गत चुनावमा प्रमुख माओवादीलाई दिएकाले यसपालि आफूहरुले पाउनुपर्ने मागसहित जिल्लादेखि वडा र टोलसम्म अभियान चलाएका कांग्रेस नेताहरुले प्रमुख नपाए निर्वाचन परिणामको जिम्मा लिन नसक्ने बताउन थालेका छन्
चितवन — सत्तारुढ गठबन्धनको मुख्य गाँठो भरतपुर महानगरमा पर्ने भएको छ किनभने नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले यहाँ नेतृत्वमा दाबी गरेका छन् । केन्द्रीय तहमै रस्साकसी चल्दा प्रमुख कसको पोल्टामा पर्ने भन्ने प्रश्न पेचिलो बन्दै गएको छ ।
गत चुनावमा प्रमुख माओवादीलाई दिएकाले यसपालि आफूहरूले पाउनुपर्ने मागसहित कांग्रेसले जिल्लादेखि वडा र टोलसम्म अभियान नै चलाएको छ । कार्यकर्ताले घरदैलोमा पुगेर मत माग्न थालिसकेका बेला कांग्रेस केन्द्रीय समितिले यसलाई कसरी टुंगो लगाउला भन्ने चासो भरतपुरमा मात्रै होइन, देशैभरि छ ।
एमालेले साताअघि नै (चैत २७) आइतबार प्रमुखमा विजय सुवेदीलाई उम्मेदवार बनाउने प्रस्ताव पारित गरी प्रचारप्रसार सुरु गरिसकेको छ । सत्तारूढ गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले पनि सोमबार प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ । समाजवादीको महानगर कमिटीका अध्यक्ष विष्णुराज महतोका अनुसार प्रमुखमा अरुणपीडित भण्डारी, विष्णुराज महातो र नरेन्द्र कन्दङ्वाको नाम सिफारिस भएको छ । त्यसैगरी उपप्रमुखमा पार्वती मल्ल ठकुरी र कल्पना सापकोटाको नाम सिफारिस भएको छ । ‘गठबन्धनबारे केन्द्रले जे निर्णय दिन्छ, त्यहीअनुसार जाने गरेर अहिले हामीले प्रदेश कमिटीमा प्रमुख–उपप्रमुखको नाम सिफारिस गरेका छौं,’ महतोले भने ।
प्रतिस्पर्धी दल उम्मेदवारसहित अघि बढिसक्दा गठबन्धनबाट भरतपुरमा प्रमुख कसले पाउँछ भन्ने विषय नटुंगिएकाले कांग्रेस र माओवादी चुनावी अभियानमा पछाडि परेका छन् । ‘हाम्रो प्रमुख सर्त नै भरतपुर महानगरपालिकाको प्रमुख हो, महानगरमा प्रमुख हामीले पाउने हो भने चितवनका बाँकी पालिकामा मतभारलाई आधार बनाएर चुनावी तालमेल गर्न कुनै गाह्रो छैन,’ सोमबार कांग्रेस चितवनको नारायणगढ कमलनगरस्थित जिल्ला पार्टी कार्यालयमा भेटिएका जिल्ला सचिव सूर्य अर्यालले भने । केही दिनअघि जिल्ला समितिले राखेको बृहत् भेलाले पनि यही निर्णय गरिसकेको छ ।
जिल्ला नेताहरूले केन्द्रीय नेतृत्वलाई भेटेर आफ्ना माग प्रस्ट रूपमा राखेर चितवन फर्किएको पनि लामो समय भयो । महानगरका २९ वटै वडा कमिटीका सभापतिहरूको भेलाले समेत गठबन्धन गर्दा प्रमुख नछाड्न भन्दै जिल्ला नेतृत्वलाई ज्ञापनपत्र बुझाएको छ । तैपनि केन्द्रबाट तालमेलको विषयमा निर्णय नआउँदा कांग्रेस समर्थकको आक्रोश वडा र टोल–टोलमा पुगेको छ ।
महानगरपालिकाको वडा १७ मा कांग्रेस समर्थकहरूको भेलाले गठबन्धन भए पार्टी छाडेर स्वतन्त्र बस्ने अभियान सुरु गरेका छन् । ‘कुरा बाहिर आएजस्तो पनि अलि हैन तर टोल–टोलमा के कुरा आउने गरेको छ भने गठबन्धन गरेर मेयर पदमा रुखभन्दा अन्य चिह्नमा मत दिनुपर्ने हो भने हाम्रातिर भोट माग्न नआए हुन्छ भन्ने चेतावनी आउन थालेको छ,’ नेपाली कांग्रेस भरतपुर–१७ का सभापति भरत पौडेलले भने ।
चुनावी माहोलले छपक्कै छोपिसक्दा पनि कांग्रेसको कमलनगरस्थित कार्यालयमा खासै चहलपहल छैन । ‘अहिले चुनाव लागिसकेको छ, धेरै साथी लबिइङमा हुनुहुन्छ, त्यसैले पार्टी कार्यालयमा यो बेला अलि कम भीडभाड छ,’ सचिव अर्यालले भने । कम चहलपहलका बीचमा पनि भरतपुर महानगरपालिका–२९ को कांग्रेस वडा समितिका सभापति कार्यालयमा भेटिए । उनको हातमा पत्र थियो । त्यो पत्र उनले जिल्ला कार्यालयमा दर्ता गराए । ‘यो पत्रमा हामीले मेयरकै विषयमा त केही बोलेका छैनौं तर वडामा कुनै गठबन्धन नगरियोस्, त्यहाँ हामी एकल रूपमै चुनाव लड्छौं भनेर आज निर्णय गर्यौं, त्यही जानकारी दिन पत्र लिएर आएका हौं,’ वडा सभापति निरबहादुर गुरुङले भने । जिल्ला कार्यालयमा अहिले यस्ता पत्र लिएर आउनेहरू बढ्न थालेका छन् ।
कांग्रेस किन चाहन्न माओवादीको प्रमुख ?
भरतपुर–१७ को कांग्रेस वडा समितिका सभापति भरत पौडेलका छोराले पहिलोपटक आउँदो निर्वाचनमा मतदान गर्दै छन् । ‘अब मैले मेरो छोरालाई रुखभन्दा बाहिर गएर मतदान गर बाबु भन्नुपर्ने हुन सक्छ । जो पहिलोपटक मत दिँदै छ, उसलाई आफ्नो पार्टीको चुनाव चिह्नमा मत हाल है भन्दा राम्रो हुन्थ्यो नि,’ पौडेलले भने । भरतपुरका कांग्रेस कार्यकर्ताले पार्टीभन्दा बाहिरको चिह्नमा पहिलोपटक मत हाल्न लागेका भने हैनन् । यसअघिको स्थानीय चुनावबाटै यो सिलसिला सुरु भएको हो ।
०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुरमा अचानकजस्तो नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रमुख–उपप्रमुख पदमा चुनावी तालमेल भयो । उम्मेदवारी दर्ता छुट्टाछुट्टै गराए पनि नाम फिर्ता लिने अन्तिम दिन एकाएक तालमेलको निर्णय आयो । त्यो बेला कांग्रेसबाट प्रमुखमा उम्मेदवारी दर्ता गराएका दिनेश कोइरालाले नाम फिर्ता लिन मानेनन् । पार्टी सभापति शेरबहादुर देउवाको पत्रले उनको उम्मेदवारी फिर्ता भयो ।
नतिजा आउँदा उपप्रमुखमा कांग्रेसले फराकिलो मतान्तरले जित्दा प्रमुखमा माओवादीबाट रेनु दाहाल झिनो मतान्तरले विजयी भइन् । मतगणना चल्दै गर्दा भरतपुर–१९ को मतपत्र च्यात्ने काम भयो । मतपत्र च्यातेको आरोपमा माओवादी कार्यकर्तालाई सजाय भयो । वडा १९ मा दोहोर्याएर मतदान गर्नुपरेको थियो । अहिले माओवादीले रेनु दाहाललाई फेरि प्रमुखमा दोहर्याउने बताएको छ । त्यो बेला प्रमुखमा लड्न नपाएका दिनेश कोइरालाले यसपटक भरतपुरमा कांग्रेसको तर्फबाट प्रमुखका आकांक्षीका रूपमा नाम दर्ता गराएका छन् । उनी पार्टीको केन्द्रीय सदस्य पनि भएका छन् । जिल्लाका अर्का पाका नेता टेकप्रसाद गुरुङले पनि प्रमुख पदमा उठ्ने चाहना राख्दै नाम दर्ता गराएका छन् । भरतपुरमा प्रमुखका आकांक्षी २५ जना छन् ।
टेकप्रसाद गुरुङ पनि अहिले पार्टीको केन्द्रीय सदस्य हुन् । गुरुङ र कोइरालाले प्रमुख पद पार्टीले माओवादीलाई दिए विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । जिल्लाका अर्का पाका नेता कृष्णलाल सापकोटाले पनि पार्टीले प्रमुख पद छाडे स्वतन्त्र उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । माओवादीलाई प्रमुख पद दिए ठूलो असन्तोष उठ्ने सम्भावना छ । ‘०७४ मा हामीले प्रमुखमा रेनुलाई सघाएको हो । अब त हाम्रो पालो हो नि । भरतपुर र समग्र चितवनमा कांग्रेस बलियो छ । त्यसैले हाम्रो दाबी रहन्छ,’ कांग्रेसका जिल्ला सचिव अर्यालले भने । भरतपुरमा कुल मतदाता संख्या १ लाख ८५ हजार ७५२ हो । ७५ प्रतिशत हाराहारीमा मत खस्दा प्रमुखमा दुईतर्फी प्रतिस्पर्धा भएछ भने पनि विजयी हुनेले ६५ हजार हाराहारी मत ल्याउनुपर्ने हुन्छ ।
भरतपुरमा तुलनात्मक रूपमा माओवादीको अवस्था कमजोर छ । २९ वटा वडा रहेको महानगरमा अघिल्लो स्थानीय तह निर्वाचनमा प्रमुख–उपप्रमुख गुमाए पनि एमालेले सबैभन्दा धेरै १४ वटा बडामा अध्यक्ष जितेको थियो । कांग्रेसले १२ वटा वडामा अध्यक्ष जितेको थियो । माओवादीले तीनवटा वडामा मात्रै अध्यक्ष जितेको थियो । पछि उपनिर्वाचन हुँदा एमालेले जितेको वडामा कांग्रेस विजयी भएको थियो । ‘०४० सालमा जन्मेको व्यक्ति ४० वर्षको हुँदै छ, उसले ०५४ सालको स्थानीय निर्वाचनमा भोट हाल्ने कुरा भएन, त्यो व्यक्ति कांग्रेस थियो भने ०७४ को स्थानीय चुनावमा प्रमुखमा आफ्नो पार्टीको चिह्नमा भोट हाल्न पाएन । अब अहिले पनि हाल्न नपाए त पार्टीले भनेको ठाउँमा मात्रै मत राख्छ भन्ने छैन । यस्ता मतदाता धेरै छन्,’ कांग्रेसका जिल्ला सचिव अर्यालले भने । कांग्रेस नेताहरूले प्रमुख नदिए निर्वाचन परिणामको जिम्मा लिन नसक्ने बताउन थालेका छन् ।
माओवादी केन्द्रका चितवन जिल्ला संयोजन समितिका संयोजक रामचन्द्र अधिकारी गठबन्धन गराएर चुनाव लड्दै गर्दा भरतपुरमा माओवादीको दाबी स्वाभाविक रहेको बताउँछन् । ‘प्रतिगमनविरोधी राष्ट्रिय गठबन्धनको मूर्त रूपमा स्थानीय चुनावमा हुने तालमेल हो, भरतपुरमा हाम्रो दाबी स्वाभाविक छ किनकि यहाँ प्रमुख जितेर हामीले जनताले मत दिने गरेर काम गरेका छौं,’ अधिकारीले भने ।
