घोषणापत्रको प्राथमिकतामा युवा स्वरोजगार

सीपमूलक तालिम, स्टार्टअपलाई सहुलियतदेखि बिनाधितो ऋणसम्मका आकर्षक योजना

वैशाख १९, २०७९

दीपक परियार

पोखरा — पोखरा महानगरको प्रमुखका उम्मेदवारले आफ्नो घोषणापत्रमा युवा स्वरोजगारलाई प्राथमिकतामा राखेका छन् । सीपमूलक तालिम, स्टार्टअपलाई सहुलियतदेखि बिनाधितो ऋणसम्मका आकर्षक योजना समेटिएका छन् । उम्मेदवारले आइतबार पोखरा–२४ कास्कीकोटमा आयोजित ‘मेरो उम्मेदवारी, योजना तथा प्रतिबद्धता’ प्रस्तुतीकरण कार्यक्रममा युवालाई प्राथमिकतामा राखेर महानगर हाँक्ने बताए । 

सत्तापक्षीय गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले परियोजना धितोमा युवा व्यवसायीलाई स्टार्टअपका लागि १० लाख रुपैयाँसम्म बीउ पुँजीस्वरूप ऋण लगानी गरिने बताए । ‘जग्गाजमिन धितो राखेर ऋण लिएर व्यवसाय गर्दैमा देश बन्दैन,’ उनले भने, ‘युवाले सामूहिक वा एकल परियोजना तयार गरे त्यसैमा लगानी गर्न सकिन्छ । उनले आफू निर्वाचित भएको ६ महिनाभित्र उक्त काम गर्ने प्रतिबद्धता जनाए ।

पहिलो ६ महिनामा ३ हजार रोजगार थप गर्न सक्षम पोखरा परियोजना सञ्चालन गर्ने योजना घोषणापत्रमा समेटिएको छ । परियोजनाअन्तर्गत माध्यमिक तहको अध्ययन सकाएका पोखराका युवालाई भाषा, होटल म्यानेजमेन्ट, मोबाइल मर्मत, कृषि स्रोत व्यक्ति, जडिबुटी संकलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेरिनरी, इम्ब्रोइडरी, ग्राफिक्स डिजाइन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटर आदि जस्ता सीपसँगै रोजगारी र उद्यमशीलता विकास गरिने जनाइएको छ । दक्ष जनशक्तिलाई स्थानीयस्तरमा परिचालन गर्न विशेष महानगर स्वरोजगार कार्यक्रम ल्याइने उम्मेदवार आचार्यले बताए । 

एमालेबाट प्रमुखका प्रत्याशी कृष्णबहादुर थापाले महानगरका युवालाई प्राविधिक तथा व्यावसायिक तालिम दिई स्वरोजगारको अवसर सिर्जना गरी तालिमको प्रमाणपत्रका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने बताए । उनको घोषणापत्रमा बिनाधितो ऋण उपलब्ध गराउन संघ र प्रदेशको समन्वयमा आवश्यक व्यवस्था मिलाउने उल्लेख छ । उनले युवाको आवश्यकता हेरेर तालिम दिने र स्वरोजगार बनाउने योजना सुनाए । ‘बेरोजगार युवाको लगत संकलन गरी योग्यता र क्षमताअनुसारको सीप प्रदान गर्न व्यावसायिक तथा प्राविधिक तालिम दिई उपलब्ध अवसरमा प्राथमिकता दिइनेछ,’ उनले भने, ‘बेरोजगार युवालाई आवश्यक तालिम, सीप, प्रविधि, अनुदान र सहुलियत ऋणको व्यवस्था गरी स्वरोजगारीमा प्रोत्साहित गरी रोजगारी सिर्जना गर्ने उद्योग, व्यवसाय र सेवालाई कर छुटको व्यवस्था गरिनेछ ।’

स्वतन्त्र उम्मेदवारी दिएका अटेरी समूहका खड्कराज पौडेल (गनेस) ले वार्षिक रूपमा महानगरीय स्टार्टअप क्याम्प सञ्चालन गरी युवा व्यवसायीलाई सहुलियत ऋण तथा अनुदान दिने व्यवस्था गर्ने बताए । ‘युवाको कल्पनाशीलताले जन्माउने नवीन व्यवसाय लगानी जुटाउन विशेष लगानी कोषको स्थापना गर्नेछौं,’ उनले भने, ‘महानगरभित्रका सहकारी परिचालन गरी वर्षैभरि निःशुल्क सीपमूलक र व्यावसायिक तालिम प्रदान गर्ने व्यवस्था गर्नेछौं ।’

सीपकै अभावमा कुनै पनि व्यक्ति बरोजगार बस्नु नपरोस् भन्ने कुराको सुनिश्चितता गर्न सहकारी परिचालन गरी अनुदान तथा सहुलियत ऋणसमेत उपलब्ध गराउने उनको घोषणापत्रमा उल्लेख छ । 

राप्रपाबाट मेयरका प्रत्याशी शंकर खरालले बेरोजगार युवालाई नागरिकता र दक्षताको आधारमा बिनाधितो न्यूनतम ब्याजदरमा ऋण प्रवाह गरी आत्मनिर्भर बनाइने बताए । 

ग्रामीण वडामा पूर्वाधारमा लगानी

तत्कालीन पोखरा उपमहानगरपालिकामा १८ वडा थिए । लेखनाथ नगरपालिका र १७ गाविस थपिएर महानगर बन्यो । भूगोलको हिसाबले पोखरा देशकै ठूलो महानगर हो । तत्कालीन कास्कीकोट गाविस पोखरामा गाभिएर २४ नम्बर वडा बन्यो । ०७४ को चुनावपछि पाँच वर्षको अवधिमा महानगरका सहरी वडामा जत्तिकै विकास ग्रामीण वडामा पुगेन । प्रमुखका प्रत्याशी आचार्यले आफू निर्वाचित भएपछि पूर्वाधार विकासमा ग्रामीण वडालाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

‘हामी निर्वाचित भएर आएको पाँच वर्षमा सबै धुले बाटो कालोपत्र भइसक्नेछन्,’ उनले भने । पोखराको मुख्य बजारमा चाप घटाउन ग्रामीण इलाकामा ‘स्याटलाइट सहर’ बनाउने उनले बताए । भने, ‘पोखरा वरपरका गाउँ अब विकसित देशका पहाडी सहरजस्तै बनाउँछौं ।’ 

अर्का प्रत्याशी एमालेका थापाले ग्रामीण वडालाई भौगोलिक रूपमा सुगम बनाइने बताए । अनलाइन सेवालाई प्राथमिकतामा राखी सेवा, सुविधा र सेवा वितरणलाई ग्रामीण वडामा केन्द्रित गर्ने उनले सुनाए । राप्रपाका शंकर खरालले महानगरभित्रका ग्रामीण इलाकालाई समेट बृहत् चक्रपथ निर्माणको योजना सुनाए । अटेरी उम्मेदवार पौडेलले पोखरेली सर्जकहरूको अगुवाइमा महानगरको ग्रामीण क्षेत्रको कुनै एक वडामा सिर्जनाग्रामको स्थापना गरिने बताए । 

पोखराको सिर्जनात्मक चिनारी र वाङ्मयिक पर्यटनलाई प्रवर्द्धन गर्ने गरी बनाइने सिर्जनाग्राम ऐतिहासिक थलो कास्कीकोटमा समेत हुन सक्ने उल्लेख गरे । कार्यक्रममा पोखरा–२४ मा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार भरतबहादुर अधिकारी र एमालेका उम्मेदवार रामचन्द्र थापाले कास्कीकोटको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । कास्कीकोट युवा सञ्जालका अध्यक्ष शालिकराम गिरीले साझा मुद्दामा उम्मेदवारलाई एक ठाउँ उभ्याउन कार्यक्रम आयोजना गरेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully