दाङ — घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादी केन्द्रका नेता हेमराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उपमेयरमा कांग्रेस नेता भूपबहादुर डाँगीले उम्मेद्वारी दिएका छन् ।
बाजागाजा र झाँकीसहित सोमबार जिल्ला अदालतमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गठबन्धनका नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए ।
माओवादी केन्द्रीय सदस्य शर्मा पार्टीभित्र महत्त्वपूर्ण नेताका रुपमा चिनिन्छन् । उनी पुष्पकमल दाहाल र मोहन वैद्यबीच पार्टी फुट हुँदा वैद्य पक्षमा लागेका थिए । पछि रामबहादुर थापासँगै दाहाल पक्षमा आएका थिए । अहिले माओवादी केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज जीवन गौतम र शर्माको नाम मेयरमा चर्चा थियो । गौतमले केही दिनअघि पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका थिए । गौतम २०७४ को निर्वाचनमा मेयरमा उठेका थिए ।
कांग्रेसबाट यसअघि मेयरमा दाबी गरेका डाँगी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका छन् । डाँगी २०७४ को निर्वाचनमा एमालेका नरुलाल चौधरीसँग मेयरमा पराजित भएका थिए । यसअघि कांग्रेस जिल्ला सभापतिमा पनि उनले प्रतिस्पर्धा गरेका थिए । शंकर डाँगी जिल्ला सभापतिमा निर्वाचित भएपछि उनले पुन: मेयरको दाबी गरेका थिए । अन्तमा गठबन्धनमा मेयर माओवादीलाई भाग परेपछि डाँगी उपमेयर बन्न तयार भएका हुन् ।
