एमालेबाट को–को सिफारिस ?

वैशाख ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आसन्न स्थानीय निर्वाचनका लागि एमालेका स्थानीय कमिटीले उम्मेदवारको नाम धमाधम सिफारिस गरिरहेका छन् । सर्वसम्मत रूपमा उम्मेदवार छान्न नसकेका स्थानीय तथा जिल्ला कमिटीले निर्णयका लागि माथिल्लो निकायमा नाम पठाइरहेका छन् ।

ललितपुर महानगरपालिका प्रमुख पदमा एमालेबाट हरिकृष्ण व्यञ्जनकार उम्मेदवार बन्ने सर्वसम्मत निर्णय भएको छ । उपप्रमुख पदमा पार्टी महानगर कमिटी अध्यक्ष आस्था शाक्य ‘मन्जली’ र प्रदेश कमिटी सदस्य सरस्वती खड्काको नाम जिल्ला कमिटीमा सिफारिस गरिएको छ । उनीहरूमध्ये एक जनाको नाम टुंगो लाग्नेछ । एमालेका केन्द्रीय सदस्य तथा ललितपुर महानगर इन्चार्ज व्यञ्जनकार यसअघिको चुनावमा प्रमुख पदमा ३ सय २६ मतले मात्रै कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनसँग पराजित भएका थिए ।

काठमाडौं महानगरपालिकामा आकांक्षी धेरै भएका कारण एमालेले नाम टुंगो लगाउन सकेको छैन । पार्टीको महानगर कमिटीले जिल्ला कमिटीमा हालका प्रमुख विद्यासुन्दर शाक्य, केशव स्थापित, नगर कमिटी अध्यक्ष निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरलाई सिफारिस गरेको छ । उपप्रमुख पदमा रत्न गुरुङ, शान्ति अधिकारी, मीना काफ्ले र पेम्बा लामाको दाबी छ । स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी पूर्वमिस नेवा सुनीता डंगोलको नाम पनि एमालेबाट सिफारिस भएको छ । 

एमाले मोरङले विराटनगर महानगरपालिका लागि प्रमुख पदमा पाँच र उपप्रमुख पदमा ३ जनाको नाम सिफारिस गरेको छ । सर्वसम्मत रूपमा उम्मेदवार चयन गर्न नसकेपछि बढी नाम प्रदेश कमिटीमा सिफारिस गरिएको हो । प्रमुख पदका लागि महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला उपाध्यक्ष बाबुराम कार्की, प्रदेश कमिटी सदस्यद्वय पर्शुराम बस्नेत र महेश भट्टराई तथा उपप्रमुखका लागि शिल्पा कार्की, विमला घिमिरे दाहाल र अन्जु उपाध्याय सिफारिस भएका छन् । उनीहरूमध्येबाट प्रदेश कमिटीले केन्द्रीय कमिटीमा नाम सिफारिस गर्नेछ । अन्तिम टुंगो केन्द्रबाटै लाग्नेछ । 

एमालेको पोखरा महानगर कमिटीले प्रमुखमा १२ जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएकामा भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी, दर्शन लामा, पुष्पज्योति ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, रश्मि आचार्य र प्राध्यापक विश्वकल्याण पराजुली छन् । 

एमाले वीरगन्ज महानगर कमिटीले बुधबार विजयकुमार सरावगीलाई प्रमुख पदको उम्मेदवारमा सिफारिस गरेको छ । गत चुनावमा संघीय समाजवादी फोरमबाट महानगर प्रमुखमा विजयी सरावगी गत फागुनमा एमाले प्रवेश गरेका हुन् । यस्तै, भरतपुर महानगरमा एमालेको स्थानीय कमिटीले प्रमुख पदमा विजय सुवेदीलाई सिफारिस गरेको छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully