पाल्पा — सरकारले कोभिड–१९ (कोरोना भाइरस)को जोखिम रोकथामका लागि देशभर सजगता अपनाउन गरेको लकडाउनसँगै पाल्पाको तानसेन लगायत ग्रामीण बजारहरु सुनसान बनेका छन् ।
आज बिहानैदेखि तानसेन, रामपुर लगायत ग्रामीण बजारका सम्पूर्ण पसल, व्यवसाय बन्द भएसँगै सडकमा हिँड्ने पैदलयात्रु पनि निस्किएका छैनन् । सवारी साधन चलाउन पूर्ण रुपले निषेध गरिएको छ । फाट्टफुट्ट निस्किएकाहरुलाई चोकचोकमा प्रहरी बसेर सम्झाई बुझाई पठाउने गरेको प्रहरी उपरीक्षक दीपेन्द्र जीसीले बताए ।
सिद्धार्थ राजमार्ग, बजार क्षेत्रका साथै विभिन्न ग्रामीण भेगमा रहेका प्रहरी चौकीले माइकिङ गर्ने, घरभित्र बस्न सम्झाउने गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए ।
