सधैं निर्विरोध हुने मनाङ

स्वतन्त्र उम्मेदवारलाई निर्विरोध जिताउँदा राजनीतिलाई लिएर झैझगडा नहुने र समाज सधैं मिलेर बस्ने जनप्रतिनिधि बताउँछन्

वैशाख १९, २०७९

आश गुरुङ

लमजुङ — संघीय संरचनापछिको पहिलो स्थानीय तह निर्वाचनमा मनाङ ङिस्याङ गाउँपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्ण लामा निर्विरोध निर्वाचित भए । तिनै लामा यसपटक पनि वडाध्यक्षमा निर्विरोध भएका छन् । नार्पाभूमि गाउँपालिका–५ फू गाउँका सोनम तेजे लामा गत निर्वाचनमा स्वतन्त्रबाट निर्विरोध भए भने यसपटक पनि वडाध्यक्षमा निर्विरोध नै भए ।

नार्पाभूमिको उपाध्यक्षमा स्वतन्त्रका कोन्जो तेन्जिङ लामा निर्विरोध भएका थिए । उनी पछि कांग्रेस प्रवेश गरे । यसपटक एमालेका मिङमर फुन्चो लामा निर्विरोध भएका छन् । यसपटक तिनै लामा कांग्रेसबाट र स्वतन्त्रबाट मिङमर सोनम लामा चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा नार्पाभूमि–४ मा स्वतन्त्रका छिरिङ डेन्डो घले निर्विरोध निर्वाचित भएका थिए ।

यसपटक कर्म ग्याङ्जे लामा निर्विरोध भए । मनाङ ङिस्याङ गाउँपालिका–९ मा गत चुनावमा स्वतन्त्रबाट रिन्जेन धोर्जे गुरुङसहित सिंगो वडा निर्विरोध निर्वाचित भएको थियो । त्यतिबेला स्वतन्त्रबाट निर्विरोध निर्वाचित वडा सदस्य च्योल्पा गुरुङ अहिले वडाध्यक्षमा स्वतन्त्रबाट निर्विरोध भएका छन् । उनीसहित सिंगो वडा निर्विरोध भएका छन् ।

यसपटक मनाङमा ६१ पदमा निर्विरोध भएकामा २२ जना स्वतन्त्रबाट छन् । गत चुनावमा चामे गाउँपालिका–१ र २ को वडाध्यक्षमा स्वतन्त्रका उम्मेदवार निर्विरोध भएका थिए । यसपटक भने हुन सकेन । यसपटक नासों–५ मा १ महिला सदस्य स्वतन्त्रमा निर्विरोध भएकी छन् । मनाङ ङिस्याङ–३ मा वडाध्यक्षसहित ४ जना स्वतन्त्रका निर्विरोध भएका छन् ।

नार्पाभूमि–१ मा १ खुला सदस्य स्वतन्त्रबाट निर्विरोध भएका छन् । वडा २ मा महिला र २ जना खुला सदस्य गरी ३ स्वतन्त्रका उम्मेदवार निर्विरोध भएका छन् । वडा ३ मा महिला र खुला गरी २ सदस्य स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडा ४ मा अध्यक्ष, महिला र १ जना खुला गरी ३ जना स्वतन्त्रका उम्मेदवार निर्विरोध भएका छन् । वडा ५ मा पनि वडाध्यक्ष, महिला र खुला १ जना सदस्य स्वतन्त्रबाट निर्विरोध भएका छन् ।

निर्वाचित मात्र नभएर स्वतन्त्र उम्मेदवार कतै एमाले र कतै कांग्रेससँग चुनावी मैदानमा छन् । नासों गाउँपालिका उपाध्यक्षमा अर्विन गुरुङ र मनाङ ङिस्याङ गाउँपालिका उपाध्यक्षमा छिरिङ गुरुङ स्वतन्त्र उम्मेदवार उठेका छन् । मनाङ ङिस्याङ–९ मा स्वतन्त्रबाट वडाध्यक्षमा निर्विरोध च्योल्पा गुरुङले गाउँमा राजनीतिक हावी हुन नदिन गाउँले मिलेर स्वतन्त्र उम्मेदवार उठाउने र निर्वाचित गराउने गरेको बताए ।

‘यहाँ सबैजना राजनीतिक आस्थाका हुन सक्छन्, कोही नहुन पनि सक्छन् । गाउँले मिलेर अध्यक्ष, वडा सदस्य चुन्ने गरेका छौं । त्यहीअनुसार उम्मेदवारी दर्ता हुँदै आएको छ,’ उनले भने, ‘यसो गर्दा गाउँमा राजनीतिको विषयलाई लिएर झैंझगडा हुँदैन । गाउँले समाज सधैं मिलेर बस्छ र विकास निर्माणमा एकजुट हुन्छ ।

एमाले अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले मनाङमा पारिवारिक राजनीति भएकाले कसैले मन नदुखाउन स्वतन्त्र रोजेका हुन् । ‘स्वतन्त्र रोज्नु भनेको त्यो ठाउँमा कुनै राजनीतिक दलबीच मनमुटाव छैन । सबै एक छौं भन्ने हो,’ उनले भने । उनका अनुसार गाउँमा राजनीतिक ध्रुवीकरण नहुँदा विकास निर्माणमा सहज हुने भएकाले पनि गाउँबाटै उम्मेदवारलाई स्वतन्त्र बनाइएको उनले बताए । 

कांग्रेस मनाङका पूर्वसभापति एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङका अनुसार कुनै पार्टीसँग असन्तुष्टि नभई स्वतस्फूर्त रूपमा स्वतन्त्रबाट उठ्ने र निर्विरोध हुने बताए ।

‘माथिल्लो भेगमा फेमिली राजनीति छ । एउटा पार्टीको भएर उठ्यो अर्को रिसाउने, अर्को भए अर्कै रिसाउने एक खालको डर परिवारभित्र छ । बरु परिवार परिवार मिलेर स्वतन्त्रमा उठ्यो । राजनीतिक दलबाट कोही नउठिदिएपछि सर्वसम्मत भयो,’ उनले भने । सकेसम्म सबै जना मिल्नुपर्छ भन्ने मान्यता राखिने र मिल्नकै लागि सबै मिलेर स्वतन्त्रबाट वडाध्यक्ष र सदस्यहरू निर्विरोध भएका उनले बताए । 

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully