धनुषा — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहकाे मितिमा तलमाथि नहुने बताएका छन् ।
जनकपुरमा आयाेजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरण कार्यक्रम उदघाटन गर्दै थपलियाले ताेकिएकाे समयमा स्थानीय तहकाे निर्वाचन नभए मुलुकमा दुर्घटना निम्तिने बताए । 'निर्वाचनकाे मिति तलमाथि गरे दुर्घटना निम्त्याउनु हाे,' उनले भने ।
ताेकिएकाे समयमा निर्वाचन गराएर नागरिककाे अधिकार स्थापित गराउन निर्वाचन आयाेग प्रतिबद्ध रहेकाे उनले बताए ।२०७९ निर्वाचन वर्ष रहेकाे र एक वर्षमा स्थानीय, प्रदेश, प्रतिनिधि सभा, राष्ट्रिय सभाकाे निर्वाचनपछि राष्ट्रपति निर्वाचित हुने उनले बताए ।
निर्वाचन अचारसंहिता नैतिक र कानुनी बन्धन रहेकाे र अचारसंहितालाई समान्य रुपमा नलिन थपलियाले आग्रह गरे । मतदातालाई बहकाउमा पार्न र निर्वाचनप्रति भ्रम फैलाउने सूचनाबाट निर्वाचन प्रभावित हुने भएकाेले सबैजना सचेत हुनुपर्ने उनले बताए ।
