कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

धनकुटामा गठबन्धनले भागबन्डा टुंग्यायो

रमेशचन्द्र अधिकारी

धनकुटा — मनोनयन गर्ने अन्तिम समयमा धनकुटा गठबन्धनले भागबन्डा टुंग्याएको छ । गठबन्धनमा आबद्ध दलको बैठक बिहान २ बजेसम्म बसेर उम्मेदवार टुंग्याएको हो ।

धनकुटामा गठबन्धनले भागबन्डा टुंग्यायो

सात वटा पालिका रहेको धनकुटामा पाँच पालिकाका प्रमुख र अधिकांश वडाध्यक्ष नेपाली कांग्रेसले भाग पाएको पार्टी स्रोतले जनाएको छ ।

कांग्रेसले धनकुटा, पाख्रीबास र महालक्ष्मी नगरपालिकासहित छथर जोरपाटी र साँगुरीगढी गाउँपालिका अध्यक्षको उम्मेदवार पाउने भएको छ । सहिदभूमि गाउँपालिका नेकपा समाजवादीले पाउने स्रोतले जनायो । ८ वटा वडा रहेको चौबिसेमा ६ वटा वडा कांग्रेसले लिएर अध्यक्ष र उपाध्यक्ष माओवादीका तर्फबाट उम्मेदवार रहेको जनाइएको छ । यस्तै, सहिदभूमिमा ५ वटा वडा र उपाध्यक्ष कांग्रेस तथा अध्यक्षसहित २ वटा वडा गठबन्धनले पाएको छ । गठबन्धनको भागबन्डाबारे पत्रकार भेला गरेर मात्र नाम सार्वजनिक गरिने कांग्रेस जिल्ला सभापती दिनेश राईले बताए ।

कांग्रेससहित नेकपा माओवादी, नेकपा समाजवादी र जनता समाजवादी गठबन्धनको रुपमा साझा उम्मेदवार बनाउँदै छन् । एमालेले भने शनिबार नै जिल्लाका सात वटै पालिकामा उम्मेदवार टुंग्याएर नाम सार्वजनिक गरिसकेको छ । गठबन्धन दलभित्रको किचलोका कारण आफ्नो पार्टीले सात वटै तहमा जित हात पार्ने एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीको दाबी छ । एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा सबै तहमा प्रमुख र उपप्रमुख तथा ६० वडामध्ये ४३ मा जितेको थियो । बाँकी ९ मा कांग्रेस तथा ५ मा माओवादी र ३ मा जनता समाजवादीले जीतेका थिए । विगतको तुलनामा यसपटक एमालेलाई पनि निर्वाचन 'फलामको च्युरा' हुन सक्ने गठबन्धन दलले दाबी गर्दै आएका छन् ।

प्रकाशित : वैशाख १२, २०७९ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×