भक्तपुर — भक्तपुर नगर क्षेत्रभित्र खुला तरकारी, फलफूल तथा खाद्य स्टोरहरुमा किनमेल गर्नेको भीड लागेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनको बेवास्ता गर्दै सार्वजनिक स्थानहरुमा खुलेको खुला तरकारी, फलफूल तथा खाद्य पसलमा मेला नै लागे जस्तो देखिन थालेको छ ।
भक्तपुर नगरपालिकाले खाद्यान्न, तरकारी एवं अत्यावश्यक सामान खरिदका लागि नगर क्षेत्रभित्र दैनिक बिहान ५ देखि ८ र साँझ ५ देखि ७ बजेसम्म समय निर्धारण गरेको छ ।
नगरपालिका र महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त जगातीको समन्वयमा दूरी कायम गरेर घेरा लगाइएको भएपनि सर्वसाधारणले बेवास्ता गर्दै दूरीको ख्याल गरेको छैन ।
नगरपालिकाले टौमढी, गःहिटी, नासमना, दत्तात्रय, च्याम्हासिंह, कमलविनायकमा बजार व्यवस्थापन गरेको छ । त्यस्तै, सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार, सूर्यविनायक, सल्लाघारीलगायत क्षेत्रहरुमा पनि तरकारी, फलफूल तथा खाद्य पसलहरुमा सर्वसाधारणको भीड लगेको छ ।
नगरपालिकाले लकडाउनका लागि राम्रो व्यवस्था गरेपनि स्थानीय बासिन्दाले त्यसको अटेर गर्दै बजारमा भीड गर्ने गरेका छन् । कतिपयले मास्कको समेत प्रयोग नगरी सार्वजनिक स्थलमा हिँडिरहेका छन् ।
सिद्धपोखरी, कमलपोखरीमा बिहानैदेखि मर्निङवाक गर्न आउनेको भीड धेरै नै हुने गरेको स्थानीयले बताए । भक्तपुरको बजार क्षेत्रमा पनि बिहान र बेलुका हिड्ने बाक्लै हुने गरेको स्थानीय बताउँछन् ।
जिल्ला प्रशासन, प्रहरी, नगरपालिकाले माइकिङ् गरेर नागरिकलाई लकडाउनको पालना गर्न र घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । तर, नागरिकले भने बेवास्ता गर्दै आइरहेका छन् ।
