भरतपुरको सभामा देउवाले भने : रेनुजस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त ?

काठमाडौँ — प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रेनु दाहाललाई चितवन कांग्रेसले सघाउनुपर्ने बताएका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालको कार्यकालमा भरतपुरका हरेक गल्ली पिच भएको देउवाले बताए ।

'ठाउँठाउँमा पिच भएको छ, कालोपत्रे भएको छ। यहाँको भाउ बढिसक्यो, सबैलाई थाहा छ नि,' देउवाले भने, ' स्मार्ट सिटीको कुरा उठाउनु भएको छ, अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भन्नु भएको छ, यो सानो कुरा हो ? इन्टरनेसनल कन्फरेन्स हल बनाउने कुरा गर्नु भएको छ, यो सानो कुरा हो ?'
रेनु दाहालले देखेका सपना साना कुरा नभएको देउवाले बताए । 'अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्नु, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बने संसारभरका मानिस यहाँ आउँछन् । उहाँले देखेका यी सपना यहीँकै लागि हो । तपाईंहरूका लागि हो,' देउवाले भने, 'त्यही पनि रेनु भएन भन्नुहुन्छ, यस्तो काम गर्ने मान्छे नभएर को हुन्छ त यहाँ ?' रेनुले आफ्नै कामले जितिसकेको पनि दाहालको भनाइ थियो ।
'उहाँ आफैले जितिसक्नुभयो । जित्नुहु्न्छ । हामीले त्यसै आरोप लाउने,' देउवाले भने । 'राम्रो काम गर्ने मान्छेलाई हराए यहाँका मान्छेले के भन्लान्?,' रेनुलाई मत माग्दै देउवाले भने, 'यस्तो काम गर्नेलाई त हामीले धन्यवाद भन्ने हो । त्यसैले सबैले उहाँलाई सहयोग गर्नुहोस् ।'
कुनै पनि पार्टीले पनि बहुमत ल्याउन नसक्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको देउवाको भनाइ थियो । गठबन्धन टुटाउने थुप्रै षड्यन्त्र भए पनि त्यसलाई आफूहरूले परास्त गर्ने उनले बताए ।
प्रकाशित : वैशाख २२, २०७९ १६:५८