भागबन्डामै सकस

सत्ता गठबन्धन केन्द्रको निर्णय कुर्दै, राप्रपा नेपालसँग तालमेल गर्ने निर्णयसँगै एमालेमा पनि उम्मेदवार छनोटमा विलम्ब

वैशाख ८, २०७९

राजकुमार कार्की, सुवास विडारी, नगेन्द्र अधिकारी

मकवानपुर, सिन्धुली, काभ्रे — स्थानीय तह निर्वाचनको मिति नजिकिए पनि मकवानपुरमा चुनावी चहलपहल भने सुरु भएको छैन । सत्तारूढ र प्रतिपक्षी दलहरूबीच गठबन्धनका कारण उम्मेदवार टुंगो नलाग्दा वैशाख ३० मा हुने निर्वाचनको माहोल अझै सुरु नभएको हो ।

सत्तारूढ दल कांग्रेसको नेतृत्वमा रहेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनमोर्चा र जसपा सम्मिलित सत्ता गठबन्धनले अझैसम्म उम्मेदवारको टुंगो लगाउन सकेको छैन । प्रतिपक्षी दल एमाले र राप्रपा नेपालबीच गठबन्धन भए पनि आगामी कार्यदिशाबारे दुवै दल निचोडमा पुग्न सकेका छैनन् । उम्मेदवारी दर्ता गर्न अब एक साता मात्रै छ ।

एमालेले अधिकांश वडामा उम्मेदवार तय गरे पनि राप्रपा नेपालसँगको नयाँ समीकरणसँगै चुनावी कार्यक्रम अगाडि बढाउन सकेको छैन । मकवानपुर राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहजिल्ला हो । जसका कारण एमालेले आगामी कार्यदिशा तय गर्न सकेको छैन । सत्तारूढ दलबीच पनि पटक–पटक बैठक भए पनि अन्तिम निर्णयका लागि केन्द्रकै निर्देशन पर्खिरहेका छन् ।

मकवानपुरमा हेटौंडा उपमहानगरसहित १ नगर र ८ गाउँपालिका छन् । उपमहानगरमा उम्मेदवार सत्ता र प्रतिपक्षी दुवैले केन्द्रबाटै टुंग्याउने निर्णय गरेका कारण पनि चुनावी चहलपहलका लागि केही समय अझै कुर्नुपर्ने देखिन्छ । अघिल्लो निर्वाचनमा एमाले ६ स्थानीय तहमा विजयी भएको थियो । कांग्रेस र माओवादीले २/२ स्थानीय तहको नेतृत्व हत्याएका थिए । एमालेले पार्टी विभाजनको असर नपरेको दाबी गरे पनि एकीकृत समाजवादीको वडा तहैसम्म संरचना निर्माण भएको छ । एमाले विभाजन भएसँगै कैलाश र इन्द्रसरोवर गाउँपालिकाका फ्रमुखहरू क्रमशः टंक मोत्तान र जीवन लामा अहिले एकीकृत समाजवादीतर्फ खुलेका छन् ।

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले केन्द्रको निर्देशनअनुसार जिल्ला, पालिका र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिएको र सोहीअनुसार उम्मेदवार छनोट गरिने बताए । राप्रपा नेपालका प्रतिनिधिसँग छलफल भइरहेकाले केही दिनभित्रै उम्मेदवार टुंगो लाग्ने एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । दलहरूले संघीय

संरचना निर्माण गरे पनि निर्वाचनमा टिकट वितरणमा भने केन्द्र नै हावी हुने देखिएपछि जिल्लाका आकांक्षी नेताहरू हाल काठमाडौंमै डेरा जमाएर बसिरहेका छन् । कांग्रेस नेताहरू समूह नै बनाएर दैनिक प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई भेटिरहेका छन् । एमाले नेताहरू पनि विशेष गरी हेटौंडाको उम्मेदवार बन्न दौडधुप गरिरहेका छन् ।

टिकटका लागि शक्तिकेन्द्र धाउँदै

सिन्धुलीका आकांक्षीहरू टिकट लिन शक्तिकेन्द्र धाउन थालेका छन् । काभ्रेमा आकांक्षीको संख्या बढी भएपछि निर्णयका लागि प्रदेश र केन्द्रीय कमिटीमा सिफारिससहित नाम पठाइएको छ ।

दलहरूले बनाएको मापदण्डअनुसार टिकटका लागि उम्मेदवारका आकांक्षीहरू जिल्ला, प्रदेश र संघ तथा शक्तिकेन्द्र धाउन थालेका हुन् । स्थानीय तह र जिल्लामा टुंगो लाग्न नसकेका नाम प्रदेश र संघमा पठाइएको सिन्धुलीका माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक रामकुमार पौडेलले जनाए । ‘कतिपय पालिकाबाट उम्मेदवारको नाम आउने क्रम जारी छ,’ उनले भने । उनी मरिण गाउँपालिका अध्यक्षका आकांक्षी हुन् ।

कांग्रेसको तीनपाटन गाउँपालिकामा हालका अध्यक्ष कर्णबहादुर थापालाई पुनः पालिकास्तरबाट अध्यक्षका लागि सर्वसम्मत एकल उम्मेदवार छनोट गरेको छ । एमालेसँग १९ मतको झिनो अन्तरले विजयी भएको कांग्रेस यो पटक फराकिलो अन्तर बनाउन चाहन्छ । गत निर्वाचनमा अन्तिम समयमा आएर टिकट पाएकाले जित निकाल्न हम्मेहम्मे परेको थियो । कांग्रेस संघीय निर्वाचन क्षेत्र नं. १ का सभापतिसमेत रहेका अध्यक्ष थापामगरले भने, ‘यो पटक त पहिलादेखिकै तयारी छ, फराकिलो मतअन्तरले जित्छौं । त्यसमाथि गठबन्धन जोडिँदा त निकै अन्तर हुन्छ ।’

एमालेले गोलन्जोर गाउँपालिकामा शंकर बराल र मरिण गाउँपालिकामा गोविन्दलाल माझीलाई अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार चयन गरेको छ । यी दुवै पालिकामा २०७४ को निर्वाचनमा एमाले दोस्रो भएको थियो । कांग्रेस र माओवादीले जित निकालेका यी पालिकामा एमालेले यो पटक स्थानीय सरकार बनाउन जित निकाल्ने रणनीति बनाएको छ । गत स्थानीय चुनावमा दोस्रो भएको एमालेले दुवै पालिकामा जित निकाल्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख सञ्जय दाहाल बताउँछन् । भन्छन्, ‘एकढिक्का भएर निर्वाचनमा गई जित निकाल्नुपर्ने भएकाले सर्वसम्मत उम्मेदवार चयन भएको हो ।’

यसैगरी काभ्रेमा स्थानीय तहको निर्वाचनमा पार्टीले पाउने संख्यामा नै कुरो नमिलेपछि सत्तारूढ दलहरूले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय गरेका छन् । गठबन्धनको ४ पटकसम्म बसेको बैठकले स्थानीय तहको संख्या टुंगो लाग्न नसकेपछि आइतबार प्रदेशलाई जिम्मा दिने निर्णय भएको हो । ‘सबैको आ–आफ्नो दाबी रह्यो । संख्या टुंगो लाग्न नसकेपछि प्रदेशलाई जिम्मा दिने निर्णय भएको छ,’ कांग्रेस जिल्ला सचिव गुणराज मोक्तानले भने, ‘स्थानीय तहबारे प्रदेश तहबाट टुंगो लागेपछि वडाका बारेमा छलफल गर्छौं ।’

मोक्तानका अनुसार जिल्लाका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस, ६ वटामा माओवादी केन्द्र, ४ वटामा एकीकृत समाजवादी र १ स्थानीय तह प्रमुखमा जनता समाजवादी पार्टीको दाबी छ । माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले छलफलकै क्रममा रहेको भन्दै स्थानीय तहका बारेमा टुंगो लगाउने जिम्मा प्रदेशलाई दिएको बताए । एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव दीपक गौतमले कांग्रेसले १३ मध्ये ८ स्थानीय तह आफ्नो हुनुपर्ने अडान राखेपछि कुरा नमिलेको बताए । जनता समाजवादी पार्टी काभ्रेका अध्यक्ष कृष्ण भण्डारीले संख्याकै विषयमा कुरा नमिलेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

नगेन्द्र

Link copied successfully