मोरङ — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन निष्पक्ष, पारदर्शी, भयमुक्त, स्वतन्त्र र स्वच्छ रूपमा सम्पन्न गराउन आचारसंहिता लागू गरे पनि दलहरूले त्यसको बेवास्ता गर्दै चुनाव प्रचार गरिरहेका छन् ।
उम्मेदवारबिनै प्रचारमा जुटेका उनीहरूले दैनिक टोलटोलमा पार्टीको झन्डाका साथै चुनावचिह्न अंकित तुल, ब्यानर बोकेर जुलुस प्रदर्शन गर्दै आएका छन् । तर राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरणसम्बन्धी निर्वाचन आचार संहिताको बुँदा १२ मा यसरी प्रदर्शन गरिने जुलुसमा पार्टीको झन्डा र निर्वाचन चिह्न प्रयोग गर्नमा बन्देज छ ।
उक्त आचारसंहिताको बुँदा १२ को (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्नेले दलको निर्वाचन चिह्न, झण्डा, अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ । तर दलहरूबीच गाउँ, टोलमा पार्टीको झन्डा र निर्वाचन चिह्नसहित जुलुस गर्ने प्रतिस्पर्धा छ । विराटनगर महानगरस्थित टोलहरूमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी), राप्रपालगायत दलले झण्डा र पार्टीको निर्वाचन चिन्हसहित जुलुस प्रदर्शन गर्दै आएका छन् । यसरी नै अन्य पालिकाहरूमा प्रदेशभरि नै दलले आचारसंहिताविपरीत जुलुस गर्दै छन् ।
कांग्रेसका प्रदेश १ सभापति उद्धव थापाले पार्टीले निर्वाचन आचारसंहिता पालनामा कसर बाँकी नराख्ने बताए । माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले निर्वाचन आयोगले आचारसंहिताको विषयमा जानकारी गराइसकेकाले सोविपरीत पार्टीले गतिविधि नगर्ने बताए । नेकपा (एकिकृत समाजवादी)का प्रदेश अध्यक्ष बलदेव चौधरीले निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि पार्टीका सबै जिम्मेबार नेता तथा कार्यकता जानकार भएकाले उल्लंघन नहुने बताए । जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष राजकुमार यादवले जुलुस र सभामा २/४ वटा झन्डा राखेपछि पार्टीको कार्यक्रम हो भन्ने बुझिने भएकाले केही झन्डा प्रयोग भएको स्विकारे । राप्रपाका प्रदेश अध्यक्ष राम थापाले पार्टी निर्वाचन आचारसंहिताप्रति रहेको बताए । प्रदेश निर्वाचन कार्यालयका अधिकारी लेवन कश्यप अधिकारीले दललाई निर्वाचन आचारसंहिताबारे कार्यक्रम गरेर जानकारी गराएको बताए ।
‘जिल्ला निर्वाचन अधिकृतको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति छ,’ उनले भने, ‘यसका साथै प्रत्येक जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृतलाई आचारसंहिता अनुगमन अधिकृतको रुपमा छुट्टै नियुक्त गरेर अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।’
