गोकर्णेश्वर नगरपालिकामा चुनावी चटारो : पर्यटकीय गन्तव्य बनाउने मुख्य एजेन्डा

वैशाख २२, २०७९

दिपेन्द्र बिष्ट

काठमाडौँ — काठमाडौं महानगरपालिकासँगै जोडिएको गोकर्णेश्वर नगरपालिकामा चुनावी रौनक छाएको छ । मुख्य दल कांग्रेस, एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको गठबन्धन भएको छ ।

प्रत्येक राजनीतिक दलका उम्मेदवार एक्ला एक्लै वा संयुक्तरुपमा चोक-चोक, गल्ली-गल्लीमा उम्मेदवार पुगेर मतदाताहरुसँग मत मागि रहेका भेटिन्नछन् । पार्टी घोषणा पत्र र उम्मेदवारले आ–आफ्नो प्रतिबद्धतापत्र बोकेर जनताको घरदैलो अभियान तीव्ररुपमा बढाएका छन् । नाचगानसहित उम्मेदवार घरदैलो अभियानमा पुगेका छन् । 

गोकर्णेश्वरको दुर्गम बस्ती तारेभिरे, मूलखर्कमा समेत घर घरमा पुगेर उम्मेदवारहरुले मतदातालाई आफ्ना पक्षमा मतदान गर्न आवश्वत पारिरहेका छन् । गाडी, मोटरसाइकलमा चढेर वा पैदलयात्रा समेत गरेर उम्मेदवार तथा कार्यकर्ता नगरका बस्तीमा पुगेका देखिन्छन् । सबै उम्मेवारलाई तारेभिर र मूलखर्कलाई पर्यटकीय गन्तव्य बनाउने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । 

एमालेका मेयर उम्मेदवार उद्धव विष्टले विगत ३ वर्षदेखि तारेभिरे महोत्सव मनाउँदै आएको दाबी गरे । चुनावी अभियानमामात्र नभइ आफ्नै संयोजकत्वमा तारेभिर महोत्सव मनाउँदै आएको उनको भनाई छ । ‘यो डाँडालाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ’ उनले भने, ‘किनभने, यहाँबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ, त्यसकारण यो विशेष महत्वमा पर्छ ।’ 

बुधवार गोकर्ण क्षेत्रमा एमालेको चुनावी प्रचारप्रसारमा भेटिएका क्षेत्र ३ का सांसद कृष्ण राईले स्थानीय सरकार जति मजबुत भयो त्यति नै संविधानको रक्षा हुने बताए । ‘चुनावमा गइसकेपछि जितहार हुन स्वभाविक हो, तर गणतन्त्रको सुन्दरपक्ष निर्वाचन हो,’ उनले भने, ‘समयमै निर्वाचन भइराखेकाले मतदातामा निकै उत्साहित छन ।’ 

३३ हजार मतदाता भएको गोकर्णेश्वरमा कांग्रेसका तर्फबाट मेयर पदमा दीपक रिसाल उम्मेदवार छन् । जोरपाटी क्षेत्रमा घरदैलो अभियानमा भेटिएका रिसालले कांग्रेसले जितेको नगरपालिकामा आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।  ‘५ वर्षमा हामीले नगरक्षेत्रभित्र जनतामुखी काम गरेका छौं’ उनले भने, ‘हामीलाई जित्न त्यति गार्‍हो छैन ।’ 

गत स्थानीयतहको निर्वाचनमा कांगेसका सन्तोष चालिसले एमालेका पुण्य चौलागाईलाई करिब २ हजार मतको अन्तरले पराजित गरेका थिए । चालिसेले साढे ९ हजार र चौलागाई‌ले ७ हजार मत्त प्राप्त गरेका थिए । माओवादी  र एकीकृत समाजवादीको गठबन्धनमा समाजवादीले गोपाल बरालले मेयर र माओवादी केन्द्रबाट पेम्वाछिरी लामाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसैगरि स्वतन्त्रबाट विनय सिंखडाले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसका रिसाल,  एकीकृत समाजवादीका बराल घर नगरको सबैभन्दा बढी मतदाता भएको क्षेत्र जोरपाटीका बासिन्दा हुन् । विष्ट सुन्ताखानका वासिन्दा हुन् । सुन्दरीजलका स्थायीय जनार्दन खड्काले कस्ले जित्छ भन्ने अनुमान गर्न नै निकै गार्‍हो भएको बताए । 

‘टिकट वितरणमा कांग्रेसभित्र पनि व्यापक असन्तुष्टि छ, त्यसैगरि एमालेका केही मतदाता  पनि समाजवादी तिर छन्’ उनले भने, ‘तर प्रतिस्पर्धा एमाले कांग्रेसबीच नै हो ।’ जोरपाटीका स्थानीय दिनेश ढुङगानाले जोरपाटीको निर्णायक भोट भएको बताए । ‘भोट बैंक भनेको जोरपाटी क्षेत्र हो,’ उनले भने, ‘ जोरपाटी क्षेत्र कांगेस र समाजवादीका उम्मेदवार हुन्, यो क्षेत्रको भोट बाँडिनसक्छ, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेस नै हो, यसै अनुमान गर्न गार्‍हो छ ।’

के भन्छन् उम्मेदवार ?

'विकाससँगै सुशासन र सदाचारयुक्त समाज बनाउँछु'  

उद्धव विष्ट  

मेयर उम्मेदवार, एमाले


यसअघि कांग्रेसको जित हात पारेको नगरमा तपाईंका जित्ने आधार के-के हुन् ? 

मुख्य त हामीले भ्रष्टाचार रहित र सुशासनको कायम गर्न प्रतिबद्धता जनाएका छौं, किनभने जनता स्थानीय निकाय भ्रष्टचार मौलायो भनेर आजित भएका छन्, जुन मतदाता कहाँ गए पनि भ्रष्टाचार भयो भनेर गुनासो गर्छन् । मेरो एजेण्डा भनेको सुशासन कायम गराउने हुन्छ । 

चुनावको मुखमा विकासे नारालाई छोडेर सुशासनको एजेन्डा अघि सार्दा जनताले भोट हाल्छन् त ?

विकासको एजेण्डा छोडेको भन्ने होइन । विकास त निरन्तर भइराख्ने कुरा हो । विकासको गति कसैले रोकेर रोकिन्छ र ? सुशासन र सदाचारयुक्त समाज निर्माणमा हामीले ध्यान दिनै पर्छ । 

यो पाँच वर्षमा नगरपालिकाको भवनसमेत निर्माण भएको छैन, भन्ने जनताको गुनासो छ नि ?

जनताको यो सहि गुनासो हो । मैले जितेमा पहिलो एजेण्डा नगरपालिका भवन निर्माण हुन्छ । 

तपाईंले घोषणापत्रमा निकै कुरा समेटन भएको छ, पाँच वर्षभित्र यी सबै गर्न सम्भव छ ? 

मैले तपाईंलाई अघि भनिसके, मान्छेमा प्रतिबद्धता हुनपर्छ, प्रतिबद्धता अनुसारको सुशासन र सदाचार भयो भने असम्भव भन्ने केही पनि छैन । किनभने स्थानीय उम्मेदवारलाई जनताले चिनेकै हुन्छन, हामीले धेरै भनि राख्नु पर्दैन । 

शिक्षा, स्वास्थ्य, खानेपानी र सडक सञ्जालको अवस्था कस्तो छ ?

शिक्षा, स्वास्थ्य  अवस्था राम्रै छ । किनभने यो महानगरसँगै जोडिएको नगरपालिका हो । तारेभिर र मुलखर्क अलि दुर्गम हो । त्यहाँका जनताका लागि हामीले विशेषण सुविधा गर्नेपर्छ । त्यसैगरी सडक सञ्जालले जोडिसकेको छ । अब भनेको कालोपत्रे गर्ने हो । सबै वडाका गल्ली कालोपत्रे गर्नुपर्छ । त्यसैका साथै, शिवपुरी निकुञ्जको पानीको स्रोतलाई जनताको घरदैलोमा पुर्‍याउने, एक घर एक धारो बनाउछौ‌ं । 

'शिवपुरीको पानी घरघरमा पुर्‍याउँछौं' 

दीपक रिसाल

मेयर उम्मेदवार का‌ंग्रेस 


पाँच वर्ष का‌ंग्रेसले जितेको नगरपालिका फेरि जित्ने तपाईंको मुख्य आधार के हो ? 

हामीले जनताको पक्षमा काम गरेका छौं । यसअघिको मेयरको सल्लाहकार भएर काम गर्दा मैले जनताको दु:ख सुखमा साथ दिएका छौं, जनताले मलाई नजिकबाट चिनेका छन्, यो विकासवादी नेता हो भन्ने छ, त्यसका मेरो जित निश्चित छ । 

तर पाँच वर्षमा नगरपालिकाको भवनसमेत निर्माण भएन भन्ने मतदाताको गुनासो छन नि ?

यो केही प्राविधिक कारणले निर्माण हुन नसकेको हो । भवन नबन्दैमा विकास नै भएन भन्नेचाहि होइन । अब यसपटक यो पनि बन्छ । अधिकांस वडा कार्यालय निर्माण भइसकेका छन् । अब मुख्य भवन पनि निर्माण हुन्छ । 

जितेपछि तपाईंको नयाँ एजेन्डा के हो ?

तारेभीर र मुलखर्कलाई पर्यटकीय गन्तव्य गोकर्ण मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास गर्छौ‌ । त्यसका साथै, दुर्गम वस्तीमा सडक कालोपत्रे गर्छौ‌‌ । 

गोकर्णेश्वरमा फोहर व्यवस्थापनको समस्या  निकै छ भन्छन नि ?

हामीले मेसिनबाट फोहर जलाउने मेसिन जडान गरिसकेका छौ‌ं । अब थप १३ वटा मेसिन जडान गर्छौं । फोहरको समस्यालाई कसरी निराकरण गर्ने भन्नेमा पहिले देखि सोचेको विषय हो ।

तपाईंको क्षेत्रमा स्रोत हुँदा हुँदै पनि खानेपानीको समस्या छ भन्छन् नि ? 

हो, पानीको समस्या छ, सुन्दरीजलको क्षेत्रको पानीको व्यवस्थापनको बारेमा पनि योजना बनाएका छौं । त्यसका साथै यो शिवपुरी क्षेत्रका पानीका स्रोतलाई संरक्षण गरेर घरघरमा पुर्‍याउने योजनामा छौं ।

स्थानीय तह निर्वाचन २०७९

दिपेन्द्र

Link copied successfully