धरानमा एजेन्डाविहीन दलहरू

मतदातासमक्ष जान उम्मेदवारसँग नयाँ मुद्दा छैनन्, पुराना पूरा भएनन्

वैशाख ८, २०७९

प्रदीप मेन्याङ्बो

सुनसरी — गठबन्धन दल हुन् वा एमाले र अन्य राजनीतिक दल धरान उपमहानगरमा एजेन्डाविहीन भएर मतदाताको घरदैलोमा भोट माग्न जाँदै छन् । उनीहरूसँग यतिबेला पुरानै चुनावी मुद्दा मात्र छन् । पुरानै एजेन्डा पूरा गर्न नसकेको स्थानीय प्रबुद्ध वर्गले बताएका छन् । 

सहप्राध्यापक डा. राजेन्द्र शर्माले भने, ‘यहाँको हकमा दल र उम्मेदवारले प्रत्येक चुनावमा बोक्ने एजेन्डा अब छैन ।’ २०४९ को चुनावपछि ०५४, ०७४ र उपनिर्वाचन ०७६ को स्थानीय चुनावमा दलहरूले बोकेका एजेन्डाहरू सुकुम्बासी समाधान गर्ने, खानेपानी समस्या समाधान गर्ने, धरान हवाई मैदान बनाउने, आधुनिक बसपार्क निर्माण गर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, पिण्डेश्वर विद्यापीठ र महेन्द्र बहुमुखी क्याम्पसलाई आधार बनाएर धरानलाई शिक्षा, स्वास्थ्यको हवका रूपमा विकास गर्ने, धरान आसपासका धार्मिक र ऐतिहासिक स्थललाई समेटेर पूर्वकै पर्यटकीय केन्द्र बनाउने र खेलकुदको सहर बनाउने रहे पनि संस्थागत रूपमा तिनले मूर्त रूप लिन नसकेको शर्माले बताए । उनका अनुसार कहिलै पूरा गर्न नसक्ने एजेन्डा बोकेर अब पनि दलहरू भोट माग्न मतदाताको घरदैलोमा पुग्ने हो भने कसैले पत्याउनेवाला छैनन् ।

तीन दशक पुराना घोषणापत्र, प्रतिबद्धता दोहोर्‍याउँदै मतदातालाई पंगु बनाउने समय अहिलेको अवस्थामा नरहेको उनले बताए । शर्माले भने, ‘बहुदलीयकालमा आएर दलहरूले लोकप्रियता बढाउन अनेक खोक्रो आश्वासनसहितको घोषणापत्र मतदातालाई दिए तर आजसम्म आइपुग्दा प्रमुख प्रतिबद्धता पूरा गरेका छैनन् ।’

एजेन्डाविहीन हुन पुगेका दल र उम्मेदवारले विकल्पमा बाहुबली शैली अपनाएर भूमिगत रूपमा अनेक आकर्षण दिन सक्ने आशंका शर्माले गरे । उनले थपे, ‘दलहरू जनमुखीभन्दा पनि धनमूखी भए । एजेन्डाविहीन भएकै कारणले धनकै बलमा जित्ने रणनीति मात्र बाँकी छ । यसो गर्दा दलहरूले अग्रपंक्तिमा भीड देखाउने, कार्यकर्तालाई खुवाउनुपर्ने हुन्छ र क्लस्टर भोट तान्ने स्थानीय लिडरलाई आर्थिक, भौतिक र भविष्यमा पदीय भागबन्डा दिने र खरिद गर्ने रणनीति अपनाउनुको विकल्प छैन ।’

कुल मतदाताको करिब २५ प्रतिशत सुकुम्बासी मत रहेको धरानमा भोट तान्न दलहरूले चुनावी एजेन्डामा जग्गाको धनीपुर्जा दिलाउने आश्वासन दिए पनि हालसम्म कसैले पाएका छैनन् । २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका तारा सुब्बाले घर नम्बर दिने र पानी, विद्युत्लगायत नगरपालिकाले दिने सुविधा समान रूपमा उपलब्ध गराउन प्रक्रिया सुरु गरे पनि त्यसले निरन्तरता पाउन सकेन । सुकुम्बासी मतदातासँग निर्णायक मत रहे पनि अधिकांश ‘तटस्थ’ मतदाता हुने भएकाले दलहरूले त्यस्ता भोट तान्न वैकल्पिक उपाय अपनाउन सक्ने संकेत देखिएको शर्माले बताए ।

खानेपानी समस्या धरानका लागि पुरानै समस्या हो । सन् २०१२ मा धरान खानेपानी आयोजना आए पनि हालसम्म पूर्ण रूपमा सबैलाई समान रूपमा खानेपानी आपूर्ति हुन नसकेकाले यसपटक दलहरूले थप आयोजना ल्याउने र खानेपानीको समस्या समाधान गर्ने घोषणापत्र र प्रतिबद्धता जनाउने तयारी गरेका छन् । उपमहानगर भइसक्दा पनि मुलुककै सबैभन्दा सानो र साँघुरो बसपार्क धरानकै मात्र हो । बसपार्क व्यवस्थित गर्न अढाई दशक अघिदेखि प्रत्येक चुनावी घोषणापत्रमा आधुनिक र स्मार्ट बसपार्क निर्माण गर्ने भन्दै आएका छन् । तर धरानले पाउन सकेको छैन । एक वर्षयतादेखि तीनकुने एकीकृत सुन्दर बस्ती विकास आयोजनाको जग्गामा बसपार्क निर्माण सुरु भएको बताइए पनि सुस्त गतिमा पूर्वाधार तयारी भने भइरहेको छ । दलहरूले तिनै अधुरो आयोजनालाई पनि चुनावी एजेन्डा बनाउने तयारी गरेका छन् । 

प्राध्यापक डा. टंक न्यौपानेले भने, ‘दलहरूले जस्तोसुकै आकर्षक घोषणापत्र र प्रतिबद्धता जाहेर गरे पनि पुरानै समस्या देखाएर भोट फकाउने हुन् तर धरानमा साविक विष्णुपादुका र पाँचकन्या गाविस जोडिएर उपमहानगर भएकाले दलहरूले ती साविक गाविसहरूमा बाटोघाटो, पुलपुलेसा निर्माण गर्ने भन्ने एजेन्डाहरू थप्न सक्छन् ।’ यसपटक पनि मतदातालाई झुक्याउने घोषणापत्र आउने निश्चित भएको धरान–१५ बाँझगराका जगत लिम्बूले बताए । उनले भने, ‘तीन दशकदेखि मैले दलको घोषणापत्र हेर्दै आएको छु ।

धरानमा २०४९ र २०५४ सालमा केही विकास निर्माणका काम सुरु भएका थिए । आशा पनि पलाएको थियो । तर पछिल्लो पटक आएका जनप्रतिनिधिहरूले निरन्तरता नदिँदा धरानको विकास निर्माण अगाडि बढ्न सकेन । दलहरूले घोषणापत्र र प्रतिबद्धताअनुसार काम गरेका भए यो धरान उहिल्यै सिंगापुर बनिसक्थ्यो ।’ 

स्थानीय तह निर्वाचन २०७९

प्रदीप

Link copied successfully