चुनावी मैदानमा कान्छा उम्मेदवार


काठमाडौँ — सर्लाहीको कविलासी नगरपालिका–५ पचगछियाका २१ वर्षीय रितिक रोशन यादव हिजोआज चुनावी चटारोमा छन् । उनी कुनै उम्मेदवारको प्रचारप्रसारमा हिँडिरहेका छैनन्, आफ्नै लागि भोट मागिरहेका छन् । रितिक नगर प्रमुखका स्वतन्त्र उम्मेदवार हुन् ।

‘नेतृत्व युवा पुस्तामा जानुपर्छ’
–रितिक रोशन यादव
२१ वर्ष
सर्लाही
चितवनमा स्नातक पढिरेहका रितिकले विकासको मेरुदण्ड मानिने शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतमा पालिका पछि परेको देखेपछि आफू राजनीतिमा लागेको बताए । ‘कोरोनाकालको लकडाउनमा लामो समयसम्म गाउँमा बस्दा नागरिकले शिक्षा, स्वास्थ्य, सडक, खानेपानीलगायतको समस्या खेपिरहेको देखें,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न र बेथिति हटाउन आफैं राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो अनि चुनावमा उठें ।’
स्थानीय तहमा नेतृत्व परिवर्तन गर्ने आफ्नो मूल एजेन्डा रहेको रितिकले सुनाए । ‘म आफैं विद्यार्थी हुँ, हाम्रो पालिकामा शिक्षामै चरम राजनीति हाबी छ,’ उनले भने, ‘विकास निर्माणको बजेट सदुपयोग हुन सकेको छैन । विकास बजेट नेताको गोजीमा जान्छ । पालिकामा जनप्रतिनिधिले अनियमितता गर्दा विपक्षीले समेत चासो दिएको देखिएन । अब नेतृत्व युवा पुस्तामा जानुपर्छ ।’
आफू जस्ता युवालाई राजनीतिक दलहरूले नपत्याउने हुनाले स्वतन्त्र उम्मेदवारी दिएको रितिकको भनाइ छ । ‘घरदैलोमा पुगेपछि जनता राजनीतिक नेतृत्वबाट कति दिक्क रैछन् भन्ने थाहा पाएँ । मतदाताबाट हौसला पाएको छु,’ उनले भने, ‘मैले पनि कुनै दलमा नलागेको युवालाई यस पटक मत दिनुस् भनेर अनुरोध गरिरहेको छु ।’
‘विकृति हटाउन युवा आउनुपर्छ’
–जीवन बस्नेत
२१ वर्ष
मोरङ
नगरपालिकाको विकास र समृद्धिका लागि युवाले नेतृत्व लिनुपर्छ भन्दै मोरङको सुन्दरहरैंचा–१०, खोर्सानेका २१ वर्षीय जीवन बस्नेत बिहीबार हरैंचा बजारमा भोट माग्दै थिए । भर्खर झुस्स दाह्री र जुँगा पलाएका उनले आफू मेयरमा निर्वाचित भए आधुनिक सहर बनाउने र युवाका लागि स्वदेशमै रोजगारीका अवसर गर्ने आश्वासन पनि बाँडे । आफू राजनीतिमा आउनुको कारण पनि खुलाए, ‘हजुरबा पुस्ताका नेताहरूले मुलुकलाई सही मार्गमा हिँडाउन सकेनन् । राजनीतिमा व्याप्त विकृति र विसंगति हटाउन हामी युवा नै अघि सर्नुपर्छ ।’
स्थानीय सुकुना बहुमुखी क्याम्पसमा राजनीतिशास्त्रमा स्नातक दोस्रो वर्षमा अध्ययनरत उनी कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीति गर्थे । पार्टीले उम्मेदवारको टिकट नदिएपछि उनी स्वतन्त्र रूपमा अघि सरेका हुन् । चुनावमा ठूलो रकम खर्च गर्न सक्ने आफ्नो आर्थिक अवस्था नरहेको जीवनले बताए । उनका बुबा धनबहादुर फर्निचर उद्योग चलाउँछन् । ‘चुनावको सामान्य खर्च साथीभाइबाट व्यवस्थापन भइरहेको छ,’ जीवनले सुनाए ।
२०५८ वैशाख १० मा जन्मेका जीवनका प्रतिस्पर्धी १० जना छन् । एमाले, कांग्रेससहितका स्थापित राजनीतिक दलका उम्मेदवारलाई जितेर मेयर बन्न जीवनलाई मुस्किल छ । उनी भन्छन्, ‘म मेयर भएँ भने भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न । विकास निर्माणका हरेक योजना एवं सामाजिक कार्यमा युवालाई परिचालन गर्छु । युवालाई नै मेरुदण्ड बनाएर नगरको विकास गर्छु ।’
‘पैसा दिएर भोट लिनु हुँदैन’
–रामकुमार रजक
२१ वर्ष
सप्तरी
स्थानीय तहको चुनावी मैदानमा पाका मान्छेको भीडमा सप्तरीका २१ वर्षीय रामकुमार रजक पनि छन् । उनलाई माओवादीले तिरहुत गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएको छ । रजक मधेसको दलित समुदायभित्र पर्ने धोबी जातिका हुन् ।
सीटीईभीटीको ल्याब असिस्टेन्ट कोर्स पास गरेर काभ्रेपलाञ्चोकको एउटा निजी हेल्थ क्लिनिकमा १८ महिना काम गरेर राजकुमार गाउँ फर्किएका थिए । घरमै बसिरहेका बेला उनी माओवादी पार्टीसँग नजिकिए । उनले सुनाए, ‘माओवादीको नीति गरिब दलितप्रति राम्रो पाएँ । पार्टीले पनि विश्वास गरेर पालिका अध्यक्षमै मलाई टिकट दियो ।’ उम्मेदवारी दर्तापछि उनी घरदैलोमा भोट माग्न व्यस्त छन् ।
सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने किसान परिवारका रामकुमारले पालिकामा भ्रष्टाचार र दलित तथा गरिबप्रति हेपाहा प्रवृत्ति अन्त्य गर्न आफू राजनीतिमा आएको बताए । उनले दलित र गरिबको भूमिसम्बन्धी समस्या समाधान गर्ने, बाटोघाटो व्यवस्था गर्ने, स्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र भ्रष्टाचारमुक्त समाज निर्माणलाई चुनावी एजेन्डा बनाएका छन् । ‘अब दलितमा पनि राजनीतिक चेतना आएको छ, आफ्नो अधिकारबारे सजग हुँदै गएका छन्,’ उनले भने, ‘दलितहरू अब भोट बैंकका रूपमा मात्रै प्रयोग हुँदैनन्, आफ्ना समस्या समाधान गराउन जाग्छन् भन्ने विश्वास छ ।’
उम्मेदवारहरूले चुनावमा धेरै खर्च गरिरहेको पनि रामकुमारलाई मन परेको छैन । उनले आफूसँग त्यसरी खर्च गर्ने अवस्था नरहेको बताए । ‘पैसा खर्चेर चुनाव जित्नेले जनताको काम गर्दैनन्, खर्च उठाउनेमा मात्रै उनीहरूको ध्यान जान्छ,’ उनले भने, ‘जनतालाई पैसा दिएर भोट लिनु राम्रो होइन । म उनीहरूको अपेक्षाअनुसार काम गर्ने विश्वास दिलाएर मत माग्दै छु ।’
‘समाज बदल्ने सपना छ’
–श्यामसुन्दर यादव
२१ वर्ष
रुपन्देही
रूपन्देहीका श्यामसुन्दर यादवलाई केही समयअघिसम्म राजनीति गर्छु भन्ने लागेको थिएन । भर्खरै १२ कक्षा पास गरेका उनी २१ वर्षका मात्रै छन् । तर, उम्मेदवार बनेपछि उनी यतिबेला चुनावी दौडधुपमा व्यस्त छन् ।
उनलाई नेकपा एमालेले रूपन्देहीको कोटहीमाई गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । उम्मेदवार बनेपछि एकाएक उनको व्यस्तता चुलिएको हो । कलिलै उमेरमा राजनीतिमा आउनुको कारण खुलाउँदै उनी भन्छन्, ‘पालिकाका जनप्रतिनिधिहरूले विगत ५ वर्षमा गरेको व्यवहारले म दिक्क थिएँ । एमालेले प्रस्ताव गरेपछि अघि सरें सुन्दरले विगतमा कुनै पार्टी सक्रिय नरहेको बताए । परिवारका सबैको सहयोग पाएपछि आफू राजनीतिको मैदानमा आएको उनले बताए । ‘युवाले पढेर भ्रष्टाचार अन्त्य हुने होइन रहेछ, राजनीतिमै लाग्नुपर्ने रहेछ,’ उनले भने, ‘समाज बदल्ने सपना बोकेर राजनीतिमा होमिएको छु, हेरौं के हुन्छ ।’
श्यामसुन्दरले आफ्नो सिद्धान्त सुनेर र बुझेर मत दिन मतदातालाई आग्रह गरिरहेका छन् । उनले भ्रष्टाचारमुक्त पालिका बनाउने, युवा जमातका लागि नयाँ योजनासहित कार्यक्रम ल्याउने योजना सुनाइरहेका छन् । गर्भवतीका लागि एम्बुलेन्स सेवा निःशुल्क गर्ने पनि उनको मुख्य चुनावी एजेन्डा छ । श्यामसुन्दरसँग चुनावी प्रतिस्पर्धामा ७० वर्षमाथिसम्मका उम्मेदवारसमेत छन् ।
चुनौती दिँदै तन्नेरी
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा प्रमुख पदका उम्मेदवारको फेहरिस्त लामो छ । ठूलो भनिएको पार्टी एमालेदेखि यसअघि नामै नसुनिएको मौलिक जरोकिलो पार्टीसम्मका १६ उम्मेदवार प्रमुखको दौडमा छन् । त्यही दौडमा छन् पाँच जना स्वतन्त्र । एक हुन्, २४ वर्षे कमल पराजुली । ‘मेरो उम्मेदवारी राष्ट्रघात र जनघातविरुद्ध हो,’ उनले भने ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपामा आबद्ध पराजुलीले केही समययता भने दलीय राजनीतिबाट अलग रहेको जनाएका छन् । ‘कुनै पनि दलप्रति विश्वासको आधार छैन,’ उनले भने, ‘त्यही भएर स्वतन्त्र रूपमा उम्मेदवारी दिएको हुँ ।’ १२ कक्षा पढेर छाडेका दमक–१ का पराजुली एउटा मोबाइल पसलमा काम गर्छन् । ‘म श्रमिक हुँ,’ उनले भने, ‘प्रमुख पदमा जिते विपन्न, गरिब, दलित, श्रमिकको हितमा काम गर्छु ।’ झापामा २५ वर्षभन्दा कम उमेरका पराजुलीजस्ता ५४ जना उम्मेदवार छन्, जसमा दुई जना प्रमुख र चार महिला उपप्रमुखका प्रत्याशी छन् । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार भद्रपुर नगर प्रमुखका लागि मंगोल नेसनल अर्गनाइजेसनका २५ वर्षीय इन्द्रकुमार सुहाङ चुनावी मैदानमा छन् । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगर भद्रपुरमा कांग्रेस–माओवादीले तालमेल गरेका छन् ।
२४ वर्षीय प्रतीक्षा चौधरीले गौरादह नगरपालिकाको उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । त्यस्तै मंगोल नेसनल अर्गनाइजेसनकी २२ वर्षीया शिखा लिम्बूले मेचीनगरबाट, मंगोल नेसनल अर्गनाइजेसनकै २५ वर्षीया सरस्वतीकुमारी ताजपुरियाले गौरादहबाट र उन्नत लोकतन्त्र पार्टीकी २४ वर्षीया बिन्दिया बराइलीले कनकाई नगरबाट उपप्रमुखको उम्मेदवारी दिएका छन् । ‘पाको उमेरका भन्दा युवा उम्मेदवारप्रति मतदाताको ज्यादा विश्वास देखिएको छ,’ झापा बाहुनडाँगीका एक एमाले कार्यकर्ता प्रवीण भण्डारीले भने, ‘त्यही भएर हाम्रो वडामा पार्टीले युवा उम्मेदवारलाई प्राथमिकता दिएको छ ।’
झापामा युवालाई उम्मेदवार बनाउने दलमा राप्रपा अग्रपंक्तिमा छ । उसले २५ वर्षमुनिका ९ जनालाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले ७, एमाले, मंगोल र जनमत पार्टीले ६/६ जनालाई उम्मेदवार बनाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मोर्चाले ४ र नेपाली कांग्रेसले ३ जनालाई चुनावी मैदानमा उतारेका छन् ।
विनोद भण्डारी (विराटनगर), अवधेशकुमार झा (राजविराज), सन्जु पौडेल (लुम्बिनी), ओमप्रकाश ठाकुर (सर्लाही) र पर्वत पोर्तेल (झापा)
