घोषणापत्र कागजमै सीमित

वैशाख १२, २०७९

माधव अर्याल, नवीन पौडेल

पाल्पा,परासी — सिद्धार्थ राजमार्गअन्तर्गत तानसेनबाट बुटवलको दूरी ३९ किलोमिटर मात्रै हो । तर, पछिल्ला वर्षमा यही सडकमा यात्रा गर्न कम्तीमा तीन घण्टा लाग्छ । हिउँद होस् वा वर्षायाम, जहिलेसुकै सास्ती खेपेर यात्रा गर्न यात्रु बाध्य छन् । १० वर्षदेखि सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डमा यात्रा गर्ने यात्रुले दैनिक सास्ती भोग्नु पर्ने नियतिजस्तै बनेको छ । यात्रुले कम्तीमा दुईदेखि तीन घण्टा जाम, वर्षायाममा हिलो, हिउँदमा धुलोधूँवाको हैरानी खेप्दै आएका छन् ।

स्थानीय तहका घोषणापत्रले भने यही सडकलाई देखाएर चुनावमा आश्वासन बाँडेको थियो । ‘चुनावी घोषणापत्रमा के लेखेको छ, मलाई थाहा भएन, धुलोधूँवा खानु नपरेको वर्ष छैन,’ तानसेन नगरपालिका–१०, तेल्घाका विक्रम थापाले भने, ‘कसले के भन्छ होइन । विकास निर्माण हुनै सकेन भन्ने लाग्छ मलाई ।’ स्थानीय तह निर्वाचन २०७४ मा एमाले तानसेनले संकल्पपत्र जनतासामु प्रस्तुत गर्दा भने यही सडकका विषयमा समेत आश्वासन बाँडेको छ, जहाँ बुटवल–तानसेन मोनोरेलको सम्भाव्यता अध्ययन गराउने थियो । तर, मोनोरेल त परको कुरा, सडकसमेत सुधार हुन सकेको छैन । 

तानसेनको पर्यटकीय क्षेत्र श्रीनगरडाँडा, रानीमहलका विषयमा पनि ठूला आश्वासन बाँडिएको छ । तर, काम भने केही पनि हुन सकेको छैन । उल्टै ठेक्का लगाउनसमेत समस्या भएको छ । दमकडामा विशाल स्टेडियम र बेलानीबारीमा क्रिकेट मैदान, धरमपानी, बन्दीपोखरा, ध्रुवघाट क्षेत्रमा ल्यान्डपुलिङ गरी आधुनिक बस्तीको विकासलगायत आश्वासनमै सीमित भएको छ । तानसेनका नगर प्रमुख अशोककुमार शाहीले भने कतिपय राम्रा कामको सुरुवात भएको बताए । ‘संकल्प पत्रमा लेखिएका जति काम पूरा भएनन् होला,’ उनले भने, ‘तर काम धेरै भएका छन् । प्रचारमा कम आएको मात्रै हो ।’ 

परासीमा यसअघिको स्थानीय तहको चुनावमा एमालेले आफ्नो घोषणापत्रमा हरेक वडामा खानेपानी योजना र घरघरमा धारा जडान गर्ने दाबी गरेको थियो । तर, पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिकाका वडा नम्बर २ को पहाडी भेगमा अझै पनि धारा जडान भएका छैनन् । ‘भोट माग्न आउँदा दुई वर्षसम्ममा घरघरमा न्यूनतम मूल्यमा खानेपानी दिन्छौं भनेका थिए,’ सुस्ता–५ का भगवन्त जयसवालले भने, ‘अहिलेसम्म खानेपानी योजना सम्पन्न भएको छैन ।’ सुस्ता गाउँपालिकाका निवर्तमान अध्यक्ष रामप्रसाद पाण्डेले भने आयोजना अन्तिम चरणमा पुगेको र केही प्राविधिक समस्याका कारण आयोजना सम्पन्न हुन नसकेको बताए । ‘घोषणापत्रका अधिकांस काम भएका छन् । केही अधुरा काम पूरा गर्न चुनावी मैदानमा छौं,’ उनले भने ।

स्थानीय तह निर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully