देउवाले आधा कुरा थाहा पाउनुभयो, आधा बाँकी छ : ओली

वैशाख २२, २०७९

भवानी भट्ट

कञ्चनपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालले गएको निर्वाचनको भन्दा राम्रो नतिजा ल्याउने बताएका छन् । ०७४ को स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ५२ प्रतिशत जित हात पारेको उल्लेख गर्दै ओलीले पहिलेभन्दा अहिले राम्रो नतिजा आउने बताए ।  

‘एमाले एउटा लहरका रूपमा, जनउभारका रूपमा देश बनाउने संकल्पका साथ अगाडि बढेको छ,’ बिहीबार कञ्चनपुरको बेलौरीमा आयोजना गरिएको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले सबैभन्दा बढी उम्मेदवार हामीले उठाएका छौं, जित पनि हामीले गत चुनावभन्दा बढी नै जाला भन्ने हाम्रो अनुमान छ ।’ 

उनले अहिले देशभरिमा एमालेबाहेकका पार्टीले आमसभा गर्न नसकेको बताए । ‘५ दलीय गठबन्धनले देशभरिका ७ ठाउँमा मात्रै आमसभा गर्ने भनेको छ । एमालले पालिका पालिकामा आमभसा गरिरहेको छ, पालिका–पालिकामा पार्टीको केन्द्रीय अध्यक्ष पुगिरहेको छ, त्योभन्दा बढी घरदैलो के हुन्छ,’ उनले भने, ‘अरु पार्टीले हाम्रो जस्तो आमसभा गर्ने हिम्मत नै गर्दैनन् ।’ 

कांग्रेस सभापति देउवाले चुनावी सभामा एमाले बलियो भएका कारण गठबन्धन गर्नुपरेको भन्दै हिँडेको ओलीले बताए । ‘देउवाले आधा कुरा थाहा पाउनुभयो, आधा थाहा पाउन बाँकी छ,’ उनले भने, ‘गठबन्धन गरे पनि एमालेसाग जित्न सकिन्न भन्ने चुनावपछि थाहा पाउनुहुन्छ ।’ 

अध्यक्ष ओलीले एमाले सबैका लागि भरपर्दो पार्टी भएको बताए । वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिने काम एमालले नै सुरु गरेको र त्यसलाई बढाउँदै लगिरहेको उनले बताए । ‘तपाईंको छोरा विदेश जान सक्छ, छोरी विदेश जान सक्छ,’ उनले भने, ‘तर एमाले कहीँ पनि जाँदैन, हरेक महिना तपाईंको घरमा ४ हजार बोकेर आउाछ, बैंकको ब्याज तिर्नु छ, बिजुलीको बिल तिर्नु छ भन्दैन ।’ 

प्रमुख र उपप्रमुखमध्ये एउटामा महिला उठाउनुपर्ने संविधानमै व्यवस्था भए पनि गठबन्धनका नाममा अधिकांश ठाउामा प्रमुख र उपप्रमुख दुवैमा पुरुष उम्मेदवार बनाइएको उनले बताए । 

अहिलेको स्थानीय तहको निर्वाचनमा एमालेले योग्य उम्मेदवार उठाएको बताए । उनले सबै उम्मेदवारले स्थानीय तहको विकासमा लाग्ने बताए । सबै उम्मेदवारले राम्रो काम गर्ने र यदि कसैले सुशासन र विकासविरोधी काम गरेमा कारबाही गरिने उनले बताए । 

स्थानीय तह निर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully