काठमाडौंमा निःशुल्क पिउनेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्नेछु : सिंह

‘म रैतीलाई नागरिक बनाउने परिवारबाट आएकी हुँ’

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंको व्यवस्थित रुपमा विकास गर्ने बताएकी छिन् । 

बिहीबार काठमाडौंमा गोरखा–काठमाडौं चुनाव प्रचार समूहले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै सिंहले अस्तव्यस्त काठमाडौंको विकासलाई व्यवस्थित रूपमा विकास गर्ने बताएकी हुन् । उनले काठमाडौं महानगर जनताले खोजेको जस्तो नभएकाले आफू मेयर जितेर आए जनताले खोजेको जस्तै काठमाडौं महानगर बनाउने बताइन् ।

‘तपाईंहरुले खोजेको काठमाडौं र मैले खोजको काठमाडौं छैन । समस्या नै  समस्या रहेको छ । जताततै फोहोरको थुप्रो र अस्तव्यस्त सडक, खाल्डाखुल्टी र धुलोधूँवा रहेको छ । त्यसलाई व्यवस्थित बनाउने पहिलो प्राथमिकता दिने छु । फोहोरको व्यवस्थापन घरबाट नै गर्ने छु,’ उनले भनिन् । 

सिंहले काठमाडौं महानगरको प्रशासनिक सेवा सुस्त रहेकाले अब महानगरवासीले घरमा नै बसेर अनलाइनमार्फत सेवा लिन सक्ने वातावरण बनाउने बताइन् । त्यस्तै उनले महानगरमा खानेपानीको समस्या रहेकाले सार्वजनिक स्थानहरुमा शुद्ध र निःशुल्क खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाइन् ।

‘काठमाडौंको बाटो धेरै हिड्छौं । बाटोका पसलमा मिनिरल पानी देख्छौं । काठमाडौंमा पैसा नहुनेले सित्तैमा पानी खान पाउँदैन । त्यसलाई मध्यनजर राखेर सार्वजनिक स्थानहरुमा शुद्ध निःशुल्क खानेपानीको व्यवस्था गर्ने छु,’ सिंहले भनिन् । त्यस्तै महिलामैत्री हुने गरी निःशुल्क शौचालय बनाउने पनि उनले बताइन् । काठमाडौं महानगरवासीका लागि छुट्टै सुविधासम्पन्न अस्पताल बनाउने पनि सिंहले बताइन् ।

आफूलाई विरासतको राजनीतिबाट आएको आरोप लागे पनि रैतीलाई नागरिक बनाउने परिवारको सदस्य रहेको सिंहको भनाइ थियो ।  काठमाडौं महानगरको मेयरको उम्मेदवार भए पनि आफू कर्ता मात्रै भएको भन्दै उनले महानगरको विकासमा सबैसँग समन्वय गरेर मात्रै काम गर्ने बताइन् ।

‘अहिले मलाई एउटा आरोप लाग्ने गरेको छ विरासतको राजनीतिबाट आई । नेताको श्रीमती भएर आई भन्ने आरोप छ । हो म गणेशमानको बुहारी पनि हो । म मंगलादेवी सिंहको बुहारी पनि हो । प्रकाशमान सिंहको श्रीमती पनि हो । म यस्तो परिवारबाट आएको हो । जसले रैतीलाई नागरिक बनायो, जसले यो देशको उच्च पद प्रधानमन्त्री दिँदा पनि अस्वीकार गर्नु भयो,’ उनले भनिन् । 

आफ्नो परिवारले कहिल्यै भ्रष्टाचार नगरेको उल्लेख गर्दै उनले भनिन्, ‘मेरो परिवारले यो देशमा कहिल्यै भ्रष्टाचार गरेको छैन । परिवारले सामाजिक विचलन आउन दिएको छैन । त्यसैले म कर्ता मात्रै हो मैले सबै काम गर्न सक्दिनँ । विज्ञहरुसँग समन्वयमा काठमाडौं महानगरको विकासको काम गर्ने छु ।’

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully