बैतडी — बैतडीमा कांग्रेसले १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । सबै स्थानीय तहमा सोमबार दिउँसो उम्मेदवारी दर्ता भएको नेपाली कांग्रेसका कार्यालय सचिव अनिलकुमार विष्टले बताए ।
जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको मेयरमा गजेन्द्रसिंह रावल र उपमेयरमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालय गढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दर्ता गराएका रावल दशरथचन्द नगरपालिका–६ का वडाध्यक्ष थिए । चन्द भने विद्यालयमा पढाउँथिन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारले जितेका थिए ।
पाटन नगरपालिकाको मेयरमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ ।माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको कांग्रेसले उपमेयर माओवादीलाई दिएको छ । मेलौली नगरपालिकाको मेयरमा प्रेमबहादुर चन्द र उपमेयरमा पार्वती विष्टले उम्मेदवारी दर्ता गराएका छन् । पुर्चौंडी नगरपालिकाको मेयरमा दीपकबहादुर बम र उपमेयरमा मीना धानुकले उम्मेदवारी दर्ता गराएका छन् ।
सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा अध्यक्षमा जितेका थिए । उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो ।
सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराले उम्मेदवारी दर्ता गराएका छन् ।
शिवनाथ गाउँपालिकामा कर्णसिंह साउदले उम्मेदवारी दर्ता गराएका छन् । उनले पहिले पनि पालिकामा कांग्रेसबाट अध्यक्षमा जितेका थिए । शिवनाथमा उपाध्यक्ष भने माओवादीको भागमा परेको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्ष एकीकृत समाजवादीको भागमा परेको छ ।
दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीले मनोनयन दर्ता गरेका छन् । उपाध्यक्ष माओवादीको भागमा परेको छ । डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ ।
