टिकट नपाएपछि दल त्याग, उम्मेदवारी सुनिश्चित गरेर पार्टी प्रवेश
भैरहवा,कपिलवस्तु,नेपालगन्ज — उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै आकांक्षी नेताहरूले धमाधम राजीनामा र दल परिवर्तन गरिरहेका छन् । उनीहरूले साबिक दलको नेतृत्वले अनुकूल व्यक्तिलाई उम्मेदवार छनोट गरेर आफ्नो योगदान भुलेको आरोप लगाएका छन् ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाबुलाल यादवले शनिबार दिउँसो पत्रकार सम्मेलनमा गरेर पार्टी परित्यागको घोषणा गरे । ‘पद्धतिअनुसार होइन, एक–दुई व्यक्तिले पार्टी चलाउन थाले,’ उनले भने, ‘मैले नेता खुसी बनाउन सकिनँ, मेरो सिफारिस जिल्लाबाटै फालियो ।’ उनी एमाले क्षेत्र नम्बर ४ का इन्चार्ज हुन् । उनी सम्मरीमाई गाउँपालिका अध्यक्ष उम्मेदवारका आकांक्षी थिए । तत्काल अन्य पार्टीमा प्रवेश नगर्ने र उम्मेदवार पनि नबन्ने उनले बताए । ‘आकांक्षी थिएँ, एक वचन सोधेनन्,’ उनले भने, ‘०५४ सालदेखि संगठित सदस्य बनेर रूपन्देहीको मर्चवारमा एमालेको जग बसालेको भुले ।’ प्रदेश र संघको चुनावमा खर्च बेहोर्ने आर्थिक हैसियत नभएकाले पालिका अध्यक्षमा दाबी गरेको उनले बताए । ‘७/८ करोड खर्च गर्न सक्दिनँ,’ उनले भने, ‘जनतासितै बस्ने भनेर पालिका रोजेको थिएँ ।’
कांग्रेसका पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव तीन दिनअघि पार्टी छाडेर जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गत स्थानीय निर्वाचनमा सिद्धार्थनगर नगरपालिका प्रमुखका प्रत्याशी रहेका उनी यस पटकसमेत आकांक्षी थिए । पार्टीले उम्मेदवार सिफारिस नगरेको उनको गुनासो छ । ‘पार्टीले विधि मानेन, मैले सुधारका लागि आग्रह गर्दै आएँ,’ पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘जहाँ मान–सम्मान र विश्वास छैन, त्यहाँ बस्नुको औचित्य छैन ।’ पार्टीले बुटवल उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस नगरेपछि असन्तुष्ट कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले शुक्रबार राजीनामा दिएका छन् । निष्ठाको राजनीतिबाट मन मरेको उनले प्रतिक्रिया दिए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । गत चुनावमा स्वतन्त्र विजयी भएका उनी केही समयअघि जनता समाजवादी पार्टी प्रवेश गरेका थिए । सम्मरीमाई गाउँपालिकाका माओवादी केन्द्र अध्यक्ष सहाबुद्दिन देवान शुक्रबार कांग्रेसमा प्रवेश गरे । त्यसअघि मर्चवारी–४ का वडाध्यक्ष शैलेश श्रीवास्तव जसपा परित्याग गरेर राप्रपा प्रवेश गरेका थिए ।
कपिलवस्तुमा पनि टिकट नपाउने भएपछि जिल्ला स्तरीय नेता–कार्यकर्ताले धमाधम पार्टी परिवर्तन गरिरहेका छन् । कोही भने टिकट पाउने सुनिश्चित गरेर नयाँ पार्टीमा प्रवेश गरेका छन् । गत चैत १४ मा केपी शर्मा ओलीबाट टीका लगाएर एमाले प्रवेश गरेका कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष सुदीप पौडेल एक महिना नबित्दै बिहीबार जसपा प्रवेश गरेका छन् । कपिलवस्तु नगरपालिका प्रमुख पदका आकांक्षी पौडेल टिकट नपाउने भएपछि जसपामा लागेका हुन् । उनीसँगै वडा नं. १ का सदस्य विष्णु बारी पनि जसपा प्रवेश गरेका छन् । पौडेल यसअघि बहुजन शक्ति पार्टीबाट वडाध्यक्षमा विजयी भएका थिए । पूर्वमन्त्री बृजेशकुमार गुप्तासँगै २८ वर्ष काम गरे पनि अहिले उनको साथ छोड्दा निकै नरमाइलो लागिरहेको पार्टी प्रवेश कार्यक्रममा उनले बताए । पौडेलसँगै गुप्ता पनि एमालेमा प्रवेश गरेका थिए । पौडेलले कपिलवस्तु नगरपालिका प्रमुख पदको उम्मेदवारको टिकट पाउने पक्का भएको बताइएको छ ।
कांग्रेस विजयनगर गाउँपालिका सभापति जानकीप्रसाद यादव जसपामा प्रवेश गरेका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसबाट उनी टिकटका आकांक्षी थिए । कांग्रेसले उनलाई टिकट नदिने भएपछि पार्टी फेरेका हुन् । उनी ०७४ को निर्वाचनमा विजयनगर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार भई वर्तमान अध्यक्ष गोपाल थापासँग २ सय २८ मतले पराजित भएका थिए । आफूलाई टिकटको आश्वासन दिएर पूरा नगरेपछि पार्टी परिवर्तन गर्न बाध्य भएको उनले बताए । उनीसहित वडा अध्यक्ष पदका आकांक्षी हृदयविकास चौधरी र चेतन ढकाललगायत कार्यकर्ता जसपा प्रवेश गरेका छन् । गत मंगलबार कांग्रेस क्षेत्र नं. २ का सचिव गंगेशनाथ तिवारी र महाराजगन्ज नगरपालिका–११ का वडाध्यक्ष जगदीश तिवारी एमाले प्रवेश गरेका छन् । कांग्रेसले आफ्नो परिवारका व्यक्तिलाई वडाध्यक्षको पनि टिकट नदिने भएपछि पार्टी परिवर्तन गरेको उनले बताए ।
लोसपाका केन्द्रीय सदस्य बद्रीप्रसाद चौधरीले पनि पार्टी परित्याग गरेका छन् । उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मायादेवी गाउँपालिका अध्यक्षमा पार्टीबाट टिकट नपाउने भएपछि उनी माओवादी प्रवेश गरेका हुन् । माओवादीबाट नेपालगन्ज उपमहानगरपालिका प्रमुख पदका आकांक्षी नन्दलाल वैश्य बिहीबार राप्रपा प्रवेश गरेका थिए । गठबन्धनको भागबन्डाअनुसार नेपालगन्ज उपमहानगर कांग्रेसको भागमा परेको छ । राप्रपामा प्रमुख पदको उम्मेदवार बन्न त्यता गएको उनले बताए । वैश्य नेपालगन्ज उद्योग व्यापार संघको अध्यक्ष र महासंघका केन्द्रीय सदस्य भइसकेका स्थानीय व्यवसायी हुन् । गत स्थानीय तह निर्वाचनमा राप्रपाका धवलशमशेर राणा नेपालगन्ज उपमहानगर प्रमुखमा विजयी भएका थिए ।
