वीरेन्द्रनगर — जस्ता पाता र खरले छाएका साना–साना ३० घर । बिहान बेलुकीको छाक टान मुख्य आयस्रोत गिट्टीबालुवा । चरम गरिबी र अभावले पिरोलिएको वस्ती हो ‘बालुवाटार’ । यो संघीय राजधानी काठमाडौंमा रहेको बालुवाटारजस्तो अत्याधुनिक सुविधाले भरिपूर्ण छैन । कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार धुलियाबिटदेखि करिब आधा घण्टा उत्तर–पूर्वतर्फ ओरालो झरेपछि जंगलले घेरिएको बस्ती भेटिन्छ ‘बालुवाटार’ । जसको छेउमा छ झुप्रा खोला ।
प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको यो बस्तीमा करिब एक सय ५० जनाको जनसंख्या छ । करिब ९८ प्रतिशत गन्धर्व जातीको बसोबास रहेको बालुवाटार बस्ती निर्वाचनको बेलामा मात्रै सबैको आँखामा पर्छ । बालुवाटारवासीले वर्षौँदेखि भोग्दै आएको अभाव अहिले पनि उस्तै छ ।
यसअघि ०७४ सालको स्थानीय तहको चुनावभन्दा अघिकै चुनावदेखि नै भोट माग्न आउने नेताले शिक्षा, स्वास्थ्य, रोजगार, सडक सबै पुर्यादिने वाचा गरे । बालुवाटारवासीले पनि भोट माग्न आएका नेतालाई भोट पनि हालेर जिताए । तर उनीहरूका समस्या ज्यूँका त्यूँ नै छन् । उनीहरूको बस्तीमा नत सडक, बत्ती पुगेको छ नत सामान्य उपचार र शिक्षा सहजै पाउन सकेका छन् । यहाँका वासिन्दालाई सधैं पिरोलिरहने पीडा हो– लालपूर्जा । ०३९ सालदेखि सुर्खेतको चिंगाडदेखि धुुुुुलियाबिट हुँदै ‘बालुवाटार’ झरेका यी वासिन्दाले आफू बसेको ठाउँलाई आफ्नो भन्न पाएका छैनन् ।
आफूले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफ्नो कहिले बन्ला भन्ने पर्खाइमै रहेको स्थानीय भीमबहादुर गन्धर्वले बताए । ०३९ सालदेखि बालुवाटार बस्दै आएका उनी भन्छन्, ‘अब त आश मरिसक्यो, हामीलाई फेरि आस देखाउन नेताहरू गाउँ पस्न थालिसकेका छन् ।’
अघिल्लो चुनावमा लालपुर्जा, सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलगायत आशमा सबै दलको झन्डा बोकेका बालुवाटारवासीलाई अहिले भने नेताका खोक्रा आश्वासनले छोएकै छैन । ‘हाम्रो बस्ती पनि सुगम होला भन्ने आसमा कुन दललाई भोट दिएनौं ?, कुन दलको झन्डा बोकेनौं ?,’ सोही बस्तीका ५६ वर्षीय चित्रबहादुर बैगार भन्छन्, ‘अब यसपटक पनि चुनाव जितेपछि हाम्रो बस्तीलाई र हामीलाई चटक्क बिर्सन्छन् फेरि अर्को चुनावमा आउँछन् ।’
पहिलो कार्यकाल सिकाइको कार्यकाल भनेका वीरेन्द्रनगरका स्थानीय जनप्रतिनिधिहरूले बाटो, विद्यालय र स्वास्थ्यलाई विकासको सूचक मानेका छन् । तर प्रदेश राजधानीको प्रवेशद्वार नजिक पक्की सडकबाट ओर्लिनेबित्तिकै देखिने नागरिकको अवस्था भयावह छ । ‘नेताहरू देख्दा पनि रिस उठ्छ,’ बस्तीका सुनिल परियार भन्छन्, ‘हामीलाई चुनावका बेला ज्यू हजुर गर्नेहरू पछि हाम्रा दुःख सुन्नै आउँदैनन्, यस्तालाई किन भोट दिएर जिताउने ?’
०७४ को स्थानीय तहको चुनावमा भोट माग्न यस वस्तीमा आउने नेताहरूले सडक, शिक्षा, स्वास्थ्य, बत्ती, रोजगारलगायत पुर्याउने वाचा गरे । ‘कति सधैं झूट बोल्छन् नेताहरू ?,’ स्थानीय गीता सुनार भन्छिन्, ‘अब त हामीलाई फेरि पहिलेकै कुराको आशा नदेखाए पनि हुन्छ, हाम्रो दुःख बुझ्नेभन्दा पनि कमजोरीको फाइदा उठाउने नेता मात्रै आउँछन् ।’
यसपटकको चुनावमा आफ्ना समस्याको सम्बोधन नगर्ने पार्टी र नेतालाई बहिष्कार गर्ने उनीहरूको चेतावनी छ । बालुवा बेच्ने पेसा भएकै कारण बस्तीका भीमबहादुर गन्धर्वले यस ठाउँको नाम बालुवाटार राखिदिएका हुन् । बालुवाटार बस्तीमा कोही पनि युवाहरू देखिँदैनन् । उनीहरू सबै जीविका चलाउन कालापहाड जाने गरेका छन् ।
गाउँमै बसेर केही गरिखाने बाटो नभएपछि युवाहरू भारत नै जानुपरेको सुनाउँछन् २२ वर्षीय सुनील परियार । गन्धर्वबस्तीमा लामो समयदेखि शिक्षा, स्वास्थ्य र सडकको समस्या छ । स्कुल पढ्ने उमेरका झण्डै ३० बालबालिका नजिक विद्यालय नहुँदा डेढ घण्टा जंगलको बाटो हिँडेर धुलियाबिटस्थित शिव माध्यमिक विद्यालयमा आउँछन् । टाढा र जंगलको बाटो भएका कारण अधिकांश बालबालिकाको पढाइ अनियमित छ । वीरेन्द्रनगरभित्रकै बस्ती भए पनि सडक पुग्न आधा घण्टा जंगलकै बाटो हिँड्नुपर्छ ।
