रुपन्देहीमा गठबन्धनमा विवाद

१५ स्थानीय तहमा कांग्रेसबाट प्रमुखमा नाम सिफारिस

वैशाख १२, २०७९

अमृता अनमोल

बुटवल — उम्मेदवार छनोटमा विवाद भएपछि रुपन्देहीमा सत्तापक्षीय गठबन्धनले आआफ्ना उमेदवार सिफारिस गरेका छन् । १६ स्थानीय तहमध्ये ६ वटामा यसअघि नै एक्लाएक्लै चुनावमा जाने निर्णय भएको थियो । कांग्रेसले लुम्बिनी सांस्कृतिक नगरपालिकासहित मर्चवारी, सम्मरीमाइ, गैडहवा, मायादेवी र कोटहीमाइमा गठबन्धनका अन्य दलका मतदाता नगन्य भएको भन्दै एक्लै चुनावमा जाने बताएपछि गठबन्धनमा सहमति भएको थिएन ।

बाँकी नौवटा स्थानीय तहमा पनि नेपाली कांग्रेसले प्रमुख नछोड्ने र माओवादी केन्द्रले उपप्रमुख दाबी गरेपछि नेकपा एकीकृत समाजवादी एक्लिएको छ । उसले बुटवल उपमहानगरपालिकामा कांग्रेसका प्रमुख पदका उमेदवार खेलराज पाण्डेलाई सघाएपनि अन्यमा आफ्ना उमेदवार उठाउने एक नेताले बताए । जसअनुसार उपप्रमुखमा बुटवलमा मात्रै समाजवादीलाई छुट्याएको छ । त्यसमा चिनबहादुर गुरुङलाई सिफारिस भएको छ ।

समाजवादीले देवदहबाट प्रमुखका रूपमा छविलाल भट्टराई र उपप्रमुखमा सरस्वती पोखरेललाई उम्मेदवार बनाएको छ । अन्यमा तयारी भएको छ ।

जिल्ला सभापति रामकृष्ण खाडका अनुसार काग्रसले १६ वटा स्थानीय तहमध्ये १५ वटामा प्रमुख पदमा नेपाली कांग्रेसले उमेदवार सिफारिस गरेको छ । जसअनुसार बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका बुटवल उपमहानगरपालिकाका खेलराज पाण्डे, तिलोत्तमा नगपालिकामा रामकृष्ण खाड, देवदह नगरपालिकामा हिरा बहादुर केसी, सैनामैना नगरपालिकामा दाजु फणीन्द्र शर्मालाई सिफारिस गरेको छ । उनीहरुमध्ये हिराबहादुर देवदहका बहालवाला प्रमुख हुन् । खाड, शर्मा र पाण्डे प्रत्यासी हुन् ।

माओवादी केन्द्रले जिल्लाको ओमसतिया गाउँपालिकामा मात्रै प्रमुख पदमा उमेदवारी दिँदैछ । सैनामैनामा उपप्रमुखमा मानबहादुर महत (नारायण) लाई सिफारिस गरेपनि अन्य तहको नाम सार्वजनिक गरेको छैन । 

स्थानीय तह निर्वाचन २०७९

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully