रेनु दाहालको भाषण सुनेर म दंगदास छु : नेपाल

गठबन्धनका नेतालाई नेपालको आग्रह : नमिलेका ठाउँमा मिलाउनुहोस्, तल कतिपय ठाउँमा बिगार्न खोजिरहेका छन् 

वैशाख २२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा कतिपय पालिकामा सहमति नभएका ठाउँमा सहमति जुटाउन नेताहरूलाई आग्रह गरेका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले कतिपय ठाउँमा बिगार्न खोज्नेहरू सक्रिय भएको बताएका हुन् । 

गठबन्धन दलहरूका शीर्ष नेता सहभागी सभालाई सम्बोधन गर्दै नेपालले भने, 'नमिलेका ठाउँमा मिलाउनुहोस्, तल कतिपय ठाउँमा बिगार्न खोजिरहेका छन् । सहमति नभएका ठाउँमा सहमति गर्नुस्। सहमति नगर्नेहरूलाई सम्झाउनुस्, तह लगाउने काम गर्नुस् ।'

भरतपुरका सन्दर्भमा विवाद नभएको उल्लेख गर्दै नेपालले भने, 'भरतपुरका सन्दर्भमा कुनै दुई मत छैन ।' निवर्तमान मेयर रेनु दाहालले उत्कृष्ट काम गरेको उल्लेख गर्दै उनले भने, 'यातायातदेखि पिउने पानीसम्मका कुरामा दाहालले काम गर्नु भएको छ । उहाँका काम प्रशंसनीय छन्। दाहाललाई हामीले विकासका निम्ति अगाडि बढ्ने मेयरका रूपमा पाएका छौँ ।' दाहालले सभामा पेस गरेका 'कामका फेहरिस्त' सुनेर आफू दंग परेको पनि नेपालले बताए । 'रेनु दाहालको भाषण सुनेर म दंगदास छु । बधाई छ रेनु दाहाललाई,' नेपालले भने । 

त्यस्तै नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्रविरोधी भएको कुरा पनि दोहोर्‍याएका छन् । उनले भने, 'केपी ओलीको बखान गर्नु जरुरी छैन  । हजार जिब्रो भएका शेषनागले गर्न सक्दैनन् । केपी ओली गणतन्त्रविरोधी हुन् । उनी महागफाडी हुन् । उनी झुटको पुलिन्दा चढ्न सक्छन् । झुटोलाई साँचो भन्छन् ।' 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully