कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

लुम्बिनीमा आइतबार उम्मेदवारी दर्ता न्यून

ठूला दल भागबन्डा र उम्मेदवार छनोटमै व्यस्त, गठबन्धनका उम्मेदवार पर्खिने रणनीतिमा एमाले

भैरहवा — लुम्बिनी प्रदेशका अधिकांश स्थानीय तह उम्मेदवार मनोनयनको पहिलो दिन आइतबार सुनसान देखिए । ठूला दल गठबन्धनको झमेलामा अल्झिएको र गठबन्धनका उम्मेदवारको पर्खाइमा एमाले बसेपछि आइतबार यहाँका निर्वाचन कार्यालय सुनसान बनेका हुन् । रूपन्देही र बर्दियाका केही पालिकाहरूमा सीके राउत समूहले पनि उम्मेदवारी दर्ता गराएको छ । धेरै स्थानीय तहमा स्वतन्त्र र मधेसवादी दलले पनि उम्मेदवारी दिएका छन् । पाल्पामा मंगोल नेसनल अर्गनाइजेसन पार्टीले पनि उम्मेदवारी दिएको छ ।

लुम्बिनीमा आइतबार उम्मेदवारी दर्ता न्यून

एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलले सोमबार मात्र मनोनयन दर्ता गर्ने बताएका छन् । लुम्बिनीका अधिकांश स्थानीय तहमा गठबन्धनले संख्या बाँडफाँट मिलाउनै सकेको छैन । एमालेले पनि केही जिल्लामा मात्र उम्मेदवारको टुंगो लगाएको छ । गठबन्धनबीच सहमति र दलहरूले आफ्नै उम्मेदवारको पनि टुंगो लगाउन नसकेकाले सबै पालिकाहरूमा सोमबार मनोनयन गर्ने गरी तयारी गरेको कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले बताए । ‘धेरै तयारी बाँकी नै भएकाले सोमबार मात्र मनोनयन गर्छौं,’ उनले भने, ‘गठबन्धनमा सहमति हुन नसकेका जिल्ला र पालिकाहरूमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका छौं ।’

रूपन्देहीमा आइतबार ठूला कुनै पनि दलले उम्मेदवारी दर्ता गरेनन् । एमालेले सबै स्थानीय तहमा प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको आइतबार मात्र टुंगो लगाएको छ । प्रमुख पदमा टुंगो लगाए पनि वडा तहमा विवाद रहेकाले आइतबार उम्मेदवारको मनोनयन हुन सकेन । गठबन्धनमा सहमति नभएपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनमोर्चा, जनता समाजवादी पार्टीलगायतले पनि मनोनयन गरेका छैनन् । स्वतन्त्र, साना र मधेसी दलले भने केही पालिकामा मनोनयन दर्ता गरेका छन् ।

पालिकास्थित निर्वाचन कार्यालयहरूका अनुसार भैरहवाको सिद्धार्थनगर नगरपालिकामा स्वतन्त्रबाट प्रमुखमा सिद्धार्थनगर नगरपालिका–७ की ईश्वरी खड्काले उम्मेदवारी दर्ता गराएकी छन् । निर्वाचन कार्यालयका अनुसार नेपाल जनता पार्टीका तर्फबाट सिद्धार्थनगर नगरपालिका–६ का लालमन साह तेलीले प्रमुखमा उम्मेदवारी दिएका छन् । चार जना वडाध्यक्षको उम्मेदवारी दर्ता भएको छ । सम्मरीमाई गाउँपालिकाको अध्यक्षमा दुई राजनीतिक दल र स्वतन्त्र गरी चार जनाको उम्मेदवारी परेको छ । सीके राउतको जनमत पार्टीबाट अध्यक्षमा रामरतन केवट र उपाध्यक्षमा मीनादेवी लोधको उम्मेदवारी परेको छ ।

जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा अहमद्धिन खान र उपाध्यक्षमा सन्ध्यादेवी मल्लाहले उम्मेदवारी दिएका छन् । अन्य दुई जनाको स्वतन्त्रबाट उम्मेदवारी मनोनयन भएको छ । मर्चवारी गाउँपालिकामा जनमत पार्टीकै तर्फबाट अध्यक्षमा मुरलीप्रसाद कुर्मी र उपाध्यक्षमा पूजा यादवको उम्मेदवारी परेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा केशवनन्द बानिया र उपाध्यक्षमा कुमारीलक्ष्मी चौधरीले उम्मेदवारी दिएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका प्रमुखमा एमालेका बसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा गीता भाटले मात्र मनोनयन दर्ता गरेका छन् ।

बर्दियामा सीके राउतको जनमत पार्टीले दुई नगरपालिकाका प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । गुलरिया र बारबर्दिया नगरपालिकामा स्वतन्त्रका तीन र अन्य दलका तीन जनाको मनोनयन भएको छ । जनमत पार्टीले गुलरियास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बाजागाजासहित पुगेर मनोनयन दर्ता गरेको हो । यो पार्टीका तर्फबाट गुलरिया नगरपालिका प्रमुखमा मुग्रे गोडिया र उपप्रमुखमा मीना यादवले मनोनयन दर्ता गरेका छन् । जनमत पार्टीले गुलरिया नगरका १२ वडामध्ये ११ मा वडाध्यक्ष पदमा पनि मनोनयन गरेको छ । गुलरिया नगरपालिकामा स्वतन्त्रबाट प्रमुख पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै बारबर्दिया नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रमुखमा मधु चौधरी र उपप्रमुखमा जगमती चौधरीले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कृष्ण चापागार्इंले बताए । त्यस्तै नेपाल दलित पार्टीका तर्फबाट प्रमुखमा कृष्ण ढकालले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

रोल्पामा एक जनाको मात्र उम्मेदवारी परेको छ । रोल्पा नगरपालिकाको प्रमुख पदमा रोल्पा नगरपालिका–१० धवाङका विर्खमान रोकामगरले उम्मेदवारी दिएका हुन् । मुख्य निर्वाचन अधिकृत दिलीपराज पन्तले आइतबार बेलुका ५ बजेसम्म एक जनाको मात्रै मनोनयनपत्र दर्ता भएको बताए । सत्तापक्षीय दलहरूले गठबन्धन गर्ने तयारी र बैठक गर्दागर्दै निष्कर्ष निकाल्न सकेका छैनन् । गठबन्धनबीच भागबन्डा नमिलेपछि रोल्पामा कांग्रेस र माओवादीले छुट्टाछुट्टै लड्ने तयारी गरेका छन् । एमालेले पनि सबै तहमा आइतबार मनोनयन दर्ता गरेको छैन । उम्मेदवारी छनोटमा प्रदेश तहसम्म छलफल गर्नु परेकाले ढिलो भएको एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज कुमार दशौंदीले बताए ।

दाङको घोराही उपमहानगरपालिका प्रमुखमा ७ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आइतबार यहाँ साना दलले मात्रै उम्मेदवारी दर्ता गरेका हुन् । मुख्य राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । आइतबार घोराहीको वडाध्यक्षमा २३ र सदस्यमा २८ जनाले उम्मेदवारी दर्ता गरेको उनले बताए । घोराहीको प्रमुखमा पहिलो उम्मेदवारी नेकपा मालेबाट नेत्रप्रसाद पाण्डेय र उपप्रमुखमा राधिका क्षत्रीले दर्ता गराएका थिए ।

तुलसीपुर उपमहानगरपालिकामा प्रमुखमा १ र उपप्रमुखमा २ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लमही नगरपालिकामा प्रमुखमा एक र उपप्रमुखमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । राजपुर गाउँपालिकामा अध्यक्ष एक र उपाध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । गढवा गाउँपालिकामा अध्यक्षमा एमालेका सहजराम अहिर यादव र उपाध्यक्षमा सीता चौधरी, राप्ती गाउँपालिकाको अध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको छ । दंगीशरण गाउँपालिकामा अध्यक्षमा २ र उपाध्यक्षमा एक जना, बबई गाउँपालिकामा अध्यक्षमा एक जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । जिल्लामा साना र ठूला दल गरी २९ दलले मनोनयन दर्ता गराउँदै छन् ।

एमाले पाल्पाले तिनाउ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३२ जनाको मनोनयन दर्ता गरेको छ । एमालेले यहाँका अन्य स्थानीय तहमा भने मनोनयन दर्ता गरेको छैन । तिनाउमा अध्यक्षमा प्रेम श्रेष्ठ र उपाध्यक्षमा सावित्रा रानाले उम्मेदवारी दिएका छन् । ६ वडा रहेको तिनाउमा वडाध्यक्षसहित सबैले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत जनार्दन अधिकारीले जानकारी दिए । अन्य कुनै पनि दल मनोनयन दर्ता गर्न आएनन् ।

तानसेन नगरपालिकाका लागि दुई जनाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । रामपुर नगरपालिकामा मंगोल नेसनल अर्गनाइजेसनले नगर प्रमुखमा माया सुनारी र उपप्रमुखमा भीमबहादुर आलेको उम्मेदवारी दर्ता गराएको छ । रैनादेवी छहरामा ११ जनाले मनोनयन दर्ता गराएका छन् । रिब्दीकोटमा एक जना वडाध्यक्षको मात्र मनोनयन दर्ता भएको छ । माथागढीमा राष्ट्रिय जनमुक्ति पार्टीबाट अध्यक्षमा इमानसिंह थापा र वडाध्यक्षमा देवेन्द्रबहादुर गाहाले मनोनयन दर्ता गराएका छन् । पाल्पामा पनि गठबन्धनका उम्मेदवारको अझै टुंगो लागेको छैन ।

कपिलवस्तुको मायादेवी गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टीबाट बजरंगीप्रसाद चौधरीको उम्मेदवारी दर्ता भएको छ । सदरमुकामको कपिलवस्तु नगरपालिकामा एक जनाले मात्र वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै यशोधरा गाउँपालिकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । विजयनगर गाउँपालिकामा विभिन्न पदमा १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणगंगा नगरपालिकामा चार, कृष्णनगरमा ७५ र बुद्धभूमि नगरपालिकामा ३० जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । महाराजगन्ज नगरपालिकामा ४१ जना र शिवराज नगरपालिकामा २० जनाको उम्मेदवारी दर्ता भएको छ । शुद्धोधन गाउँपालिकामा ९९ जना र मायादेवी गाउँपालिकामा ३९ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताए ।

प्रकाशित : वैशाख १२, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?