जनकपुर — जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा २२ र उपमेयरमा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार साँझ ५ बजे सम्ममा मेयरमा २२ र उपमेयरमा १७ जनाको उम्मेदवारी दर्ता भएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
मनोनयन दर्ता क्रम जारी रहेको र वडामा उम्मेदवारी दर्ता भएको संख्या मिलाउन बाँकी रहेको उनले बताए । जनकपुरमा आइतबार मेयर पदमा ९ जना र सोमबार १३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उपमेयरमा आइतबार ३ जना र सोमबार १४ जनाले उम्मेदवारी दर्ता गराए ।
सत्ता गठबन्धनको तर्फबाट निवर्तमान मेयर लालकिशोर साहले जनता समाजवादी पार्टीबाट मेयर पदमा तथा नेपाली कांग्रेसकी किशोरी साहले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन । त्यस्तै नेपाली कांग्रेसका असन्तुष्ट मनोज साहले पनि मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीबाट मेयर पदमा मनोजकुमार चौधरी र उपमेयरमा निवर्तमान उपमेयर रीताकुमारी मिश्रले उम्मेदवारी दिएकी छिन् । नेकपा एमालेबाट शिवशंकर साहले मेयरमा तथा रुना झाले उपमेयरमा उम्मेदवारी दिएकी छन् । उपप्रमुखको टिकट दिने आश्वासनपछि रुना झा सोमबार नै नेपाली कांग्रेस परित्याग गरेर एमालेमा प्रवेश गरेकी थिइन् ।
यसैगरी निर्माण व्यावसायी बललाम महतो,इन्जिनियर रविकान्त लाललगायतले स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिएका छन् ।
