नेताहरुले स्थानीय चुनावबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका लागि जग तयार हुने बताइरहेका छन् तर देउवाकै गृहजिल्ला डडेलधुरामा गठबन्धनको जग हल्लिएको छ, आफ्नै छत्रछायामा लामो समय राजनीति गरेका सहयोगी र नेता–कार्यकर्ताले कांग्रेस सभापतिलाई चुनौती दिएका छन्
अमरगढी, डडेलधुरा — कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यकर्ताले नचाहेका धेरै ठाउँमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय गरे, कतिपयलाई निर्देशन दिएरै तालमेल गराए । तर उनकै गृहजिल्ला डडेलधुरामा भने गठबन्धन दलबीच चुनावी तालमेल छैन । बरु ०४८ पछि उनले निरन्तर चुनाव जित्दै आएको डडेलधुरामा एमालेले चुनौती दिएको छ ।
देउवासँग असन्तुष्ट नेता–कार्यकर्ताको नेतृत्व डडेलधुरा कांग्रेसका पूर्वसभापति एवं प्रदेश सांसद कर्णबहादुर मल्लले गरेका छन् । मल्ल समूहले जिल्लामा कांग्रेस (बीपी) ब्युँताएर एमालेसँगको तालमेलमा सातवटै स्थानीय तहमा उम्मेदवारी दिएको छ । प्रधानमन्त्री देउवा पार्टीलाई जिताउन देश दौडाहामा छन् । मल्ल भने उनलाई कमजोर पार्न गाउँ–गाउँ पुगेर संगठन विस्तार गरिरहेका छन् । कांग्रेसविरुद्ध एमालेसँग तालमेल गरेर उम्मेदवारी दिएपछि मल्लसहित नेताहरूलाई देउवाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन् ।
दस महिनाअघि गठबन्धनको बलमा पाँचौंपटक प्रधानमन्त्री बनेका देउवाले गठबन्धनलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्मै लैजान चाहेका छन् । दोहोरिएर पार्टी सभापति भएका उनी छैटौंपटक प्रधानमन्त्री बन्ने योजनामा छन् । गठबन्धनका नेताहरूले स्थानीय चुनावबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका लागि जग तयार हुने बताइरहेका छन् तर देउवाकै गृहजिल्ला डडेलधुरामा गठबन्धनको जग हल्लिएको छ । आफ्नै छत्रछायामा लामो समय राजनीति गरेका सहयोगी र नेता कार्यकर्ताले देउवालाई चुनौती दिएका छन् ।
देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका देउवालाई आफ्नै गृहजिल्लामा चुनाव जित्न सकस परेको छ । देउवापत्नी आरजु राणा चुनावको एक साताअगावै डडेलधुरा पुगेकी छन् भने केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरू कांग्रेसको विरासत जोगाउन खटिएका छन् । सत्तारूढ दलभित्रै गठबन्धन नहुनु, आफ्नै पार्टीका पूर्वसंगठकहरूले असन्तुष्ट भएर एमालेसँगको तालमेलमा उम्मेदवारी दिनु र आफ्नै गुटभित्र समेत टिकट वितरणमा असन्तुष्टि हुनुले देउवालाई डडेलधुरामा कांग्रेसको विरासत जोगाउन हम्मे पर्ने देखिएको छ । दुई नगरपालिका र चार गाउँपालिका गरी सात स्थानीय तह रहेको जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राप्रपासमेतले एकल उम्मेदवारी दिएका छन् ।
एमालेले जिल्लैभरि कांग्रेसको असन्तुष्ट मल्ल पक्षसँग तालमेल गरेको छ । मल्ल पक्षले तीन स्थानीय तहका प्रमुख र दुई स्थानीय तहका उपप्रमुखसहित ५२ मध्ये २० वडामा आफ्ना उम्मेदवार उठाएको छ । बाँकी ठाउँमा भने एमालेलाई सघाएको मल्ल पक्षका नेता हरि भट्टले बताए । जिल्लामा गुट चलाउनसमेत नदिने देउवाविरुद्ध पहिलोपटक खडा भएका मल्लले कांग्रेसकै नेता तिलक हमालको संयोजकत्वमा बीपी कांग्रेसको जिल्ला कार्यसमिति गठन गरेर उम्मेदवारी दिन लगाएका छन् । मल्लले भने आफूले कांग्रेस नछोडेको, बरु देउवाले नै पार्टीको साधारण सदस्यबाट समेत निकालेर आफूमाथि एकपछि अर्को अन्याय गरेको आरोप लगाएका छन् । उनले बीपी कांग्रेसका नामबाट अमरगढी नगरपालिकाको प्रमुखमा हरि भट्ट, गन्यापधुराको अध्यक्षमा सुरेन्द्र माली र नवदुर्गाको अध्यक्षमा गोकुल शाहीलाई उम्मेदवार बनाएका छन् ।
गत निर्वाचनमा अमरगढीमा एमाले, गन्यापधुरामा कांग्रेस र नवदुर्गामा एमालेले जितेका थिए । त्यस्तै, एमालेसँग चुनावी तालमेल गर्दा मल्ल पक्षले भागेश्वरको उपाध्यक्षमा शान्ति जोशी र अजयमेरुको उपाध्यक्षमा रामचन्द्र ऐरलाई उम्मेदवार बनाएको छ । यसअघि भागेश्वरमा कांग्रेस र अजयमेरुमा माओवादी केन्द्र विजयी भएका थिए । बाँकी स्थानीय तहमा एमालेलाई सहयोग गरेको नेता भट्टले जानकारी दिए । गत निर्वाचनमा कांग्रेसले भागेश्वर, गन्यापधुरा र आलिताल गाउँपालिका तथा परशुराम नगरपालिका गरी चार स्थानीय तहमा जित निकालेको थियो । त्यसबेला कांग्रेसको जिल्ला सभापति मल्ल नै थिए । देउवाले टिकट वितरण गर्दा अन्याय गरेको भन्दै त्यहीबेला मल्ल पक्षका नेतालाई अन्तरघातको आरोप लागेको थियो । देउवाविरुद्ध विद्रोहमा उत्रिएका मल्लले आफूहरूले पार्टीमा न्याय नपाएपछि विद्रोहमा उत्रिन बाध्य भएको बताए । ‘हामीलाई क्रियाशील सदस्यता वितरणमा पार्टी सभापतिले जसरी अन्याय गर्नुभयो र बहालवाला जिल्ला सभापतिलाई समेत बाहिर राखेर गुटगत रूपमा एकलौटी जिल्ला अधिवेशन भयो, त्यो विधानसम्मत भएन भन्ने हाम्रो प्रश्न हो,’ मल्लले भने, ‘हामीले त्यही विषयमा न्याय पाउनुपर्छ भन्दा उहाँ र नेताहरूबाट कुनै सुनुवाइ भएन ।’
उनले अहिले आफूहरूले परिणामबारे नसोचेको बताए । ‘अहिले हाम्रो अर्जुनदृष्टि भनेको ३० गतेको स्थानीय चुनावमा छ, परिणाम के हुन्छ भनेर मैले भनेर पनि केही हुँदैन र शेरबहादुर देउवाले भनेर पनि यहाँ केही हुनेवाला छैन, त्यो जनताले निर्णय गर्ने कुरा हो,’ उनले भने, ‘हाम्रो अभिभावकले नै हामीलाई न्याय नगरेपछि हामी जनताको अदालतमा आएका छौं । जनताले जे निर्णय गर्छन्, त्यो मलाई स्वीकार्य हुन्छ ।’
देउवा पक्षका नेताहरू भने डडेलधुरामा मल्लको प्रभाव नरहेको दाबी गर्छन् । केन्द्रीय सदस्य नैनसिंह महरले मल्ल पक्षले कांग्रेसलाई ठूलो क्षति नपुर्याउने दाबी गरे । ‘कर्ण मल्ल भनेको शेरबहादुर देउवाको कारणले बलियो देखिएको नाम हो, उहाँ आफैंमा त्यस्तो शक्तिशाली होइन,’ महरले कान्तिपुरसँग भने, ‘उहाँ हावा भरिएको बेलुनजस्तै हो । उहाँसँग देउवा नै नभएपछि कुनै अर्थ छैन ।’ तर, जिल्लाको संगठन महरले भनेजस्तो छैन । करिब तीन दशक देउवासँगै रहेर राजनीति गरेका मल्लले पार्टी र भ्रातृ संस्थाका थुप्रै नेता–कार्यकर्ताको साथ पाएका छन् ।
मल्ल र देउवाबीच ०४८ को निर्वाचनपछि निकटता बढेको थियो । देउवा गृहमन्त्री हुँदा सुब्बासरहको नियुक्ति लिएर सचिवालयमा छिरेका मल्लले देउवा दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा निजी सचिव भएरै काम गर्ने मौका पाए । त्यसयता निरन्तर मल्लले देउवाको राजनीतिक सहयोगी र विश्वासपात्रका रूपमा काम गरे । ०६७ सालमा पार्टीको १२ औं महाधिवेशनबाट सभापति देउवाकै समर्थनमा जिल्ला सभापति बनेका मल्ल ०७२ मा भएको १३ औं महाधिवेशनबाट पुनः सभापतिमा दोहोरिए । १२ औं महाधिवेशनमा सर्वसम्मत जिल्ला सभापति बनेका उनीविरुद्ध डडेलधुरामा देउवा समूहकै अर्को गुट खडा भएको थियो । मल्लले २ भोटले सभापति जितेका थिए । त्यही बेलादेखि देउवा–मल्ल खटपट सुरु भएको थियो ।
देउवा–मल्ल दूरी बढाउने अर्को महत्त्वपूर्ण कारण थियो– स्थानीय तहको टिकट वितरण । जिल्लाबाट आफूले सिफारिस गरेका नेता–कार्यकर्तालाई देउवाले टिकट नदिएपछि मल्लले असन्तुष्टि पोखेका थिए तर सम्बन्ध ठीकै थियो । देउवा–मल्लबीचको द्वन्द्व छताछुल्ल भएकोचाहिँ सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेता को बन्ने भन्ने बेला हो । मल्लले प्रदेशसभा संसदीय दलको नेता दाबी गरेका थिए तर देउवाले रणबहादुर रावललाई अघि सारे । ‘सभापतिज्यूले भूगोलको राजनीति मिलाउन रावलजीलाई संसदीय दलको नेता बनाउन भन्नुभयो तर मल्लले बुझ्नुभएन, त्यहीकारण प्रदेश संसदीय दलको नेताको चुनावै भयो,’ देउवानिकट एक नेता भन्छन्, ‘त्यसपछि सभापतिज्यूको उहाँलाई हेर्ने दृष्टिकोण फेरियो ।’
पार्टीको १४ औं महाधिवेशनमा तत्कालीन जिल्ला सभापति मल्लले जिल्लामा ०७४ को निर्वाचनमा बागी उम्मेदवारी दिनेसहित केही कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको निर्णय गरेर पठाएका थिए । तर, त्यो देउवाले केन्द्रबाट रोकिदिएपछि द्वन्द्व झन् चर्कियो । जिल्लामा देउवा पक्षले एकलौटी वडादेखि जिल्लासम्मको अधिवेशन गर्यो । अहिले स्थानीय चुनावमा समेत देउवाले मल्ल र उनीनिकटलाई मौका नदिएपछि कार्यकर्ताले विकल्प खोजेको मल्ल बताउँछन् ।
कतिपय नेता–कार्यकर्ता मल्ल पक्षले जित्न नसके पनि कांग्रेसलाई सजिलै हराउन सक्ने टिप्पणी गर्छन् । कतिपयको टिप्पणी भने मल्ल पक्षले असर नगर्ने, बरु जित्न सहज हुने भन्ने छ । मल्लनिकट एक नेताका अनुसार जिल्लाभर करिब तीन सय क्रियाशील सदस्य मल्ल पक्षमा खुलेका छन् । ‘हामीले एक्लै होइन, जिल्लाभर गठबन्धन गरेर उम्मेदवारी दिएका हौं,’ मल्ल पक्षका नेता हरि भट्टले भने, ‘अहिले नतिजाका बारेमा बोल्दा झूटो बोलेको जस्तो हुन्छ तर जिल्लाभरि हाम्रो पक्षमा माहोल छ ।’
सदरमुकाम रहेको अमरगढी नगरपालिकामै एमालेले मल्ल पक्षलाई मेयर पद दिएको छ, जबकि यहाँ अघिल्लो पटक एमालेले मेयर र उपमेयर नै जितेको थियो । मल्ल पक्षले नेता भट्टलाई नै उम्मेदवार बनाएको छ । मल्ल पक्षलाई मेयर दिएपछि एमालेमा पनि असन्तुष्टि छ । मल्ल पक्षले हारजितलाई प्रभावित पार्न सक्ने परशुराम नगरपालिकामा पनि हो । यो नगरपालिकामा एमाले कमजोर छ तर मल्ल पक्षले कांग्रेसको ठूलो मत काटेको अवस्थामा परिणाम माओवादी केन्द्रको पक्षमा पर्न सक्ने नेताहरू बताउँछन् । देउवाको समेत मतदाता नामावली रहेको गन्यापधुरामा पनि मल्ल पक्षले भोट काट्ने आकलन छ । पूर्वजिल्ला सदस्य सुरेन्द्र माली गन्यापधुरामा अध्यक्षको उम्मेदवार छन् । ‘उम्मेदवार धेरै छन्, धेरै पार्टीले उम्मेदवार उठाएका छन् तर यो स्थानीय चुनाव हो, नातागोता, आफन्त र छिमेकीको मत जहाँ पनि जान सक्छ,’ शिक्षक हरिश क्षेत्रीले भने ।
कांग्रेस महासमिति सदस्य सुरेश जोशीले भने मल्ल पक्षले बेग्लै चुनाव लड्दा कांग्रेसलाई जित्न सजिलो भएको बताए । ‘मल्ल पक्ष बेग्लै चुनाव लड्दा कांग्रेस कार्यकर्ता पछि लाग्दैनन् । त्यसले कांग्रेसलाई जित्न सहज हुन्छ,’ उनको दाबी छ । गठबन्धन हुन नसकेको खबर पाएपछि देउवाले जिल्ला सभापतिलाई फोन गरेर मागेजत्ति दिएर भए पनि तालमेल गर्न निर्देशन गरेका थिए । तर, जिल्लामा गठबन्धन दलबीच कुरा मिलेन । नेताहरूका अनुसार सबैभन्दा बढी मतदाता रहेको परशुराम नगरपालिकाको प्रमुख कसले पाउने भन्ने विषयमा सहमति नभएको हो । जहाँ २८ हजार मतदाता छन् । यो संख्या अन्य तीन गाउँपालिकाका मतदाताको जति हो । अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसले माओवादीलाई ५ सय ४५ मतले जितेको थियो ।
देउवाविरूद्ध खुलेका नेता
कर्णबहादुर मल्ल, पूर्वजिल्ला सभापति करुणाकर भट्ट, पूर्वजिल्ला उपसभापति गोपा थापा, समानुपातिक उम्मेदवार लोकराज भट्ट, पूर्वजिल्ला सचिव मानबहादुर बुढा, प्रदेश (क) पूर्वसभापति तिलक हमाल, पूर्वजिल्ला सदस्य हरि भट्ट, पूर्वमहाधिवेशन प्रतिनिधि पद्मा गुरुङ, पूर्वमहाधिवेशन प्रतिनिधि हरि भट्ट, पूर्वमहाधिवेशन प्रतिनिधि भरत नेपाली, दलित संघका केन्द्रीय सदस्य जोगबहादुर ऐर, पूर्वजिल्ला सदस्यहरू गोकुल शाही, लोकराज भट्ट, नरबहादुर ठकुराठी, सुरेन्द्र माली, सन्तोष देउवा, शान्ति जोशी, दानबहादुर पाल, महिला संघकी पूर्वसभापति कमला विष्ट, राम विष्ट, नरेन्द्र मल्ल, झारुदेवी ओझालगायत ।
