सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारहरुको टुंगो नलागेका कारण फाट्टफुट्ट मात्र उम्मेदवारी दर्ता
धनगढी — सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ स्थानीय तहमध्ये अधिकांशमा पहिलो दिन आइतबार न्यून उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका उम्मेदवारहरूको टुंगो नलागेका कारण पहिलो दिन फाट्टफुट्ट मात्र उम्मेदवारी दर्ता भएको हो । धनगढी उपमहानगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालले आइतबार उम्मेदवारी दर्ता गराएका छन् ।
धनगढीको ट्र्राफिक चोकबाट बाजागाजासहित स्वतन्त्र शक्तिको प्रदर्शन गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर हमालले आइतबार उम्मेदारी दर्ता गराएका हुन । उम्मेदवार हमाल २०७४ को स्थानीय तहको चुनावमा धनगढी उपमहानगरका विजयी मेयर नृपबहादुर वडका निकटम प्रतिद्वन्द्वी थिए । त्यसबेला पनि उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । उनी विजयी वडभन्दा २ हजार ७ कम कम ल्याएर हारेका थिए । उनले ११ हजार ६ सय बढी मत ल्याएका थिए । विजयी वडले १४ हजार ३ सय मत पाएका थिए ।
२०७४ को निर्वाचनमा एमाले र माओवादीले स्वतन्त्र उम्मेदवार हमालभन्दा कम मत ल्याएका थिए । अहिले पनि स्वतन्त्र उम्मेदवार हमाललाई गठबन्धन उम्मेदवारको निकटतम प्रतिद्वन्द्वीकै रूपमा नगरवासीले हेरेका छन । मनोनयन दर्ता गर्दै उनले बाँडीचुँडी खाने प्रवृत्तिका विरुद्ध आफ्नो स्वतन्त्र उम्मेदवारी भएको बताए । ‘जनताले गठबन्धन गरेका छैनन्, नेताहरूले गरेका हुन्,’ उनले भने, समाज र हाम्रो सहर बनाउनका लागि गठबन्धन नभएर बाँडीचुँडी खानका लागि भएकाले जनताले आफूलाई भोट दिएर जिताउनेमा ढुक्क छु ।’ उनले गठबन्धनका विरुद्धको आफू जनताको एक प्रतिनिधि पात्र भएको समेत बताए ।
यसैगरी मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्माले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । अर्का मदनकृष्ण भट्टले पनि स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
नौ स्थानीय तह रहेको बाजुरामा उम्मेदवारी दर्ताको पहिलो दिन अधिकांश पालिकास्थित निर्वाचन कार्यालय सुनसान रहे । केहीमा भने फाट्टफुट्ट उम्मेदवारी दर्ता भएको छ । बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा राप्रपाले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएको छ । बडिमालिका नगरपालिकामा राप्रपाबाट नगर प्रमुख पदमा दलबहादुर थापा र हिमाली गाउँपालिकामा दीपेन्द्रबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन् । हिमाली गाउँपालिकामै स्वतन्त्र उम्मेदवार गोरख सार्की, बुढीनन्दा नगरपालिकामा नगर प्रमुख पदमा कांग्रेस (बीपी) पार्टीका प्रलाल जैसीले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत नवराज अवस्थीले बताए ।
यस्तै, आइतबार डोटीमा नगरप्रमुखमा दुई र गाउँपालिका अध्यक्षमा एक र वडाध्यक्षमा १३ जनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय जनमोर्चाले दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकामा मनोनयन दर्ता गरेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट दिपायल सिलगढी नगरपालिकामा नरेश आलेमगर र शिखर नगरपालिकामा केशवराज जोशीले नगर प्रमुखमा दर्ता गराएका हुन् ।
त्यस्तै जोरायल गाउँपालिकामा नेकपा एमालेले वडा सदस्यसहित सवै पदमा मनोनयन दर्ता गरेको छ । गाउँपालिका अध्यक्षमा दुर्गादत्त ओझा र उपाध्यक्षमा जमुना बोहराले मनोनयन दर्ता गराएका छन् । दुवै जना निवर्तमान गाउँपालिका अध्यक्ष र उपाध्यक्ष हुन् । त्यस्तै दुई जनाले भने स्वतन्त्रतर्फबाट वडाध्यक्षमा उठेका छन् । दिपायल सिलगढी नगरपालिका–१ बाट शिवराज खड्का र बोगटान फुडसिल गाउँपालिकाको वडा नं. ७ मा चक्रबहादुर कुडमालले मनोनयन दर्ता गराएका छन् ।
बैतडीमा ६ पालिकामा दर्ता
बैतडीको दशरथ चन्द नगरपालिकाको प्रमुख पदमा जनता समाजवादी पार्टीका आनसिंह भण्डारीले प्रमुख पदमा मनोनयन दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार सिगास गाउँपालिकाको अध्यक्ष पदमा माओवादीका रामसिंह साउदले अध्यक्ष पदमा मनोनयन पत्र दर्ता गरे । यसैगरी पुचौडी नगरपालिकामा नेकपा माओवादीका विक्रम कुँवरले प्रमुखमा र नन्दा शाहले उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । मेलौली नगरपालिकामा भीमबहादुर चन्द र मनीषा दयाले प्रमुख तथा उपप्रमुखमा र सुर्नया गाउँपालिकामा जितबहादुर महरा र डिलासैनीमा सन्तोषप्रकाश जोशीले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । डडेलधुरामा नवदुर्गा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका कवीन्द्र विष्टले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
(धनगढीबाट मोहन बुडाऐर, बाजुराका अर्जुन शाह, डोटीबाट मोहन शाही, बैतडीबाट तृप्ति शाही र डडेलधुराबाट डीआर पन्त)
