अनुगमन नहुँदा अन्यलाई सर्ने जोखिम
रौतहट — स्थानीय प्रशासनले स्वास्थ्य सतर्कता अपनाएर कोरोना सक्रमितलाई घरमै बस्न भनेको छ । यसको रेखदेख र निगरानी सम्बन्धित वडाले गर्नुपर्छ । तर, चन्द्रपुर २ नयाँटोलका संक्रमित होमआइसोलेसन बस्नुपर्नेमा गाउँ डुल्न थालेका छन् । संक्रमितको अनुगमन नहुँदा अन्यलाई सर्ने जोखिम बढेको छ ।
उक्त वडाको नयाँटोलमा १० जनाभन्दा बढी संक्रमित छन् । उनीहरूमध्ये अधिकांशले मास्क लगाउँदैनन् । बाहिर चोक, बजार, पसल पुग्छन् । साँझ मदिरा सेवन गर्न झोपरपट्टी जाने गर्छन् । संक्रमित गाउँ डुल्न थालेपछि छिमेकीले विरोध गरेका छन् । उनीहरूलाई त्यसो नगर्न, घरमा सुरक्षित बस्न भनेर सम्झाए पनि उल्टै झगडा गर्न थालेको स्थानीयको गुनासो छ ।
संक्रमितहरू बाहिर निस्कन थालेपछि स्थानीय सुब्बा कार्कीले प्रशासनको ध्यानाकर्षण गराएका थिए । ‘होम आइसोलेसन बसेकालाई सम्बन्धित वडाका प्रतिनिधिले निगरानी गर्नुपर्थ्यो । त्यो हुन सकेको छैन,’ उनले भने, ‘स्वास्थ्य प्रोटोकल तोडेर घर बाहिर निस्कनेलाई संस्थागत आइसोलेसनमा राख्नुपर्छ । छाडा छोडियो भने यसले जोखिम बढाउँछ ।’
यसअघि गौरका एक संक्रमित होटलमा चिया पिउँदै गरेको तस्बिर समाजिक सञ्जालमा भाइरल भएपछि स्थानीय प्रशासनले कडाइ गरेको थियो । वडा २ का वडाअध्यक्ष दुत्तबहादुर थिङ (बुद्ध) ले संक्रमित बाहिर निस्किएर हिँडेको जानकारी पाउनासाथ प्रहरीको सहयोगमा सम्झाउने गरेको बताए । ‘हामीले उनीहरूको घरमै गएर सम्झाएका छौं,’ उनले भने, ‘अब पनि अटेर गरे गाउँबाट निकालेर सरकारी आइसोलेसनमा राख्छौं ।’
उक्त वडामा संक्रमणका कारण एक जनाको मृत्यु भइसकेको छ । पछिल्लो समय संक्रमण पुष्टि भएर स्वास्थ्य अवस्था सामान्य भएकाहरूलाई होम आइसोलेसनमा बस्न दिइएको छ । अहिले संस्थागत आइसोलेसनमा बस्ने न्यून छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म पुष्टि भएका ७ सय ८७ संक्रमितमध्ये २५ जना मात्र कोभिड अस्पताल वा संस्थागत आइसोलेसनमा छन् । बाँकी सबै घरमा छन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यस्तो महामारीका बेला बाहिर निस्केर अरूलाई पनि जोखिममा पार्ने काम कसैबाट हुन नहुने बताए । ‘प्रहरीलाई संक्रमतिको अवस्था र बाहिर हिँडडुल गर्न रोक्न भनेका छौं,’ उनले भने, ‘संक्रमण निको नभएसम्म बाहिर हिँडडुल गरेको फेला परे सरकारी आइसोलेसनमा राख्छौं ।’
