प्रदेश ५ का ९० स्थानीय तहमा क्‍वारेन्टाइन 

चैत्र १६, २०७६

अमृता अनमोल

बुटवल — कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि प्रदेश ५ का स्थानीय तहसम्म सचेतना कार्यक्रम र सक्रियता बढेको छ । प्रदेश सरकारको समन्वयमा १२ जिल्लाकै स्थानीय तहहरुले धमाधम  क्वारेन्टाइन निर्माण गरेका छन् । भारतसहित तेस्रो मुलुकबाट हालै नेपाल आएका नागरिकलाई ती क्‍वारेन्टाइनमा राखिएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना संक्रमण रोकथामका लागि लागि प्रदेशका एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ ।  १ सय ९ मध्ये ९० स्थानीय तहले क्वारेन्टाइन बनाएका छन् ।  तिनमा दुई हजार तीन सय बेड तयार भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले बताए । उनका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहमा क्वारेन्टाइन छन् । तिनमा ३ सय ५४ वटा क्वारेन्टाइन बेड तयार भएका छन् । ८ वटामा  क्वारेन्टाइनमा भारतीय सहरबाट आएका नागरिक राखिएको छ ।

जिल्लास्तरमा कपिलवस्तुमा १६, नवलपरासी पश्चिममा १४, पाल्पामा २३, गुल्मीमा २६ र अर्घाखाँचीमा ३४ स्थानमा क्वारेन्टाइन छन् । बर्दियामा १९, बाँकेमा ८ , दाङमा १६, रोल्पामा ५ , रुकुम पूर्वमा २ र प्यूठानमा १६ स्थानमा क्वारेन्टाइन छन् । क्वारेन्टाइनमा राखेका व्यक्तिलाई १४ दिनसम्म कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण नदेखिएमा घरमा पठाइने छ।


प्रयोगशाला स्थापना हुँदै

प्रदेश ५ सरकारले रुपन्देहीको भैरहवामा कोरोना भाइरस (कोभिड–१९) परीक्षण प्रयोगशाला स्थापना प्रक्रिया अघि बढाएको छ । भैरहवाको अञ्चलपुरमा रहेको गहुँबाली अनुसन्धान केन्द्रमा प्रदेशस्तरीय प्रयोगशाला बनाउन लागेको हो । 


प्रयोगशाला बनाउन गहुँबाली अनुसन्धान केन्द्रको एउटा भवन तयारी अवस्थामा छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रयोगशालामा रियल टाइम पीसीआर मेसिनलगायत उपकरण जडान गरेपछि सञ्चालनमा ल्याउन सकिने बताए । ‘त्यसका लागि काठमाडौंबाट उपकरण तथा कीट मगाएका छौं,’ उनले भने, ‘सामान आएपछि सेवा सुरु हुनेछ ।’ 


अहिले प्रदेशका नमुना काठमाडौं पठाउने गरिएको छ । कोरोना भाइरससँगै भविष्यमा अन्य संक्रामक रोगहरुको परीक्षणका लागि पनि प्रयोगशाला चाहिने भएकाले अन्तर्राष्ट्रिय मापदण्डको र सुविधासम्पन्न प्रयोगशाला निर्माणमा जुटेको मन्त्री बरालले बताए । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully