प्रमुख पद नपाएपछि अर्को पार्टीमा प्रवेश, अलमलमा मतदाता
सर्लाही — सर्लाहीका विभिन्न राजनीतिक दलका नेताहरू अहिले दल अदलबदलमा लागेका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै वडादेखि पालिकास्तरसम्मका नेताहरूले दल फेरिरहेका छन् । दशकौंदेखि एउटा बिचार बोकेर हिँडेका नेताहरू एकाएक अर्को पार्टीमा लाग्दा मतदाता रनभुल्लमा छन् ।
सर्लाहीको कविलासी नगरपालिका–१ पिपरियाका फगुनी मण्डल वामपन्थी नेता हुन् । सर्वहाराको पार्टी भनेर राजनीति गर्दै आएका उनी दुई पटक एमालेबाट गाविसको प्रधानपञ्च भए । स्थानीय तह गठन भएको पहिलो निर्वाचनमा उनले एमालेबाट नगर प्रमुखको तयारीसमेत गरेका थिए । तर अन्तिम समयमा उनी पछि हट्नुपर्यो । मण्डल अहिले जनता समाजवादीमा प्रवेश गरेका छन् । उनले पटकपटक पार्टीले आफूमाथि अविश्वास गरेका कारण अर्को पार्टीमा प्रवेश गरेको जनाए ।
सोही ठाउँका गिरिधारी साहले मधेसवादको नाममा राजनीतिक यात्रा सुरु गरे । एमालेको विरोध गर्दै आएका उनी अहिले एमालेमै प्रवेश गरेका छन् । यसअघिका चुनावमा तत्कालीन राजपाबाट वडामा प्रतिस्पर्धासमेत गरेका थिए । एमाले अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेपछि उनी वडाको तयारीमा छन् ।
लामो समय मधेसकेन्द्रित दलमा लागेका कविलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव एमालेमा प्रवेश गरे । महेन्द्र राय निकट रहेका उनी गत चुनावमा तत्कालीन राजपाबाट नगर प्रमुखमा विजयी भएका थिए । एमाले र अध्यक्ष ओलीको विरोध गर्दै आएका उनी गत शनिबार मलंगवामा ओलीकै हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् । मधेसकेन्द्रित दलमा संस्कार नभएको भन्दै उनले बाहिरिएको घोषणा गरे । मधेसकेन्द्रित दलमा एकअर्काको अस्तित्व स्विकार्न नचाहने प्रवृत्ति रहेको उनको आरोप थियो । ‘विभिन्न आन्दोलन गरेर मान्छे मार्न लगाउने, सहिद परिवारको बेवास्ता गर्ने मधेसवादी दलहरूको अहिले सत्तालिप्सामा मात्र ध्यान छ,’ उनले भने ।
यस्तै मधेस आन्दोलनमा लागेका विनय कर्ण गत चुनावमा एमालेमा प्रवेश गर्दै नगर प्रमुखका प्रत्याशी बनेका थिए । चुनाव जित्न नसकेका उनी केही दिनअघि मात्र नेपाली कांग्रेसमा प्रवेश गरे । पालिकामा कांग्रेसको अवस्था यस पटक राम्रो भएका कारण उनी आएको हुन सक्ने पार्टीका नेता तथा कार्यकर्ताहरूले बताएका छन् । यता नेताहरूले दल अदलबदल गरिरहँदा आम मतदाता भने रनभुल्लमा परेका छन् । एक पार्टीको वकालत गर्दै आएका नेता फरक पार्टीबाट मतदाता रिझाउन पुग्दा उनीहरू असमन्जसमा परेका हुन् ।
गैरका स्थानीय अजयकुमार झाले नेताहरूले आफ्नो स्वार्थका लाग रातारात दल अदलबदल गर्ने गरेको आरोप लगाए । ‘सबै नेता सत्तामा मात्र पुग्न खोज्छन्, उनीहरू पार्टीको नीतिभन्दा पनि जित्ने दाउ खोजिरहेका छन्,’ झाले भने, ‘नेताहरूको दल अदलबदलले आम मतदाता तथा कार्यकर्ता कसलाई समर्थन गर्ने भन्ने अलमलमा परिरहेका छन् ।’ वडा र पालिका मात्र हैन यसअघिका चुनावमा केन्द्रीय तहका नेताहरूसमेतले दल अदलबदल गरेका थिए ।
उनीहरूकै सिको तल्लो तहका नेताहरूले गरिरहेको मतदाता बताउँछन् । यता, जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख पदमा नाम सिफारिस भएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वडाध्यक्ष जानकीराम साह मंगलबार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंस्थित निवासमा पार्टी प्रवेश गराएका हुन् ।
