गोरखा — पालुङटार नगरपालिकामा कांग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार दीपकबाबु कँडेललाई ‘ब्याक’ हुन दबाब बढेको छ । कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले कँडेलको उम्मेदवारी फिर्ताको पत्र पठाएपछि तरंगित बनेको पालुङटार राजनीतिक अझै सेलाएको छैन । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कँडेलले चुनावी तालमेल गर्ने पार्टीको निर्णयप्रति आफू इमानदार रहेको बताए ।
विज्ञप्तिमा भनिएको छ ‘सरकारमा सहभागी पाँच दलविच भएको सहमति र निर्णयअनुसार गठबन्धनमा रहेका दलबीच स्थानीय तहमा चुनावी तालमेल र सिट बाँडफाँट गर्ने निर्णय भएअनुसार कांग्रेसले पालुङटारको प्रमुख पदमा मलाई उम्मेदवार बनाएको भए तापनि पछिल्लो निर्णयलाई स्वीकार गरी कार्यान्वयन गर्न अनुरोध गर्दछु ।’
उक्त विज्ञप्ति डा. बाबुराम भट्टराईको फेसबुक पेजबाट सार्वजनिक भएको थियो । छलफलकै क्रममा विज्ञप्ति आएकोमा भने कँडेलले आपत्ति जनाएका छन् । ‘केन्द्रीय कार्यसमितिको निर्णय मान्छु भनेको हुँ,’ उनले भने, ‘यसलाई बदनियतपूर्ण तवरले प्रचार गर्न खोजिएको छ, यो बाबुरामको बेइमानी र केही मान्छेको लाचारीपन हो ।’ उम्मेदवारीको विषय पेचिलो बनेपछि कँडेल आइतबार काठमाडौं पुगेका छन् ।
कांग्रेस कार्यकर्ता भने कँडेललाई हटाउन लागिएकोमा असन्तुष्ट छन् । उम्मेदवारी फिर्ता गर्न नहुनेमा उपप्रमुखसहित अन्य उम्मेदवार रहेको पालुङटारका कांग्रेस नगर सचिव किरण गिरीले बताए । ‘पार्टीको आधिकारिक धारणा पनि आएको छैन, फेसबुक पेजमा आएको विज्ञप्ति आधिकारिक होइन,’ उनले भने, ‘कांग्रेसबाट उम्मेदवार बनेकाहरू भेला भएका छन्, प्रमुख पदको उम्मेदवारलाई ब्याक गराए सबै उम्मेदवारले राजीनामा दिनेसम्मको छलफल चलेको छ ।’
पालुङटारको प्रमुखमा तालमेल गरी जसपाबाट उम्मेदवार बनेका प्रेम गुरुङलाई सघाउन भट्टराईले कांग्रेस सभापति देउवालाई दबाब दिँदै आएका थिए । शुक्रबार देउवाद्वारा हस्ताक्षरित उम्मेदवारी फिर्ताको पत्र समय घर्किर्एपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि कँडेलको उम्मेदवारी कायम भएको थियो । पालुङटारको नगर प्रमुख पदमा कांग्रेसबाट कँडेल, जसपाबाट गुरुङ, नेकपा माओवादी केन्द्रबाट विवश चिन्तन र नेकपा एमालेबाट हरि भट्ट उम्मेदवार छन् । पालुङटारमा सक्ता गठबन्धनभित्रकै जसपा र नेपाली कांग्रेसबीच तालमेलका लागि देउवा र भट्टराईले आन्तरिक सहमति गरेका हुन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशनको दिन जसपा नेता भट्टराईले कांग्रेस सभापति देउवालाई गृहनगर पालुङटारको प्रमुखमा जसपाका उम्मेदवारलाई साझा बनाउन आग्रह गरे । भट्टराईको आग्रहमा देउवाले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २३(५) बमोजिम फिर्ता लिएको पत्र निर्वाचन अधिकृतको कार्यालय पठाएका हुन् ।
केन्द्रमा देउवासँग कुराकानीपछि जसपाका तर्फबाट उपप्रमुखमा उम्मेदवारी दिएकी नारायणी अधिकारीले भने शुक्रबार उम्मेदवारी फिर्ता लिएकी छन् । पालुङटारको उपप्रमुखमा कांग्रेसका तर्फबाट भने चेतकुमारी श्रेष्ठ उम्मेदवार छिन् । जिल्लामा सत्तारूढ दलबीच भागबन्डा नमिलेपछि चुनावी तालमेल भाँडिएको थियो । बाबुराम भट्टराईको गृहनगरसमेत रहेको पालुङटारको प्रमुख पदको उम्मेदवारीलाई जसपाले ‘बटमलाइन’ बनाउँदै आएको थियो । तालमेल भाँडिएपछि भने ११ वटै पालिकामा सत्तारूढ दलले एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका हुन् ।
