पहिरोपीडितलाई बासकै चिन्ता

वैशाख २३, २०७९

केदार शिवाकोटी

दोलखा — स्थानीय तह चुनाव नजिकिएसँगै घरदैलोमा भोट माग्न आउने उम्मेदवार बाक्लिएका छन् । उम्मेदवार घरदैलामा मत आफ्नो पक्षमा पार्न दौडधुपमा छन् । गाउँमा चुनावी रमझम उत्कर्षमा पुगे पनि कालिञ्चोक गाउँपालिका–५ का रामकुमार थामीलाई त्यसबारे खासै चासो छैन । बर्खा सुरु हुन लागेकाले उनी कता बास खोज्ने होला भनेर चिन्तित छन् । हरेक वर्ष लापिलाङको रानी बनको पहिरोले धेरैलाई उठिबास लगाउने गरेको छ ।

त्यसैले बर्खा लाग्नुअघि नै पहिरोपीडित अन्यत्रै बास खोज्न लाग्छन् । तर, पहिरोको जोखिममा रहेकाहरूलाई स्थानान्तरण गर्नेबारे हालसम्म कतैबाट कुनै योजना नबनेकाले पनि रामकुमारलाई चुनावको मुखमा गरिएका वाचा पूरा होलान् भन्ने विश्वास छैन ।

‘घरदैलोमा विभिन्न दलका उम्मेदवार भोट माग्न र सहयोग गनुपर्छ भन्दै आइरहेका छन्, हामी भने चुनावभन्दा पनि पहिरोको डरले कता जाने भनेर सोचिरहेका छौं,’ उनले भने, ‘ठूला पहिरो छ, रोकथामको सम्भावना छैन । उम्मेदवारलाई पहिरो रोकथाम गरिदिनुपर्‍यो भनेर भनेका छैनौं । बास व्यवस्थापनको कुरा मात्रै गरिरहेका छौं ।’ रानीवनको पहिरोले पछिल्लो २ बर्खामा १४ घर बगाइसकेको छ । सय परिवारले बस्ती नै छोडिसकेका छन् । कतिपय परिवार अझै पनि चर्किएको घरमा बसिरहेका छन् । ‘हाम्रा दुःख भनिसाध्यै छैनन्,’ उनले असन्तुष्टि पोखे, ‘चुनावमा यो गर्छु र त्यो गर्छु भन्ने आउँछन् तर चुनावपछि मुख देखाउनसमेत आउँदैनन् ।’

कालिञ्चोक गाउँपालिकामा सिमान्तकृत थामी समुदायको बाहुल्य छ । पालिकामा करिब ६० प्रतिशत मत थामी समुदायकै रहेको बताइन्छ । यहाँ कांग्रेस, माओवादी र समाजवादीले गठबन्धन गरेका छन् भने एमाले एक्लै चुनावी मैदानमा छ । गठबन्धनबाट कांग्रेसका अर्जुन शिवाकोटी अध्यक्ष र माओवादीका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा उम्मेदवार छन् । एमालेले अध्यक्षमा गणेश शिवाकोटी र उपाध्यक्षमा थामी सुमदायकै कविता थामीलाई उम्मेदवार बनाएको छ ।

दुवै पक्षले घरदैलो र चुनावीसभालाई तिव्रता दिए पनि थामी समुदायका मतदाता भने सभा र कार्यक्रममा कमै भेटिन्छन् । निरन्तरको वर्षा र असिनाले क्षति पुर्‍याएको गहुँ भित्र्याउनै उनीहरूलाई भ्याइनभ्याइ छ । उम्मेदवारहरूले पुरानै प्रतिबद्धता लिएर आएकाले मतदातामा खासै उत्साह नभएको स्थानीय जयबहादुर थामीले बताए । खाजा पसल खोलेका उनलाई पनि बर्खा लागेपछि पसल बन्द हुने चिन्ता छ । ‘तलमाथि दुवैतिरबाट पहिरोले बस्ती तानिसक्यो । रोकथामका कुनै योजना कसैले ल्याएका छैनन्,’ उनले भने, ‘कम्तीमा पहिरोपीडितलाई स्थानान्तरण गर्ने गरी प्रतिबद्धता ल्याएको भए पनि लापिलाङ रानीवनका पीडितले खुसी मान्थे ।’

स्वास्थ्य, शिक्षामा समेत पिछडिएको थामी समुदायलाई उम्मेदवारले जसरी सम्बोधन गर्छन्, उतै मतदाता आकर्षण हुने उनको ठम्याइ छ । तर, दलहरूका घोषणापत्रमा अधिकांश विगतकै नारा उल्लेख छन् । ‘भोट माग्न दिनदिनै उम्मेदवार धाइरहेका छन् तर मन छुने प्रतिबद्धता छैनन्,’ स्थानीय पविमाया थामीले भनिन्, ‘म उठेको छु योपल्ट सहयोग गर्नुपर्‍यो मात्र भन्छन् ।’

स्थानीय तह निर्वाचन २०७९

केदार

Link copied successfully