‘चुनाव यति धेरै महँगो भएको छ कि जितेपछि विकास गर्ने कि लगानी असुल गर्ने भन्नेमै उम्मेदवारका ५ वर्ष बित्न सक्छन्’
डडेलधुरा र डोटी — गत स्थानीय तह निर्वाचनमा प्रमुख मुद्दा बनेका ५ वर्षमै समृद्धि, स्मार्ट सिटी, स्मार्ट भिलेज, टोलटोलमा मोटर बाटो, उत्पादन दोब्बर, घरघरमा रोजगार, नमुना विद्यालय, टोलटोलमा बिजुली, घरघरमा धारा, एक गाउँ एक उत्पादन जस्ता लोकप्रिय नारा यसपटकका निर्वाचनमा देखिएका छैनन् ।
यस्ता नारा लगाउने उम्मेदवारलाई मतदाताले उपेक्षासमेत गरेको पाइएको छ । मतदाता सिधै भन्छन्, ‘पहिलेकाले समृद्धि ल्याए अब तपाईंहरूको समृद्ध हुने पालो ।’ मतदाताले विकास र समृद्धिका नारा भन्दा असल व्यक्ति हेर्न थालेको प्रतिक्रिया दिन थालेका छन् ।
श्याम भण्डारीले गत स्थानीय तह निर्वाचनमा मुद्दामा आधारित भएर मतदान गरेका थिए । डडेलधुराको अजयमेरु गाउँपालिका—१ का भण्डारीलाई साँच्चै मुद्दाअनुसार जनप्रतिनिधिले काम गर्लान् भन्ने आशा थियो । एक वर्ष नबित्दै उनको त्यो धारणा परिवर्तन भयो । जितेका जनप्रतिनिधिले कमाउ बाटो समाते भने हारेका गाउँ कहिल्यै फर्केनन् । यस पटक उनी उम्मेदवारमध्ये तुलनात्मक रूपमा असल चरित्र भएको व्यक्तिलाई मत हाल्ने मुडमा छन् । आफ्नो वडामा राम्रो प्रभाव राख्ने भण्डारीको प्रचार पनि त्यस्तै छ, ‘उम्मेदवारमध्ये राम्रालाई मत हालौं पार्टी न हेरौं ।’ भण्डारी भन्छन्, ‘जो आए पनि उस्तै रहेछन् भन्ने उखान सार्थक गरेर गएका जनप्रतिनिधिले अहिलेको उम्मेदवारलाई पनि नराम्ररी प्रभावित पारेका छन् ।’
कस्ता उम्मेदवारलाई भोट दिने भन्ने पनि मतदाताले सोच बनाएका छन् । ‘उम्मेदवारमध्ये कम बदमासी गर्नेलाई मत दिनुपर्छ’ वानडुंग्रीसैन डोटीका युवा मतदाता हरि बलायर हाँस्दै भन्छन्, ‘गएका जनप्रतिनिधिको बदमासीले विकासका मुद्दा सर्वसाधारणले पत्याउनै छोडेका छन् ।’ ‘उम्मेदवारले आफूले जितेमा यसो गर्छु भन्दा मतदाता हाँस्छन् र भन्छन्, हिजोकाले गरे अब तपाईंहरूको पालो ?’ धनगढीमा पढ्दै गरेका बलायरले भने, ‘मतदाता विकासका मुद्दाभन्दा जातीय, क्षेत्रीय र वर्गीय हिसाबमा मतदान गर्ने मुडमा देखिएका छन् ।’ भोट नहाले पनि नहुने हाल्नुपर्दा सबै अनुहार उस्तै उनी भन्छन्, ‘काम गर्ने कोही होइन न त्योभन्दा आफू नजिक आफ्नो वर्ग क्षेत्र वा जातको व्यक्तिलाई मत दिनुपर्छ भन्ने आम मानसिकता बनेको देखिएको छ ।’
डोटी र डडेलधुराका भिन्दाभिन्दै गाउँका दुई मतदाता उदाहरण मात्र हुन् । यस पटकको निर्वाचनमा विकासका कुरा गर्न उम्मेदवारलाई वास्तवमै समस्या भएको छ । अघिल्ला निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले दिएका एउटा पनि नारा सार्थक हुन नसकेको देखेका मतदाता यस पटक यस्ता विकासे मुद्दा उम्मेदवारको चुनाव जित्ने दाउका रूपमा मात्र बुझ्न थालेका छन् ।
‘हुन पनि अघिल्लो चुनावका उम्मेदवारले कुनै नारा बाँकी पनि छोडेनन्’ डोटी दानकोट बिठ्याइँका राम अवस्थी भन्छन्, ‘नारा ठूला–ठूला दिएकाहरूले एउटा पनि गरेनन, आफ्नो र आफन्तको समृद्धि वाहेक वितेको ५ वर्षमा डाँडाकाँडामा डोजर चलाउने काम मात्र भयो ।’ जनप्रतिनिधि भएपछि फेरिएको जीवनशैली र सुरु गरेको कमाउ धन्दाबाहेक अरू नदेखेका सर्वसाधारण जतिसुकै पवित्र भावनाले विकासका मुद्दा लगेर जाँदा पनि पत्याइहाल्ने पक्षमा नरहेको पनि अवस्थीले बताए ।
गत निर्वाचनमा एमालेबाट उपाध्यक्षमा थोरै मतले पराजित भएकी डडेलधुरा भागेश्वर गाउँपालिकाकी नेत्री कमला माली अहिलेका उम्मेदवारका चुनावी मुद्दाबाट आशा गर्न नसकिने बताउँछिन् । उनी भन्छिन्, ‘चुनाव यति धेरै महँगो भएको छ कि जितेपछि विकास गर्ने कि लगानी असुल गर्ने भन्नेमै उम्मेदवारका ५ वर्ष बित्न सक्छन् ।’ राजनीति सेवामुखीभन्दा व्यापारमुखी भएकाले चुनावी मुद्दाको खासै महत्त्व नरहेको पनि उनको बुझाइ छ । मालीले भनिन्, ‘मतदातालाई राम्रै र योग्य उम्मेदवारले आफू केही गर्छु भने पनि विश्वास दिलाउन सकिने अवस्था देखिँदैन ।’
७ स्थानीय तह रहेको डडेलधुरा र ९ स्थानीय तह रहेको डोटीमा अधिकांश पालिका अहिले पनि दुर्गम नै छन् । मोटर बाटोका ट्र्याक खुले पनि ग्रामीण भेगमा यातायातको पहुँच हुन सकेको छैन । डोटीका ९ वटै स्थानीय तहमध्ये दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालगायत सबै स्थानीय तहमा विकासका मुद्दा विगत जस्तै छन् ।
डडेलधुरामा त सदरमुकाम रहेको अमरगढी नगरपालिकामा समेत धेरैजसो विकासका मुद्दा उस्तै छन् । अहिलेसम्म नगरपालिकाका सबै वडामा खानेपानीको समस्यासमेत हल हुन सकेको छैन । नमुना विद्यालय स्थापना, सदरमुकामको बाटो चौडा गर्ने, प्राविधिक विद्यालय खोल्ने, सदरमुकाममा सडक बत्ती, घरघरमा पानीका धारा जस्ता जनप्रतिनिधिले लगाएका नारामध्ये एउटा पनि पूरा भएको देखिँदैन । दुवै जिल्लाका सदरमुकाम रहेका पालिकाको यस्तो अवस्था छ भने ग्रामीण भेगका स्थानीय तहमा विकासका मुद्दामा जनप्रतिनिधिले के गरे होलान् ? अनुमान मात्र लगाउन सकिन्छ । एक शिक्षक रामदत्त जोशीले भने, ‘कसरी चुनाव जित्ने भन्ने सकस उम्मेदवारलाई छ भने विकासका मुद्दा पत्याएर मत दिने कि आफूअनुकूल उम्मेदवारलाई मत दिने भन्ने सकस मतदातालाई रहेको देख्न सकिन्छ ।’
