ’ खड्काले भने ।

दिल्लीस्थित नेपाली दूतावासले पनि अलपत्र परेका नेपालीहरुका लागि तत्कालका लागि व्यवस्थापन गर्न पहल भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख भरतकुमार रेग्मीले नेपालको सीमा बन्द भएको र भारतकै पनि कतिपय जिल्लाहरु बन्द गरिएकाले अलपत्र परेका नेपालीहरुलाई दिल्लीमै राख्नका लागि प्रयास भइरहेको बताए । ‘सीमासँगै भारतकै कतिपय जिल्लाहरु पनि बन्द छन् त्यही भएर केही दिनका लागि दिल्लीमै राख्ने अस्थायी प्रबन्धका लागि छलफल र गृहकार्यमा छुटेका छौं,’ रेग्मीले कान्तिपुरलाई जानकारी दिए ।



‘नाका बन्द भएको कुरा बीच बाटोमा थाहा भयो’

हामीहरु सबैजना बैंग्लोरमा काम गर्थ्यौं । कोही सुपरमार्केटमा, कोही होटल र रेष्टुराँमा काम गर्थेम् । कोरोनाको त्रासले सबै बन्द भएपछि साहुले एक दुई महिना घर बसेर आउ भनेपछि हिडेका हौं । काम गर्ने ठाउँ बन्द भएपछि त्यहाँ बसेर खान पनि मुस्किल थियो । त्यही भएर बाध्य भएर हिँड्यौं ।

कोरोना लाग्ने हो कि भन्ने डर पनि थियो । अनि ठूला पन्ध्रजना र साना नानानानी दश जना गरेर जम्मा २५ जना गएको बिहिबार साँझ सात बजे दक्षिण भारतको बैंग्लोरबाट हिँडेका हौं । बैंग्लोरबाट हिँडिसकेपछि बीच बाटोमा मात्र नाका र सबैतिर बन्द भयो थाहा पायौं ।


आइतबार बिहान साढे दश बजे हामीहरुलाई रेलले दिल्लीमा उतार्‍यो । यहाँबाट बस चढेर पिथौरागढ हुँदै आफ्नो घर (दार्चुला) जाने योजना थियो । तर, अहिले यहाँबाट कुनै पनि बस चलेको छैन । बाहिर निस्कन पनि पाइँदैन । खानाको पनि समस्या छ ।

एकजना भारतीय साथीको दिल्लीकै छतरपुरस्थित डेरामा शरण लिएका छौं । ऊ पनि भोलि आफ्नो घर जाने भनेको छ । त्यसपछि हामीहरु सडकमा आउँछौं । अरुभन्दा पनि साना नानीहरुको चिन्ता लागेको छ । उनीहरु बिरामी परे भने अस्पताल जान पनि नपाउने अवस्था छ । त्यो सम्झँदा पनि चिन्ता बढेर आउँछ । त्यही भएर हामीहरुलाई जसरी पनि घर पुग्नु छ । हामीहरु अलपत्र परेको कुरा दूतावासलाई पनि जानकारी गराएका छौं । हामीहरुलाई जसरी भए पनि नेपाल फर्काउन दूतावास र नेपाल सरकारलाई आग्रह गर्छौं ।

(दार्चुला, नवगाढ गाउँपालिकाका प्रकाश टमाटाले कान्तिपुरसँग फोनमा गरेको कुराकानी)

प्रकाशित : चैत्र १०, २०७६ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?