वीरगन्ज — वीरगन्जको तापक्रम सोमबार ४० सेन्टिग्रेड पुगेको थियो । गर्मीको पर्वाह नगरी प्रमुख विजयकुमार सरावगी फरक–फरक समयमा तीनवटा वडामा एमालेको चुनावी र्यालीमा सहभागी भए । उनी आसन्न चुनावमा पनि प्रमुखका उम्मेदवार हुन् । जनता समाजवादी पार्टीका सम्भावित उम्मेदवार राजेशमान सिंहले महानगरमा घरदैलो गरिरहेका छन् । सत्ता गठबन्धनको भागबन्डामा वीरगन्ज जसपालाई पर्ने आकलन गरिए पनि कांग्रेसको स्थानीय कार्यसमितिले उम्मेदवारी दिने तयारी गरेको छ ।
पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार छनोट गर्ने भने पनि पर्सामा तालमेलको अवस्था नदेखिएपछि सत्तारूढ कांग्रेस र जसपाका जिल्ला अध्यक्षले शनिबार बैठक गरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । कांग्रेस पर्सा सभापति जर्नादन सिंह क्षेत्री र जसपा अध्यक्ष रामनेरश यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा ‘कांग्रेस र जसपाले स्थानीय नेता र कार्यकर्ताको मनोभावनाको कदर गर्दै जिल्लाका १४ वटै स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्न सहमत भएको’ उल्लेख छ । जसपा अध्यक्ष रामनरेश यादवले तालमेलको अवस्था नभएपछि स्वच्छ प्रतिस्पर्धा गर्ने सहमित भएको बताए । ‘१४ वटै स्थानीय तहमध्ये कुनै पनि छाड्ने अवस्था दुवैको छैन,’ उनले भने, ‘स्वच्छ प्रतिस्पर्धामा जान्छौँ ।’ तर सहमतिको भोलिपल्ट आइतबार नै जसपाका केन्द्रीय सदस्य एवं पर्सा १ का सांसद प्रदीप यादवले जिल्ला अध्यक्ष रामनरेश यादवले व्यक्तिगत रूपमा विज्ञप्ति जारी गरेको भन्दै त्यसको भ्रममा नपर्न आग्रह गरेका छन् । ‘देशभरिका महानगरमा केन्द्रबाट गठबन्धन भएकाले पर्साका अध्यक्षले व्यक्तिगत रूपमा जारी गरेको विज्ञप्तिको कुनै तुक छैन,’ उनले भने ।
कांग्रेसका महानगर समिति र क्षेत्रीय प्रतिनिधिले अगामी चुनावका लागि कुनै दलसँग गठबन्धन स्वीकार नभएको भन्दै केन्द्रलाई जानकारी गराइसकेका छन् । कांग्रेस महानगर सभापति मनिन्द्रलाल नेपालीका अनुसार सरकारमा रहेका दलहरूसँग मिलेर चुनाव लड्ने विषयमा नगर कार्यसमितिले ३२ वटै वडाका बुथ सभापतिसँग राय, सझाव मागेको थियो । ‘कहीं कतैबाट पनि गठबन्धनमा चुनाव लड्ने सल्लाह र सुझाव आएको छैन,’ नेपालीले भने, ‘उल्टै सबै कार्यकर्तामा निराशा छाएको छ ।’ कांग्रेस क्षेत्र नं. १ ले समेत जिल्लामा कुनै पनि गठबन्धन स्वीकार नगर्ने जनाएको छ । क्षेत्रीय सभापति अरविन्द गुप्ताले पार्टीप्रति जनविश्वास बढेको दाबी गर्दै गठबन्धन बनाएर अघि बढ्दा असन्तुष्टि चुलिने बताए ।
गत स्थानीय चुनावमा वीरगन्ज महानगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमबाट विजय सरावगी प्रमुखमा र कांग्रेसकी शान्ति कार्की उपप्रमुखमा विजयी भएका थिए । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग टीका लगाएर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका छन् । एमाले महानगर कमिटीले बुधबार सरावगीलाई प्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ । व्यापारिक पृष्ठभूमिका सरावगीले अघिल्लो निर्वाचनमा १९ हजार ३ सय ९३ मत पाएका थिए । उनका निकटतम प्रतिवद्वन्द्वी कांग्रेसका अजय द्विवेदीले १७ हजार १ सय ९७ मत ल्याएका थिए ।
उपप्रमुखमा कांग्रेसकी शान्ति कार्की १९ हजार ६ सय ७ मत ल्याएर विजयी भएकी थिइन् । ‘अघिल्लो चुनावमा मधेस आन्दोलनको राप, ताप र केही प्राविधिक कारणले महानगर प्रमुखमा हाम्रो उम्मेदवार पराजित भएका थिए,’ कांग्रेसका एक महाधिवेशन प्रतिनिधिले भने, ‘उपप्रमुखले पाएको भोट कांग्रेसको वास्तविक हो ।’ सत्ता गठबन्धनका नाममा वीरगन्ज महानगरपालिका अन्य दललाई छाड्दा अगामी संघीय र प्रदेशको निर्वाचनमा आफ्ना उम्मेदवारलाई झन् संकट पैदा हुने कांग्रेस नेताहरूको बुझाइ छ ।
