चितवनमा अंकमाल, रुकुममा झडप

वैशाख २३, २०७९

हरि गौतम

रुकुम पश्चिम — कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दुवै दलका शीर्ष नेताहरू बिहीबार चितवनमा एउटै मञ्चमा थिए । मञ्चमा आसीन सबैले गठबन्धन गर्नुपर्ने कारण सुनाउँदै हँसिया–हतौडा र रूखमा भोट मागे । तर, त्यही समयमा रुकुम पश्चिमको चौरजहारी र त्रिवेणी गाउँपालिका–९ मा भने यी दुवै दलका कार्यकर्ता आपसमा भिडिरहेका थिए ।

दुवै स्थानमा भएका झडपमा कांग्रेसका ८ र माओवादी केन्द्रका २ कार्यकर्ता घाइते भएका हुन् । कांग्रेसका कृष्णबहादुर पुन, दुर्गाबहादुर ओली र वीरबहादुर ओलीलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । 

प्रचारप्रसारका क्रममा विवाद भएपछि सुरक्षाको माग गर्दै कांग्रेस कार्यकर्ता प्रहरी चौकी सिम्रुतु पुगेका थिए । माओवादी कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई प्रहरी चौकीमै गएर कुटेका थिए । चौरजहारीमा भने माओवादीको कार्यक्रममा कांग्रेस र एमालेको सयुंक्त टोलीले आक्रमण गरेको थियो । झडप र विवादपछि दुवै पार्टीका कार्यकर्ता आक्रोशित छन् । ‘शान्तिपूर्ण प्रचारप्रसारको वातावरण नै छैन, बिनाकुनै विवाद हामीमाथि आक्रमण गरियो,’ कांग्रेस कार्यकर्ता मुकुन्द खड्काले भने, ‘केन्द्रमा गठबन्धन भनेर नेताहरू अंकमाल गर्छन्, यहाँ भने बर्बरतापूर्ण तवरले कुटिन्छ ।’ कांग्रेसले सत्ता साझेदार र गठबन्धन भनेर सँगै राखेको माओवादीले जिल्लामा कांग्रेसलाई सधैं यस्तै व्यवहार गर्ने गरेको उनको भनाइ छ । 

माओवादी केन्द्र त्रिवेणीका सहसचिव जनककुमार विकले भने अनावश्यक रूपमा कांग्रेसले झडप गर्न खोजेको बताए । ‘हाम्रा पर्चा, पोस्टर फाल्दिने, एक्लाएक्लै हिँड्ने, हाम्रा कार्यकर्तामाथि आक्रमण गर्ने गरेपछि झडपको अवस्था आएको हो,’ विकले भने, ‘कांग्रेस जस्तो लोकतान्त्रिक भन्ने पार्टीले नै चुनाव बिथोल्ने गरी व्यवहार देखाइरहेको छ ।’ 

केन्द्रीय नेताहरू एकै ठाउँमा भएर कार्यक्रम गरिरहँदा जिल्लामा भने स्वच्छ प्रतिस्पर्धा हुने अवस्था नरहेको कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले बताए । जिल्लाको ठूलो दल भएको माओवादी प्रतिस्पर्धादेखि डराएर प्रचारप्रसार गर्न नदिने, कार्यक्रम गर्न नदिने जस्ता हर्कतमा संलग्न भइरहेको उनको भनाइ छ । उनका अनुसार जिल्लाका ४ स्थानीय तहमा कांग्रेस र एमालेको गठबन्धन छ । सोही गठबन्धनलाई २ स्थानीय तहमा एकीकृत समाजवादीले सघाएको छ भने एक पालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्धन छ । 

स्थानीय तह निर्वाचन २०७९

हरि

Link copied successfully