घरदैलोमा भोट माग्दै उम्मेदवार

उम्मेदवारहरुले अनलाइन, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जालको पनि प्रयोग गरेका छन्

वैशाख १९, २०७९

हरि गौतम, ज्योति कटुवाल

सुर्खेत, रुकुम पश्चिम — स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उम्मेदवारहरू आफ्ना घोषणापत्र र प्रचारप्रसार सामग्रीसहित कार्यकर्ताको हुल बाँधेर घरदैलोमा जुटेका हुन् ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको प्रमुख/उपप्रमुख तथा वडाध्यक्ष र सदस्यमा ४ सय ४७ जनाको उम्मेदवारी परेको छ । सबै उम्मेदवारहरू बिहान सबेरैदेखि राति अबेरसम्म दलका झण्डा, उम्मेदवारहरूको फोटो र निर्वाचन चिन्ह बोकेर मतदाताको घरघरमा पसिरहेका हुन् । यो पटक विभिन्न अनलाइन, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाललाई पनि उम्मेदवारले प्रयोग गरिरहेका छन् । सत्ता गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संयुक्त घरदैलोमा पनि जोड दिएका छन् भने एमाले एक्लै घरदैलोमा जुटेको छ । 

आफ्ना उम्मेदवारलाई विजयी गराउन घरदैलो अभियानलाई तीव्र बनाइएको कांग्रेस जिल्ला सचिव देवकुमार सुवेदीले बताए । ‘दिगो सहरी विकासको योजना, सहरी स्वास्थ्य पूर्वाधार, भेरी लिफ्टिङलगाययतलाई प्रमुख चुनावी एजेन्डा बनाएका छौं,’ उनले भने, ‘गठबन्धन भएका नगर र वडामा संयुक्त रूपमा प्रचार थालिएको छ ।’ सबै टोल समितिलाई सक्रिय बनाएर उम्मेदवारसहित घरदैलो गर्ने काममा जोड दिइएको उनले जानकारी दिए । 

एमालेले नगरभरि जनसभा र कोणसभालगायतका कार्यक्रमलाई तीव्र बनाएको वीरेन्द्रनगर नगरपालिका प्रमुखकी उम्मेदवार मोहनमाया ढकालले बताइन् । ‘ज्येष्ठ नागरिकलाई हात–हातमा भत्ता नै हाम्रो मुख्य एजेण्डा हो,’ उनले भनिन्, ‘यसअघि नगर उप्रमुख भएर कामकाज गरेकाले धेरै कुराको अनुभव मसँग छ, सुकुम्बासी समस्या समाधान र व्यवस्थित सहरीकरणलाई पनि एजेन्डामा प्राथमिकता दिएका छौं ।’ 

सभापति र अध्यक्षबीच प्रतिष्ठाको लडाइँ

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१२ मा अन्तभन्दा बढी नै चुनावको चर्चा छ । किनकि यहाँ २ पार्टीका नगर प्रमुखहरू चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसका नगर सभापति प्रेमबहादुर ओली र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष धिरन सिर्पालीबीच मुसीकोट–१२ को वडाध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो । यो वडामा २०७४ लको स्थानीय तहको निर्वाचनमा पनि यिनै दुईबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेलाको परिणाम ओलीको पक्षमा गएको थियो । ओलीले सिर्पालीलाई २३ मतले पराजित गरेका थिए । ओलीको पक्षमा ३ सय ५ मत आउँदा सिर्पालीको २ सय ८२ मत मात्रै आएको थियो । बाँकी ४ जना सदस्य भने सिर्पाली प्यानलले जितेको थियो ।

त्यसबेला दुवै जना पार्टीको नगर प्रमुखको जिम्मेवारीमा थिएनन् । यी दुवैले कार्यपालिकामा पनि सहकार्य गरेका छन् । ओली वडाबाट निर्वाचित भएर आए भने सिर्पाली कार्यपालिकामा मनोनीत भएका हुन् । व्यक्तिगत रूपमा भने दुवै जनाको सम्बन्ध राम्रो छ । सामाजिक रूपमा पनि दुवै जना लोकप्रिय मानिन्छन् । वडामा कांग्रेस–एमालेको गठबन्धन छ । कांग्रेसबाट सभापति ओली वडाध्यक्ष र अरू २ जना सदस्य छन् । एमालेका २ जना सदस्य उठेका छन् । माओवादीलाई एकीकृत समाजवादीले सहयोग गरेको छ । माओवादीका तर्फका उम्मेदवार सिर्पालीले निर्वाचनमा उही पात्र र उही भूगोलमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताए ।

लोकतन्त्रको सुन्दर पक्ष भनेकै एकै भूगोल र एक पात्रबीचको प्रतिस्पर्धा भएको ओलीले बताए । ‘मेरो पार्टीले मलाई टिकट दिएर पठायो, उहाँको पार्टीबाट फेरि उहाँ नै आउनुभयो,’ उनले भने, ‘बाँकी कुरा मतदानले देखाउला ।’ वडामा १ हजार २ सय ३० मतदाता छन् ।

स्थानीय तह निर्वाचन २०७९

हरि

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully