१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

प्रदेश २ मा चुनावमा जस्तै सीमा सिल

कोरोना संक्रमण रोक्‍न भारतीय सुरक्षा अधिकारीको समन्वयमा प्रदेश २ मा 'लकडाउन'को स्थिती
अजित तिवारी

जनकपुर — खुला सीमाका कारण नेपाललाई पनि कोरोनाको प्रभाव पर्न सक्ने भन्दै प्रदेश २ का सुरक्षा अधिकारीहरुले सीमामा ‘लकडाउन’ जतिकै सर्तकता अपनाएको छ । निर्वाचनका बेला गरिने सीमा सिलकै अवस्थामा सुरक्षाकर्मीको तैनाथी गरिएको छ ।

प्रदेश २ मा चुनावमा जस्तै सीमा सिल

प्रदेश २ का ८ वटै जिल्ला भारतीय सीमासँग टाँसिएको छ । भारतीय सीमा क्षेत्रसँग प्रदेश २ को ४ सय ६४ किलोमिटर सीमा जोडिएको छ । प्रदेश २ का ८ वटै जिल्लाबाट भारतका विभिन्न प्रान्त र खाडी मुलुकमा काम गर्नेको संख्या ठूलो छ ।

सुरक्षा अधिकारीहरुको अनुमान अनुसार समान्य अवस्थामा प्रदेश २ को एउटा सीमा क्षेत्रबाट दैनिक २ हजार व्यक्ति नेपाल–भारत ओहरदोहर गर्छन् । अहिले निश्चित नाकाबाट मात्र स्वास्थ्य जाँच गरेर ओहरदोहर गर्न दिइएको छ । तर,आइतबार भारतमा जनता कर्फ्यू रहेकाले खुल्ला गरिएको नाका पनि सुनसान छ ।


भारतीय सुरक्षा अधिकारी (काउन्टर पार्ट)सँग समन्वय गरेपछि प्रदेश २ का ८ वटै जिल्लाका सुरक्षा समितिले सीमा क्षेत्रमा ‘आउजाउ’ ठप्प पार्ने निर्णय गरेको छ । दुवै देशका सुरक्षाकर्मीले शनिबार नै अपरान्हदेखि अति आवश्यक काम बाहेक सीमाबाट ओहरदोहर गर्न रोक लगाएको छ ।


‘चुनावको बेला गरिने बोर्डर सिलकै जस्तो रणनीति अपनाइएको छ,’ प्रदेश २ का सशस्त्र प्रहरीका डिआईजी राजु अर्यालले भने,‘आउजाउलाई ठप्प पारिएको छ ।’ डीआईजी अर्यालले लगभग ‘लक डाउन’कै स्थिती रहेको बताए ।


प्रदेश २ मा ३९ वटा भन्सार नाका छन् । कोरोनाको जोखिमसँगै सीमा क्षेत्रका ७५ ठाउँमा हेल्प डेस्क र प्रहरीको चेक प्वाइन्ट थपिएको छ । ‘सीमा क्षेत्रबाट कोरोनाका संक्रमित र आशंकित व्यक्ति भेटिएका छैनन्,’ प्रदेश २ का नेपाल प्रहरीका डीआईजी प्रधुम्न कार्कीले भने,‘प्रहरीको पोष्ट रहेका सबै सीमा क्षेत्रमा आउजाउ रोकिएको छ ।’


प्रदेश २ का सुरक्षाअधिकारीहरुले आफ्ना काउन्टर पार्टसंग समन्वय गरेर शनिबारदेखि सीमामा हुने गतिविधिलाई न्यून गरेको छ । डीआईजी कार्कीले सबै सीमा नाकामा कडाइ गरिएको र संयुक्त हेल्प डेस्क समेत राखिएको छ बताए ।


सुरक्षाकर्मीको कमान्डमा रहेको हेल्प डेस्कमा स्वास्थ्यकर्मी पनि खटिएका छन् । अति आवश्यक कामले आउजाउ गर्नेको तापक्रम बढी देखिए तुरुन्तै अस्पतालमा लैजान डेस्क नजिकै एम्बुलेन्स राखिएको छ ।


‘तापक्रम बढी देखिनेलाई तुरुन्तै अस्पतालमा लगेर जाँच गर्ने र आइसोलेशनमा राख्ने प्रबन्ध मिलाइएको छ,’ डिआईजी कार्कीले भने, ‘भारतीय नागरिक छ भन्ने काउन्टर पार्टलाई खबर गर्ने निर्देशन पनि दिइएको छ ।’


नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकाका कडाइसँगै कोरोना भाइरस संक्रमणबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीबारे शनिबारदेखि माइकिङ समेत थालेको छ ।

प्रकाशित : चैत्र ९, २०७६ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?