कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युयोर्कमा दुई नेपाली संक्रमित

कान्तिपुर संवाददाता

न्युयोर्क — अमेरिकामा सबैभन्दा बढ्ता प्रभावित क्षेत्र मानिएको न्युयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक संक्रमित भएका हुन् ।

ज्याक्सन हाइटमा केही वर्षदेखि बस्दै आएका दुई सन्तानका पिता एक साताअघि नियमित ज्वरो आउनुका साथै खोकी लागेपछि क्विन्सको एल्महस्ट अस्पताल भर्ना भएका थिए । शंकापछि उनको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसको पाँच दिनपछि उनी संक्रमित भएको रिपोर्ट आएको हो ।


परिवारका सदस्यले जनाएअनुसार उनलाई दुई दिनदेखि भेन्टिलेटरमा राखिएको छ । कसैलाई प्रत्यक्ष भेट गर्न नदिए पनि अस्पतालले परिवारलाई भने बिरामीको स्थितिबारे नियमित जानकारी दिइरहेको छ । चार सदस्यीय उनको परिवारका सबैको स्वास्थ्य परीक्षण गरिएको छ । उक्त रिपोर्ट भने आइसकेको छैन । परिवारका सबै सदस्य अहिले घरमै छन् । संक्रमित युवक पहिलेदेखि नै मधुमेह पीडित थिए ।


त्यसैगरी अर्का ट्याक्सी चालक पनि उक्त अस्पतालमा उपचाररत छन् । दुई साताअघि ट्याक्सी चलाउन छाडेका उनी एक्कासि ज्वरो आएपछि आफूले नियमित जँचाउने चिकित्सककहाँ पुगेका थिए । फलोअपपछि एन्टिबायोटिक सेवनले झनै थलिएका उनी एल्महस्ट अस्पतालको आकस्मिक कक्षमा गएका थिए । परीक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको परिवारले जनाएको छ ।


तीन साताअघि पहिलोपटक कोरोना भाइरसबाट पीडित देखिएको न्युयोर्क राज्य आइतबारको आँकडासँगै

अमेरिकाको सबैभन्दा बढी संक्रमित क्षेत्र बनेको छ । संक्रमितको संख्या १५ हजार नाघेको छ । १ सय १४ जनाको मृत्यु भइसकेको छ । न्युयोर्क राज्यको यो आँकडामध्ये करिब ११ हजार जना न्युयोर्क सहरमा मात्रै संक्रमित छन् । आइतबार जारी गरिएको तथ्यांकअनुसार अहिलेसम्म न्युयोर्क सहरका ४ सय ५० आईसीयू कक्षमा १ हजार ८ सय जना संक्रमितको उपचार भइसकेको छ ।


न्युयोर्क सहरका मेयर बिल दे ब्लासिओले आगामी १० दिनभित्र उपचारका लागि अत्यावश्यक सामान कमी हुन सक्ने चेतावनी दिँदै उचित पहल नभएको भन्दै संघीय सरकारको आलोचना गरेका छन् ।
प्रकाशित : चैत्र ११, २०७६ १३:०३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किन विवादमा पर्‍यो सिल्कको उडान ?

‘पाइलटले इन्धन वा प्राविधिक समस्या देखाएपछि दुस्मनकै जहाज भए पनि अवतरणमा प्राथमिकता दिनै पर्छ, जहाजमा सबै नेपाली रहेछन्, अवतरण भएको विमान फर्काउन किन दिन्थे’
सुरज कुँवर

काठमाडौँ — सिंगापुरबाट उडेको जहाज काठमाडौं आइपुग्न झन्डै ५ घण्टा लाग्छ । यो रुटमा हरेक दिन उडान गर्दै आएको सिल्क एयरको १ सय ६२ यात्रु क्षमताको बोइङ शनिबार ९८ जना बोकेर साँझपख काठमाडौंतर्फ आउँदै थियो । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न डेढ घण्टा बाँकी थियो ।

जहाजमा कोरोना संक्रमण फैलिएका युरोपेली देशका एक यात्रु पनि रहेको खबर विमानस्थलमा फैलियो । त्यस्ता देशका नागरिकलाई नेपाल प्रवेशका लागि सरकारले रोक लगाइसकेको छ ।

हरेक एयरलाइन्सका विमानस्थलमा रहेका कार्यालयले यात्रु तथा उक्त जहाजमा रहेको कार्गोबारेको विस्तृत जानकारी विवरण (मेनिफेस्ट) जहाज अवतरण हुनुअघि नै अध्यागमन कार्यालयमा बुझाउनुपर्छ । त्यसै मेनिफेस्टमा देखिइन्, नेदरल्यान्ड्सकी एक महिला यात्रु । सरकारले युरोपका सबै मुलुकका नागरिकलाई नेपालमा प्रतिबन्ध लगाइसकेको अवस्थामा उनलाई प्रवेश गराउनु कानुनविपरीत थियो । त्यसपछि अध्यागमन कार्यालयका अधिकारीहरूले विमानस्थल कार्यालयलाई यो खबर पठाउँदै उक्त जहाजलाई फर्काउन भन्यो । अध्यागमनको खबरलाई विमानस्थलमा रहेको टावरले जहाजलाई भन्नुपर्ने भयो । तर, बंगलादेश र भारतको सिमानामाथि उडिरहेको जहाज नेपालको टावरको सम्पर्कमा आइसकेको थिएन । त्यसबेला कोलकाता विमानस्थलको सम्पर्कमा थियो ।

काठमाडौं विमानस्थलबाट एटीसीले हटलाइनबाट फोन गरेर कोलकाता टावरलाई जहाज फिर्ता हुन सन्देश टिपाए । तर, जहाज केहीबेरमा काठमाडौं टावरको सम्पर्कमा आइपुग्यो । कोलकाता टावरले ती पाइलटलाई खबर पनि गरे । तर, कोलकातामा आर्थिक भार बढ्नेलगायत कारण पाइलटले त्यहाँ अवतरण हुन चाहेनन् । उनी भारतीय एटीसीलाई हुन्छ वा हुँदैन नभनेरै नेपाली एटीसीको सम्पर्कमा आइहाले । यो घटनामा जोडिएका विमानस्थलका एक अधिकारीका अनुसार उक्त विमानलाई नेपाली एटीसीले पनि फिर्ता जान भनेका थिए तर उनले पर्याप्त इन्धन नभएको कारण देखाउँदै काठमाडौंमा इन्धन भरेर भारतको कोलकाता फर्किने बताए । पाइलटले यसो भनिसकेपछि फर्काउन सकिने अवस्था भएन ।

अवतरण नगर्न निर्देशन दिँदादिँदै सिल्क एयरले जबर्जस्ती गर्‍यो : एटीसी

‘पाइलटले इन्धन वा प्राविधिक समस्या देखाएपछि दुस्मनकै जहाज भए पनि अवतरणमा प्राथमिकता दिनैपर्छ,’ एक एयर ट्राफिक कन्ट्रोलरले कान्तिपुरसँग भने, ‘ती पाइलटले इन्धन भरेर फर्किहाल्ने भनेका थिए । तर, जहाजमा सबै नेपाली रहेछन् । अवतरण भएको विमान फर्काउन किन दिन्थे ।’

पछि छानबिन गर्दा ती नेदरल्यान्ड्सकी महिलाले नेपालीसँग विवाह गरेकी रहिछन् । उनीबाहेक अरू सबै विभिन्न मुलुकबाट घर फर्किरहेका नेपाली यात्रु थिए । जहाज कोलकाता जान तयार पनि भएको थियो । तर, यात्रुहरूले जहाजभित्रै नाराबाजी गरेर कोलकाता जान दिएनन् । यात्रुहरूको जहाजभित्र नाराबाजी भएपछि पाइलटहरूले एयर ट्राफिक कन्ट्रोलरलाई आफूहरू ती यात्रु लिएर कोलकाता फर्किन नसक्ने बाध्यता बताए । यात्रुहरूले होहल्ला गर्दै तीन घण्टा विमानस्थलको पार्किङमा जहाजभित्रै समय बिताए । सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै बसे । यो अवधिमा जहाजमा भर्‍याङ जोडिएको थिएन । अन्तमा विमानस्थलमा रहेका अध्यागमन, प्रहरी र नागरिक उड्डयनका प्रमुखहरूले उपप्रधानमन्त्री ईश्वर पोखरेलको आदेशमा सबै यात्रुलाई राति पौने १२ बजे जहाजबाट ओर्लन अनुमति दिए ।

सरकारले निषेध गरेको जापानबाट आएका एक नेपाली दम्पती र नेदरल्यान्ड्स जन्मथलो भएकी महिलालाई क्वारेन्टाइन पठाएर बाँकी नेपालीलाई निकालियो । साढे ८ बजे काठमाडौंमा अवतरण भएको उक्त जहाज राति नै १ सय ५८ यात्रु लिएर सिंगापुर जानुपर्ने थियो । तर, चालक दलको १० घण्टाको समयसीमाका कारण जहाज राति काठमाडौंमै रहन गयो ।

जसका कारण बोर्डिङ पास लिइसकेका सबै यात्रुलाई र्‍याडिसनलगायत होटलमा एयरलाइन्सले आफ्नो खर्चमा राख्यो । विमानस्थलमा दिउँसै पुगेका ती यात्रु आइतबार करिब २३ घण्टापछि पौने ४ बजेमात्रै सिंगापुर फर्किए ।

प्रकाशित : चैत्र ११, २०७६ १३:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×