यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ : दाहाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन राष्ट्रको आवश्यकता रहेको बताएका छन् । भरतपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राष्ट्रको आवश्यकतालाई ध्यान दिएर पाँच दलीय गठबन्धन बनाएको भनाइ दोहोर्‍याए ।

अध्यक्ष दाहालले गठबन्धनको भविष्य भरतपुरको चुनावी नतिजाले निर्धारण गर्न सक्ने बताएका छन् । उनले भने, 'यो गठबन्धनलाई १०/१५ वर्षसम्म लैजान सकिन्छ । चितवनवासी जनताको हातमा फैसला गर्ने बेला आएको छ । रेनु दाहालसहित टिमलाई विजयी गराउनुभयो भने म निकै उत्साहित हुनेछ ।'

उनले गठबन्धनको नेता कार्यकर्ताहरुको यो चुनाव अग्नीपरीक्षा रहेको बताए । 'म नेता कार्यकर्तालाई पनि भन्न चाहन्छु, दीगोरुपमा गठबन्धन बनाउन दिनुहुन्छ कि प्रचण्डलाई टेन्सन दिन चाहनुहुन्छ तपाईंहरुको हातमा छ,' अध्यक्ष दाहालले भने ।

दाहालले भरतपुरमा कुशासनको कुनै गन्ध आउन नदिइकन धेरै कार्यहरुमा रेकर्ड भएको उनले बताए । 'रेनुको म बुवाको नेताले गर्व गर्ने कुरा त छँदैछ । पार्टीको र परिवर्तनको नेताको हिसाबले पनि भरतपुरमा राम्रा काम भएको छ । चितवनवासीले गर्व गर्नुभएको छ । मलाई विश्वास छ, आजको दिनदेखि चितवनमा नयाँ लहर सुरु हुन्छ । यो जित अभूतपूर्व जितको रुपमा आउनेछ,' दाहालले भने ।

गठबन्धनको बारेमा चुनाव चिह्नको विषयलाई लिएर नकारात्मक कुराहरु फैलाएको पनि उनले बताए । 'तपाईंहरुले रुख र हँसिया हथौडा चिह्नको कुरा गर्नुभएको छ । रुखवालाले हँसिया हथौडालाई भोट हाल्न धेरै गाह्रो भएको देखेँ मैले । सपना ठूलै देखिएको थियो । गठबन्धनलाई १०/१५ वर्षसम्म लैजाने भनेको देखिएको थियो । व्यवहारमा सहज देखिन,' दाहालले भने,'२०४६ सालको जनआन्दोलन,२०६३ सालको जनआन्दोलन र नेपालमा विस्तृत शान्ति सम्झौतामा हँसिया हथौडा र रुखको सहकार्य थिएन ?'

दाहालले सहमति, सहकार्य, एकता आजको आवश्यकता भएको बताए । उनले गठबन्धन तोड्नमा विगतमा अनेक खाले षड्यन्त्र भएको बताए । कहिले एमसीसीको लागि कहिले केका लागि भन्दै गठबन्धन तोड्ने प्रयास भएको उनले बताए । हरेक संकटलाई टारेर ल्याइएको गठबन्धन स्वाभाविक र प्राकृतिक भएको दाहालको भनाइ थियो । उनले सबैको साथ सहयोग भयो भने गठबन्धन धेरै परसम्म जान सक्ने र देश दुर्घटनामा पर्ने खतरा पनि टर्ने बताए ।

प्रकाशित : वैशाख २२, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्

निजी क्षेत्रलाई अघि नबढाइ देशको अर्थतन्त्र सुधार्न सकिँदैन : पूर्वअर्थमन्त्री पौडेल

अमृता अनमोल

बुटवल — पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अर्थतन्त्रलाई सन्तुलितरुपले अगाडि बढाउन सरकार, सहकारी र निजीक्षेत्रबीच समन्वय हुनुपर्ने बताएका छन् ।

बुटवलमा बिहीबार आयोजित उद्योगीहरुको भेलामा पौडेलले निजी क्षेत्रलाई अगाडि नबढाइ देशको अर्थतन्त्र सुधार्न नसकिने जनाए । ‘देशको महँगी डबल डिजीटमा पुग्न लागेको छ । जताततै रकम अभाव छ । बैंकमा चेक साट्न जाँदासमेत पाइँदैन,’ उनले भने, ‘आर्थिक अवस्था सुधार्न, महँगी घटाउन र अर्थ व्यवस्था सुधार गर्न सहकारी र निजी क्षेत्रको समन्वय जरुरी छ ।’

निजी क्षेत्र अनुकूलको आर्थिक व्यवस्था नहुँदा देशको अर्थतन्त्र खस्किरहेको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले मुलुकको आर्थिक विकासलाई निकास दिन एमालेको नीति र नेतृत्व अपरिहार्य रहेको जनाए । सरकारमा आफू अर्थमन्त्री भएका बेला निजी क्षेत्र उत्साहित हुने खालको बजेट ल्याएको भन्दै उनले कोभिड महामारीका बेला पनि अर्थतन्त्र कमजोर हुन नदिएको दाबी गरे ।

‘हामीले बजेट ल्याउँदा सबैखाले उद्योगी व्यवसायीले प्रशंसा गरेका थिए । संस्थागतरुपमा त्यो तहको समर्थन बिरलै प्राप्त हुन्छ । तर यसपालि बजेट ल्याउँदा जताततै विरोध भएको थियो,’ उनले भने, ‘अहिले अर्थतन्त्र नै डामाडोल भयो ।’

प्रकाशित : वैशाख २२, २०७९ १६:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×