दोलखा — स्थानीय तह निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धन दलले सोमबार उम्मेदवारी मनोनय गराएका छन् । दोलखाको ९ स्थानीय तहमध्ये ४ कांग्रेस, ३ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबण्डा गरेका थिए ।
कांग्रेसको भागमा परेको भीमेश्वर नगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका ईश्वर मानन्धरले प्रमुखमा उम्मेदवारी मनोनय गराएका छन् भने उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी संगीता पाख्रिनले मनोनयन दर्ता गराएकी छन् ।
सोमबार चरिकोट बजारबाट गठबन्धनको संयुक्त र्यालीले बजार परिक्रमा गरेर मनोनयन दर्ता गराएको हो । यस्तै जिरी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका लाक्पा शेर्पा प्रमुखमा र उपप्रमुखमा माओवादीका तेजबहादुर गोलेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
बैत्यश्वरमा गठबन्धनबाटै नेपाली कांग्रेसका छवि लामाले मनोनय दर्ता गराएका छन् । उपप्रमुखमा गठबन्धनबाट माओवादीका लक्ष्मण खड्काले मनोनयन दर्ता गराएका छन् । कालिञ्चोकमा प्रमुखमा कांग्रेसका अर्जुन शिवाकोटी र उपप्रमुखमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी माओवादीको भागमा परेको गौरीशंकर गाउँपालिकामा माओवादीका विश्वास कार्कीले प्रमुख र कांग्रेसका श्यामसुन्दर तामाङले उपप्रमुखमा मनोनय दर्ता गराएका छन् । गठबन्धनबाट विगु गाउँपालिकामा माओवादीका संजिव ओलीले प्रमुख र कांग्रेसका आङनिमा शेर्पाले उपप्रमुखमा मनोनय दर्ता गराएका छन् ।
शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठले प्रमुख र कांग्रेसका दावादोर्जे लामाले उपप्रमुख पदमा मनोनयन दर्ता गरेका छन् । नेकपा एकीकृत समाजवादीको भागमा परेको मेलुङ गाउँपालिकको प्रमुखमा रविन्द्र कार्की र उपप्रमुखमा नेपाली कांग्रेसका भक्त तामाङले मनोनय दर्ता गराएका छन् । यस्तै तामाकोसीमा समाजवादीका प्रोणप्रताप केसीले प्रमुखमा र कांग्रेसकी सिर्जना सुवेदीले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
वडा तहमा नेपाली कांग्रेसले टिकट नदिएपछि तामाकोसी गाउँपालिका—२ मा ईश्वर कार्कीको समूहले वडा अध्यक्षसहित पूरै प्यानलमा स्वतन्त्र उमेदवारी दिएको छ । यस्तै कांग्रेसले टिकट नदिएर अन्याय गरेको भन्दै कालिञ्चोक गाउँपालिका— ९ का इन्द्र थामीको समूहले वडा अध्यक्षसतिह सबै पदमा बागी उम्मेदवारी दर्ता गरेको छ । आइतबार एमालेले सबै स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।
