धमाधम सिफारिस हुँदै उम्मेदवार

वैशाख ३, २०७९

हरि गौतम, डीबी बुढा

रुकुम पश्चिम, जुम्ला — कर्णालीमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पालिका प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष तथा सदस्यहरूको नाम सिफारिसलाई दलहरूले तीव्रता दिएका हुन् । 

जसका लागि एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत दलका पालिकास्तरीय समितिहरूले जिल्ला कार्यसमितिमा उम्मेदवारहरूको सम्भावित नाम सिफारिस गरेका हुन् । कांग्रेसले बाँफिकोट गाउँपालिकामा अध्यक्षमा जनककुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी तथा सानीभेरी गाउँपालिकाबाट अध्यक्षमा गोरखप्रसाद चन्दको नाम सिफारिस गरेको छ । एमालेले त्रिवेणी गाउँपालिकाबाट अध्यक्षमा डिल्लीबहादुर ओली र उपाध्यक्षमा धनकला विष्टको नाम सिफारिस गरेको छ । 

अन्य स्थानीय तहमा पनि सबै पार्टीले एकभन्दा बढी व्यक्तिको नाम सिफारिस गरेका छन् । माओवादी केन्द्रले भने एउटै स्थानीय तहबाट अध्यक्ष र प्रमुखमा ५ जनाभन्दा बढीकै नाम सिफारिस गरेको छ । उपाध्यक्ष र उपप्रमुखमा ३ जनासम्मको नाम सिफारिस भएको केन्द्रका संयोजक गोविन्द रोकाले बताए । एमालेका अध्यक्ष नन्दराम देवकोटाले सबै पालिकाबाट नाम आएको र छलफल भइरहेको बताए । ‘सिफारिस भई आएकाहरूमध्येबाट एक/दुई दिनभित्र सबैको नाम टुंगिन्छ,’ उनले भने, ‘त्यसपछि उम्मेदवारसहित दोस्रो चरणको चुनावी अभियानलाई तीव्रता दिन्छौं ।’ 

एमालेले जुम्लामा उम्मेदवार टुंग्याउने क्रमलाई तीव्रता दिएको छ । एमालेले हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लगाएको छ । पार्टीका जिल्ला सचिव धनकृष्ण पाण्डेका अनुसार गाउँपालिका कमिटीले २ जनाको नाम मात्र सिफारिस गरेकाले सर्वसम्मत निर्णय भएको बताए । उनले उम्मेदवारहरू प्रचारप्रसारका लागि घरदैलोमा पुगिसकेको बताए । एमालेमा कनकासुन्दरीबाट मानबहादुर रोकायालाई अध्यक्षका रूपमा टुंग्याएको छ ।

तिलाबाट रेशमबहादुर शाहीको नाममा सहमति हुने सम्भावना देखिएको छ । सचिव पाण्डेले जिल्लामा पालिकाको उम्मेदवार टुंगो नलगाउने मापदण्ड बनाइएको बताए ।

‘सिफारिस भई आएका उम्मेदवारको नाम प्रदेश कार्यालयमा पठाइनेछ,’ उनले भने, ‘सर्वसम्मत भई आएको खण्डमा पनि नाम प्रदेश कार्यालयमा पठाउने तयारी गरेका छौं ।’ केही पालिकामा ३ जनाको नाम सिफारिस भई आएकाले अन्तिम टुंगो लगाउन सबैको नाम प्रदेश कमिटीमा पठाइने उनले जानकारी दिए । 

स्थानीय तह निर्वाचन २०७९

हरि

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully