मतदाता र कर्मचारी सँगसँगै गाउँमा

वैशाख २९, २०७९

आश गुरुङ

लमजुङ — मनाङको चामे नजिकै कोतोबाट नार्पाभूमिको फू गाउँ पुग्न कम्तीमा २ दिन लाग्छ । सडक सञ्जालले नछोएको फू गाउँमा मतदान गर्न कर्मचारीसँगै फूवासीले २ दिन पैदल हिँडेका छन् ।

मतदान सामग्रीसहित मंगलबार साँझ फू गाउँ पुगेका मतदान कर्मचारीले बुधबार बिहान सर्वदलीय बैठक राखेर मतदाता परिचयपत्र वितरण गरेका छन् । नार्पाभूमि गाउँपालिका-५ नम्बरको वडा कार्यालय मतदान केन्द्रका मतदान अधिकृत राजेन्द्र श्रेष्ठका अनुसार मतदाता र कर्मचारी सँगसँगै जस्तो गाउँ पुगेको हो ।

‘हामी आफ्नै तरिकाले हिँड्यौँ । गाउँले आफ्नै तरिकाले हाम्रो अघिपछि गरी गाउँ पुग्यौं,’ उनले भने । चामेबाट सोमबार हिँडेका उनीहरु मेता बसेको र मेताबाट मंगलबार फू पुगेको उनले बताए । ‘बिहान ६ बजेका हिँडेका हौं । साँझ ६ बजे बास बस्ने ठाउँमा पुग्यौं । भोलिपल्ट बिहान ६ बजे नै हिँड्यौं । साँझ ६ बजे आइपुगियो,’ उनले भने । काठमाठौंलगायत सहरबाट आउनेहरु पनि चामे नजिकै कोतोबाट पैद हिँडेर मात्रै गाउँ पुग्छन् ।

उनका अनुसार वडा नं. ५ को वडा कार्यालय केन्द्रमा ७० मतदाता छन् । भवन नहुँदा यसअघि बाहिरै मतदान गरिएकोमा यस वर्षदेखि वडा कार्यालय केन्द्र तोकिएको छ । सबै मतदाताको नयाँ मतपत्र आएकोमा ६९ वटा वितरण भइसकेको उनले बताए । उनका अनुसार वडा नं. ४ को मतदान केन्द्र फू आधारभूत विद्यालयमा हो । यसमा ७३ जना मतदाता छन् । बुधबार १९ वटा वितरण भएको उनले बताए । ‘फू गाउँमा १ सय ४१ भोटर हो’ उनले भने । उनका अनुसार वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध भइसकेका छन् । दलित महिला सदस्य खाली छ । उपाध्यक्ष एमालेका प्रतिनिधि निर्विरोध भइसकेका छन् । अध्यक्षको लागि मात्रै निर्वाचन हुने उनले बताए ।

नार्पाभूमि गाउँपालिका १ को वडा कार्यालय केन्द्रका मतदान अधिकृत ढाकाराम आचार्यका अनुसार बुधबार बिहान सर्वदलीय बैठक राखिएको र त्यसपछि मतदाता शिक्षा कार्यक्रमसहित परिचयपत्र वितरण गरिएको बताए । उनका अनुसार वडा नं. २ को नार आधारभूत विद्यालय र वडा नं. ३ को साम्दो छिरिङ गुम्बामा मतदान केन्द्र छ । वडा नं. १ मा कूल ९२ मतदाता रहेकोमा ५५ वटा मतदाता परिचयपत्र वितरण गरिएको उनले बताए । ‘पहिले चौरमा मतदान केन्द्र रहेछ । अहिले वडा कार्यालय कायम भएपछि मतदाता सबैको नयाँ कार्ड बन्यो’ उनले भने । उनका अनुसार वडा नं. २ को २१ र ३ को २३ वटा नयाँ कार्ड वितरण गरिएको छ ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार मतदाता आउने क्रम जारी छ । सरकारी कर्मचारी र सुरक्षाकर्मी सबै आइपुगेका छन् । ‘यहाँका धेरै मान्छे काठमाडौं बस्छन् । कोही हिउँ छल्न काठमाडौं गएको थियो । अहिले चुनावमा गाउँ आएका छन् । कोही हिजो अस्ति आए,’ उनले भने, ‘चुनावमा भोट हाल्न त आउनै पर्‍यो नि । गाडीको बाटो छैन । बास बस्दै, आउँदै ।’ काठमाडौं बस्ने वृद्धवृद्धा भने आउन नसक्ने उनले बताए ।

नेपालमा सबैभन्दा कम ६ हजार ४ सय ९४ मतदाता भएको जिल्ला मनाङ हो । मनाङमा पनि सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा कूल ४ सय ४८ मतदाता छन् । नार्पाभूमिमा पनि वडा नं. ५ मा ७० जनामात्रै मतदाता छन् । सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकामा ३ हजार ५ सय ३५ मतदाता छन् । ४ गाउँपालिका रहेको मनाङमा २८ वटा वडा छन् । यसमा २८ वटै मतदान स्थल र मतदान केन्द्र छन् । चामे गाउँपालिकाको ५ वटा वडामा ७ सय ११ र नासों गाउँपालिकाको ९ वटा वडामा १ हजार ८ सय २ मतदाता छन् ।

प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार मनाङका मतदाता प्रायः आइसकेका छन् । केही आउने क्रममा पनि छन् । ‘मनाङ ङिस्याङ र नार्पाभूमिका धेरै मतदाता काठमाडौंमा हुनुहुन्थ्यो । उहाँहरु आउने क्रम जारी छ,’ उनले भने । मतदाता काठमाडौंमा भएपछि नेताहरुले काठमाडौंमै घरभेट गरेका थिए । घरभेटमा काठमाडौं पुगेका नेतासँगै र उनीहरुका अघिपछि मतदाता गाउँ आएका छन् । ‘कोही कार्तिक मंसिरतिरै जाडो छल्न काठमाडौं गएका थिए । चुनाव भनेपछि कोहीले आउन ढिलाइ गरेर बल्ल आए । कोही पहिल्यै आए’ उनले भने ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully