खोटाङ — जिल्लामा गठबन्धनले भागबण्डा सकेको छ । १८ दिनसम्मको छलफलपछि आइतबार मध्यरातमा दुई नगरपालिका र आठ गाउँपालिकामध्ये छ वटामा सहमति भएको हो । यसमा कांग्रेस र माओवादी केन्द्रले तीन/तीन वटा पालिकाको प्रमुख बाँडेको हो ।
कांग्रेसलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहापोखरी गाउँपालिका र रावाबेसी गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा सहमति जुटेको छ । माओवादीलाई जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका र ऐंसेलुखर्क गाउँपालिकामा अध्यक्षमा सहमति भएको हो । कांग्रेसले प्रमुख पाएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका र रावाबेसी गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्र र बराहापोखरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा सहमति भएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र केपिलासगढी गाउँपालिकामा भने कांग्रेस बाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच सहमति भएको छ । यसमध्ये केपिलासगढी गाउँपालिकामा एकीकृत समाजवादीको अध्यक्ष, जनता समाजवादीको उपाध्यक्ष, साकेला गाउँपालिकामा माओवादी केन्द्र अध्यक्ष, जनता समाजादीको उपाध्यक्ष र हलेसी तुवाचुङ नगरपालिकामा सहमति नजिक पुगेको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिँचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए ।
जिल्ला समन्वय प्रमुखमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने सहमति भएको मन्त्री राईले बताए ।
