काठमाडौँ — नेपाली कांग्रेसका कार्यकर्ताले कास्कीको रुपा गाउँपालिकामा उम्मेदवार नै फेरबदल गराएका छन् । पार्टीले टिकट दिएका अध्यक्ष पदका उम्मेदवार आनन्द सुवेदी र उपाध्यक्ष अप्सरा श्रेष्ठ उम्मेदवारी मनोनयन गर्न गएकोमा स्थानीय नेता कार्यकर्ताले विरोध गरेर मनोनयन दर्ता गर्न अवरोध गरेका थिए ।
गलत व्यक्तिहरूलाई उम्मेदवार बनाइएकोले फेरबदल गर्नुपर्ने उनीहरूको माग थियो । स्थानीय कार्यकर्ताको विरोधले मनोनयन नै नहुने सम्भावना बढेपछि जिल्ला सभापति किशोरदत्त बरालले उम्मेदवार फेर्नुपर्ने भन्दै सभापति शेरबहादुर देउवालाई उम्मेदवार परिवर्तन गर्न सिफारिस गरेका थिए ।
जिल्लाको आग्रहबमोजिम केन्द्रले रुपा गाउँपालिकामा अध्यक्ष पदमा गिमाया गुरुङ र उपाध्यक्ष पदमा नारायणकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाको निर्देशानुसार अध्यक्षमा गुरुङ र उपाध्यक्षमा श्रेष्ठको मनोनयन दर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन् ।
देशभरि उम्मेदवारी चयनमा नेता हाबी भएका बेला यहाँका स्थानीय नेता कार्यकर्ताले भने उम्मेदवार नै फेरबदल गराएका छन् ।
