पोखरामा पनि असन्तुष्टि

माओवादीद्वारा उपप्रमुखमा दाहालकी बुहारी सिर्जना त्रिपाठीको नाम सिफारिस
थोरै मत भएको पार्टीलाई प्रमुख दिए दुर्घटना निम्तिने कांग्रेस नेताहरुको चेतावनी
दीपक परियार

पोखरा — पोखरा महानगरपालिका–८ की कल्पना बराल नेविसंघ, तरुण दल हुँदै कांग्रेसको राजनीतिमा सक्रिय भएकी हुन् । ४७ वर्षीया उनले कुनै चुनावमा गठबन्धन र तालमेलको अनुभव गरिनन् तर अहिले महानगरपालिकाको प्रमुख एकीकृत समाजवादीलाई दिने हल्लाले रनभुल्लमा छिन् ।

पोखरामा पनि असन्तुष्टि

गएको चुनावमा पोखरामा पराजित भएको कांग्रेसले यसपल्ट कुनै हालतमा जित्नुपर्ने उनी बताउँछिन् । ‘सरकारमा गठबन्धन भयो भन्दैमा चुनावमा पनि हुनुपर्छ भन्ने छैन,’ उनी भन्छिन्, ‘केन्द्रबाट निर्णय गरेर मात्रै हुँदैन, यहाँका कार्यकर्ताको भावना पनि बुझ्नुपर्छ ।’ कार्यकर्ताले आफ्नो दल रोज्न पाउने अधिकार हनन हुन नहुने उनको तर्क छ । ‘कोसँग कति मत छ भन्ने थाहा हुँदाहुँदै अर्को दललाई भोट हाल भन्नु कांग्रेस सक्किने मेसो त होइन भन्ने डर लाग्छ,’ उनले भनिन्, ‘कांग्रेस भएर जन्मियौं, कांग्रेस नै भएर मर्न पाऊँ भन्ने कार्यकर्ता धेरै छन् ।’

पोखरा–२१ निर्मलपोखरीका ३० वर्षीय विक्रम गिरी पोखरामा निकै कम मत भएको अर्को पार्टीलाई भोट हाल्ने अवस्था आए कांग्रेस कार्यकर्तामा निराशा छाउने बताउँछन् । स्थानीय आवश्यकता नबुझी केन्द्रले निर्णय लाद्न खोजे कार्यान्वयन नहुने उनको भनाइ छ । ‘कांग्रेससँग जोडिएका मतदाता गठबन्धनको पक्षमा छैनन्,’ नेविसंघ कास्कीका पूर्वअध्यक्ष उनले भने, ‘पोखराको हकमा डालोको मत मानोमा खन्याउँदा पोखिने डर छ ।’

कास्कीमा सोमबार पाँचदलीय गठबन्धनको बैठक चलिरहँदा कांग्रेसका जिल्ला सचिवद्वय देवेन्द्र रानाभाट र भानु ढकालले एकीकृत समाजवादीलाई सँगै लैजान नसकिने विज्ञप्ति निकाले । एकीकृत समाजवादीले अस्वाभाविक दाबीका कारण कास्कीमा निष्कर्ष निस्कन नसकेकाले अन्यसँग संवाद जारी राख्ने र एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख थियो । उक्त विज्ञप्ति सार्वजनिक भइसकेपछि गठबन्धनको बैठक मंगलबार बस्ने गरी टुंगियो । बैठकमा कांग्रेस अध्यक्ष किशोरदत्त बरालले उक्त विज्ञप्ति पार्टीको आधिकारिक नभएको र केन्द्रको निर्णय कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए । कार्यकर्तालाई थामथुम पार्न उनले मंगलबारसम्मको समय मागे ।

सचिव ढकालले एकीकृत समाजवादीले माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष र पोखरा महानगरका १० वडाको अध्यक्ष पाउनुपर्ने अस्वाभाविक माग राखेपछि वार्ताको वातावरण बिथोलिएको बताए । ‘पोखरामा एकीकृत समाजवादीलाई टिकट दिने हो भने त्यसले दुर्घटना निम्त्याउँछ,’ उनले भने, ‘५ हजार भोट भएको पार्टीको प्रमुख स्विकार्न सकिँदैन । कांग्रेसका कार्यकर्ता हली, गोठाला होइनन् ।’

त्यसो त कांग्रेसले महानगरको उम्मेदवारका सन्दर्भमा तयारी गरिसकेको छ । देशभरका ६ महानगरमध्ये पाँचदलीय गठबन्धनभित्र सहमति नजुटिसकेको अवस्थामा कांग्रेसको पोखरा महानगर समितिले आकांक्षीको आन्तरिक उम्मेदवारी दर्ता गरायो । पोखरा महानगरको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्वसचिवसहित १८ जनाले उम्मेदवारी दिए । कांग्रेसको महानगर समितिले शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म प्रमुख र उपप्रमुखको आकांक्षीलाई नाम दर्ता गर्न समयावधि तोकेको थियो । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आइतबार पार्टी कार्यालय पुगेर आफ्नो दाबी प्रस्तुत गरे । उनी कास्की निर्वाचन क्षेत्र २ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

उम्मेदवारी दर्ता गर्नेमा सरकारका पूर्वसचिव बाबुराम आचार्यसमेत छन् । कास्की कांग्रेसका अध्यक्ष बराल, पूर्वअध्यक्ष कृष्णबहादुर केसी, सुदीपमोहन भट्टराई, परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा आन्तरिक उम्मेदवारी दिनेमा माया बराल, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपाली छन् । माओवादी केन्द्रको महानगर कमिटीले सोमबार पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गरेको छ । पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता

खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । उपप्रमुखमा गोमा ढकाल, सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए । त्रिपाठी माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् ।

माओवादीका केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले पार्टीले तय गरेको मापदण्डमा रहेर उम्मेदवार सिफारिस गरेको बताए । ‘एक दर्जन साथीहरूले उम्मेदवारको इच्छा राखे पनि अन्तिममा सर्वसम्मत सिफारिस गरेका छौं,’ उनले भने, ‘तालमेलका लागि गठबन्धनसँग छलफल भइरहेको छ । माओवादीले एक्लै पनि चुनावको तयारी गरेर अघि बढेको हो ।’

समाजवादीका कास्की अध्यक्ष धनराज आचार्य गठबन्धनमा देशभरिको हिसाबकिताबले पनि पोखरा आफ्नो पार्टीले पाउनुपर्ने बताउँछन् । ‘यहाँ कांग्रेस एक्लैले जित्न सक्दैन, हामीले जित्ने गरी तयारी गरेका छौं,’ उनले भने, ‘जित गठबन्धनकै पक्षमा ल्याउने हो भने समाजवादीले पाउनुपर्छ ।’ आचार्य नै महानगर प्रमुखको आकांक्षी हुन् । व्यवसायी आचार्यले आफू उम्मेदवार बन्दा एमालेको भोट काट्न सकिने बताउँदै आएका छन् । यद्यपि, एकीकृत समाजवादीले महानगर प्रमुखमा १४ जना र उपप्रमुखमा ३ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटी बैठकले आइतबार श्रीनाथ बराल, धनराज आचार्य, देवेन्द्र बाँस्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजयबाबु वनबासी, भीमा पौडेल, प्रेम थापा, दामोदर शर्मा पराजुली, दुर्गाप्रसाद सुवेदी, नवराज अधिकारी, दिलु पन्त, नारायण बाँस्तोला र चित्रप्रसाद आचार्यको नाम सिफारिस गरेको हो । उपप्रमुखका लागि सिफारिस हुनेमा होम नेपाली, पूर्ण लामा र संगीता शर्मा छन् ।

एमाले पोखरा महानगर कमिटीले प्रमुख र उपप्रमुखका लागि दर्ता भएका सबैको नाम जस्ताको तस्तै माथिल्लो कमिटीमा पठाएको छ । जिल्ला कमिटीको बैठकले सोमबार उक्त नाम प्रदेश कमिटीमा सिफारिस गरेको छ । निर्वाचन कमिटीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रमुखमा एमालेबाट १२ र उपप्रमुखमा ९ जनाले उम्मेदवारी दर्ता गरेका थिए । आन्तरिक निर्वाचनबाट प्रमुख र उपप्रमुखमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने तयारी थियो तर नेताहरूकै हस्तक्षेप हुन सक्ने भन्दै सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिएको हो । प्रमुख र उपप्रमुखको टुंगो एमाले केन्द्रीय कमिटीले लगाउनेछ । भूगोलको हिसाबले देशकै ठूलो महानगरपालिकामा एमालेका तर्फबाट प्रमुखमा भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी, मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरू पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीको नाम पठाइएको छ ।

२०७४ को चुनावमा कुल १ लाख ६८ हजार ६८ मतदाता रहेकामा १ लाख २५ हजार ८५३ (७४.८३ प्रतिशत) मत खसेको थियो । त्यसमध्ये एमालेका मानबहादुर जीसी ६० हजार ११८ मतसहित पोखरा महानगरको प्रमुखमा निर्वाचित भएका थिए । कांग्रेसका रामजी कुँवर १३ हजार ७ सय २ मत कम अर्थात् ४६ हजार ४१६ मत ल्याएर पराजित बने । उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५६ हजार ४ सय ४८ मत ल्याउँदै निर्वाचित भएकी थिइन् । प्रतिस्पर्धी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ र माओवादी केन्द्रकी गोमा ढकालले ८ हजार ७ सय ९६ मत पाएका थिए । अ हिले ३९ हजार ६ सय ४५ मतदाता थपिँदा कुल मतदाताको संख्या २ लाख ७ हजार ७ सय १२ पुगेको छ । महानगरमा गठबन्धनले ५ देखि १० हजारको मतान्तरले चुनाव जित्ने जसपाका केन्द्रीय सदस्य किरण थापा बताउँछन् । ‘गठबन्धन दलले इमानदार भएर मत हाल्ने हो भने चुनाव जित्न गाह्रो छैन,’ उनले भने ।

एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ पाँच दलको गठबन्धन हुँदा आफ्नो पार्टीले झन् बढी मतान्तरले चुनाव जित्ने दाबी गर्छन् । ‘गठबन्धन भयो भने यस पटक २० हजार मतान्तरले जित्छौं,’ उनले भने, ‘गठबन्धन नहुँदा बरु अप्ठ्यारो हो ।’ गठबन्धन नहुँदा पोखरामा एमालेको प्रतिस्पर्धी कांग्रेस नै भएको उनले स्विकारे ।

प्रकाशित : वैशाख ६, २०७९ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?