रोल्पा — स्थानीय तह निर्वाचनलाई सदुपयोग गर्ने नीति लिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता–कार्यकर्ता निर्वाचन केन्द्रित गतिविधिमा सक्रिय बनेका छन् । चुनावी प्रतिस्पर्धामा संलग्न हुने भएपछि पार्टी र सम्भावित उम्मेदवार भेला, सभा र घरदैलोमा जुटेका हुन् ।
निर्वाचन आयोगमा दल दर्ता नभए पनि स्वतन्त्र उम्मेदवार उठाई निर्वाचनमा भाग लिने उसको तयारी छ । एमसीसी परियोजना र भ्रष्टाचारविरोधी दलसँग सहकार्य गरेर निर्वाचनमा भाग लिन नेकपाले निर्देशन दिइसकेको छ ।
जिल्लाका हरेक स्थानीय तहमा कार्यकर्तालाई उम्मेदवार बन्न पार्टीले विशेष निर्देशन दिएको नेकपा रोल्पा सचिव दिनेशविक्रम चन्दले बताए । ‘सके आफैं उम्मेदवार बन्ने, नसके असल एवं स्वतन्त्र व्यक्ति उम्मेदवार बनाई सघाउने योजनासहित केन्द्रीय तहका नेतासमेत गाउँ–गाउँमा खटिएका छन्,’ उनले भने, ‘जिल्लाका सबै तह र वडासम्मै उम्मेदवारी दिने तयारी छ ।’
पार्टीको निर्देशनपछि केन्द्रीय सदस्यहरू चूडामणि वली, केशबहादुर बाँठामगर, जिल्ला सचिव चन्द, पूर्वजिल्ला सचिव सन्तोष सुवेदी, जिल्ला नेता अमित घर्तीमगरलगायत नेता चुनावी अभियानमा खटिएका छन् । वली गंगादेव गाउँपालिकामा, बाँठा माडी गाउँपालिकामा, घर्तीमगर थबाङ गाउँपालिकामा अध्यक्षको उम्मेदवार बन्ने निश्चित भएको सचिव चन्दले जानकारी दिए ।
चन्द परिवर्तन गाउँपालिका र सुवेदी सुनील स्मृति गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिने तयारीमा छन् । सुवेदी ४ वर्षअघि नेकपा प्रवेश गरेका थिए । लामो समय जेलमा बसेका जिनाबाङ रोल्पाका वली पार्टीका न्याय विभाग प्रमुखसमेत हुन् । पालिका अध्यक्ष भएपछि भ्रष्टाचार रोक्ने, सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिलाउने तथा सांस्कृतिक रूपान्तरणसम्बन्धी कार्य गर्ने उनले बताए ।
गत निर्वाचनमा गंगादेवको प्रमुखमा माओवादीका उम्मेदवार वीरबहादुर खत्री विजयी भएका थिए । यो पालिकामा कांग्रेस र एमालेसमेत गरी त्रिपक्षीय प्रतिस्पर्धा छ । करिब २ सय बढी मत ल्याएर खत्री विजयी हुँदा कांग्रेस र एमालेका उम्मेदवारले लगभग बराबर मत ल्याएका थिए । नेकपाका अर्का केन्द्रीय सदस्य बाँठामगरले कृषि र पशुपालन क्षेत्रमा विशेष योजना ल्याउने प्रतिबद्धता जनाएका छन् ।
थबाङका अमित अघिल्लो निर्वाचनमा पालिका अध्यक्ष पदका प्रत्याशी थिए । पार्टीले निर्वाचनमा भाग लिने अनुमति नदिँदा पनि स्थानीयको दबाबमा उनी थबाङमा उम्मेदवार बनेका थिए । पार्टीको नीतिविपरीत उम्मेदवार बनेकामा उनीमाथि अनुशासनको कारबाहीसमेत भएको थियो । थबाङकै जयप्रकाश रोकाको नामसमेत अध्यक्षको उम्मेदवार बन्ने चर्चामा छ । थबाङकै स्थानीय नेता हितप्रसाद रोकासमेत उक्त पदका दाबेदार मानिएका छन् ।
स्थानीय निर्वाचनमा भाग लिने–नलिनेबारे केन्द्रीय कमिटीको बैठकमा लामो छलफलपछि मात्रै नेकपा नेतृत्व निर्वाचनलाई सदुपयोग गर्ने निष्कर्षमा पुगेको हो । निर्वाचन प्रक्रियामा सामेल हुँदा जनताले प्रत्यक्ष रूपमा नेता छान्न पाउने भएकाले भाग लिनु उचित भएको पार्टीको निष्कर्ष रहेको अमितले सुनाए । जिल्ला इन्चार्जसमेत रहेका बाँठामगरले स्थानीय तहमा असल र इमानदार नेतृत्व निर्वाचित हुन नसकेपछि भ्रष्टाचार बढ्ने र जनताले दुःख पाउने अवस्था आएकाले निर्वाचनमा सामेल हुनेबारे पुनर्विचार गरिएको बताए ।
